Logo

६६ करोड विकास बजेट फिर्ता

ओखलढुंगा-ओखलढुंगाका विभिन्न सरकारी कार्यालयबाट आर्थिक वर्ष ०७४/७५ मा ६५ करोड ९४ लाख ५५ हजार २३० रुपैयाँ विकास बजेट फिर्ता भएको छ । पुँजीगततर्फको जम्मा खुद बजेट २ अर्ब १२ करोड ३८ लाख ६७ हजार मध्ये १ अर्ब ४६ करोड ४४ लाख ११ हजार ७७० मात्र खर्च भएको छ ।
समयमा बजेट खर्च हुन नसक्दा खर्च नभएको बजेट फिर्ता भएको हो । कोष तथा लेखा नियन्त्रकको कार्यालयका अनुसार आठ वटा स्थानीय तहसहित जम्मा ५४ वटा कार्यालयमध्ये अधिकांश विकासे कार्यालयका बजेट फिर्ता भएका हुन् ।
स्थानीय तहको फिर्ता भएको भनिएको बजेट भने स्थानीय सञ्चित कोषमै जम्मा हुने प्रावधान छ । अन्य कार्यालयको हकमा भने संघीय सञ्चित कोषमै बजेट फिर्ता हुने कोष तथा लेखा नियन्त्रक विष्णु दाहालले बताए । पुँजीगततर्फ डिभिजन सडक कार्यालयको गतवर्ष खुद बजेट ५८ करोड ७८ लाख ५० हजार रहेकोमा ४४ करोड ५६ लाख ५७ हजार ५६६ मात्र खर्च भएको छ ।
स्थानीय तहमा सिद्धिचरण नगरपालिकाको पुँजीगततर्फ खुद बजेट १ करोड १४ लाख हजार रहेकोमा ३४ लाख ६० हजार ३७५ मात्र खर्च भएको देखिएको छ । त्यसैगरी मोलुङ गाउँपालिकामा ३८ लाख ६० हजार मध्ये १० लाख ७६ हजार ८७६ मात्र खर्च भएको छ । सुनकोसी गाउँपालिकामा ३ करोड खुद बजेट भएपनि ४० लाख २६ हजार १३९ मात्र खर्च भएको देखिन्छ ।
चिशंखुगढी गाउँपालिकाले २६ लाख बजेट भएकोमा १४ लाख ३० हजार ४ सय ४८ खर्च गरेको छ । लिखु गाउँपालिकाले १ करोड ९० लाख २९ हजार मध्ये १८ लाख ७० हजार ७१० खर्च गरेको छ । चम्पादेवी गाउँपालिकाले भने ३ करोड ३ लाख १० हजार मध्ये ८७ लाख १३ हजार खर्च गरेको देखिएको छ । खिजीदेम्बा गाउँपालिकामा खुद बजेट ६ लाख मध्ये ६ लाख नै खर्च भएको देखिन्छ । मानेभन्ज्याङ गाउँपालिकाले ६५ लाख ५० हजार मध्ये १८ लाख १४ हजार ७६५ खर्च गरेको छ । विदेशी दातृ निकायमार्फत संघबाट प्राप्त बजेट खर्च भए पनि जानकारी नआएसम्म फिर्ता हुने शीर्षकमै राखिने कोष तथा लेखा नियन्त्रण कार्यालय ओखलढुंगाले जनाएको छ ।
नवराज कार्की

प्रतिक्रिया दिनुहोस्