प्रगतिपथमा राष्ट्रिय स्तरका विकास बैंक «

प्रगतिपथमा राष्ट्रिय स्तरका विकास बैंक

राष्ट्रिय स्तरका विकास बैंकहरूको मुख्य चुनौती उपलब्ध पुँजीकोषको प्रभावकारी परिचालन र प्रतिस्पर्धात्मक क्षमता बढाउनु हुनेछ ।

कुनै समय जिल्ला वा क्षेत्रको पहिचानका रूपमा रहेका विकास बैंकहरू मर्जर प्रोत्साहन नीति तथा चुक्तापुँजी वृद्धिको नजितास्वरूप २०७२ असारसम्म ७६ वटा रहेका विकास बैंक एकआपसमा, वाणिज्य बैंकसँग वा वित्तीय संस्थासँग मर्ज वा प्राप्तिमार्फत हाल ३३ वटामा झरेका छन्, जसमध्ये ११ ले राष्ट्रिय स्तरमा, एउटाले १० जिल्लामा, १७ ले ३ जिल्लामा, ४ ले १ जिल्लामा कारोबार गर्ने अनुमति पाएका छन् । यसमध्ये १० वटा राष्ट्रिय स्तरका सहित २१ वटाले तोकिएको चुक्ता पुँजी पुराइसके, ७ वटा पुँजी वृद्धिको प्रक्रियामा, ४ वटाले पुँजी बढाउने थप समय पाएका र एउटा भने रिजोलुसनको प्रक्रियामा रहेका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकको लागि २ अर्ब ५० करोड, १० जिल्लासम्म कारोबार गर्नेका लागि १ अर्ब २० करोड र ३ जिल्लासम्म कारोबार गर्नेका लागि ५० करोड न्यूनतम चुक्ता पुँजी तोकेको छ । यस लेखमा पुँजी वृद्धिपछिको पहिलो आर्थिक वर्षमा राष्ट्रिय स्तरका विकास बैंकहरूको संक्षिप्त समीक्षा गरिएको छ ।

प्रमुख वित्तीय नतिजा
आव ०७४/७५ मा राष्ट्रिय स्तरका विकास बैंकहरूले समग्रमा रु. २७ अर्ब ८६ करोड चुक्ता पुँजी कायम गर्दै २ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन तथा २ खर्ब रुपैयाँ हाराहारी कर्जा तथा सापटी प्रवाह गर्दै करिब ४ अर्ब ६९ करोड रुपैयाँ खुद मुनाफा हासिल गरेका छन् ।

वित्तीय विश्लेषण र किनबेचको आधार
प्रत्येक लगानीकर्ता र कारोबारीको विश्लेषण र किनबेचको निर्णय गर्ने आधार (वित्तीय सूचक) र प्राथमिकता फरक हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरूको सन्दर्भमा नियामकले समेत केही मापदण्ड तोकेको र केही परिसूचकले अन्य सूचकहरूको समेत मोटामोटी प्रतितिनिधित्व गर्ने आधारमा केही मुख्य सूचकहरूको यहाँ चर्चा गरिएको छ :

१. प्रतिसेयर आय (ईपीएस)
कम्पनी सञ्चालन र लगानीको मूल उद्देश्य नै मुनाफा हो । कम्पनीको समग्र खुद मुनाफाका आधारमा प्रत्येक कित्ता सेयरको हिस्सा अर्थात् एक कित्ता सेयरको मुनाफालाई नै प्रतिसेयर आय अर्थात् ईपीएस (अर्निङ पर सेयर) भनिन्छ । यसले कम्पनीको व्यावसायिक र वित्तीय सफलताको मापन गर्दै सम्भावित लाभांशको संकेत गर्नुका साथै दोस्रो बजारमा उक्त कम्पनीको सेयर मूल्यलाई समेत प्रभावित गर्ने ल्याकत राख्छ । आमरूपमा स्विकारिएको यस वित्तीय सूचकांकका आधारमा नै मूल्य–आम्दानी अनुपात, इक्विटीमा प्रतिफल, सम्पत्तिमा प्रतिफल गणना र विश्लेषण गरिन्छ । सामान्यतः कम्पनीको खुद मुनाफामा अग्राधिकार सेयर जारी भएको अवस्थामा सोको लाभांश कटाएर आउने रकमलाई सेयर संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । विकास बैंकहरूले अग्राधिकार सेयर नगरेको हुँदा खुद मुनाफालाई विद्यमान सेयर संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकाल्न सकिन्छ ।
गत आवमा राष्ट्रिय स्तरका विकास बैंकहरूले औसतमा प्रतिसेयर रु. १६.८० आम्दानी गरेको देखिन्छ । सबैभन्दा बढी मुक्तिनाथले रु. २२.२० तथा कम देवले रु. १०.८७ प्रतिसेयर आम्दानी गरेको छ । औसतभन्दा कम कमाउनेमा देव, ज्योति, कामनासेवा, सांग्रिला र ओम रहेका छन् ।
ईपीएसका आधारमा किनबेचको निर्णय गर्दा विश्वसनीय र बढी ईपीएस भएको, नियमित व्यावसायिक आधारमा मुनाफा आर्जन गर्न सफल र सम्बन्धित क्षेत्रको औसतभन्दा बढी ईपीएस भएको कम्पनीलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ ।

२. प्रतिसेयर खुद मूल्य (नेटवर्थ)
प्रतिसेयर खुद मूल्य (नेटवर्थ) अर्थात् नेटवर्थले कम्पनीको वित्तीय अवस्था तथा सेयरधनीको खुदसम्पत्तिको अवस्थालाई जनाउँछ । खुद सम्पत्तिलाई कुल सेयर संख्याले भाग गरेर निस्कने नेटवर्थलाई सेयरको किताबी मूल्य पनि भनिन्छ । यसले सेयरधनीले अंकित मूल्यका रूपमा लगानी गरेको रु. १०० वा रु. १० को वास्तविक वित्तीय मूल्य कति छ भन्ने जनाउँछ । कानुनतः अंकित मूल्यभन्दा बढी नेटवर्थ भएको कम्पनीले मात्र मुनाफा बाँड्न पाउँछ र जति बढी नेटवर्थ कम्पनी त्यति नै वित्तीय रूपमा बलियो र राम्रो मानिन्छ ।
गत आवमा राष्ट्रिय स्तरका विकास बैंकहरूको औसत नेटवर्थ रु. १३४.३६, महालक्ष्मीको सबैभन्दा बढी रु. १५४.३० र कम देवको रु. ११८.९९ सहित ज्योति, सांग्रिला, गरिमा, कामनासेवा र ओमको नेटवर्थ औसत भन्दा कम रह्यो ।

३. पुँजीकोषको अवस्था
पुँजीका रूपमा परिचालन हुन सक्ने प्राथमिक पुँजी र पूरक पुँजीसहितको कोष नै पुँजीकोष हो । यसले क) संस्थाको जोखिम वहन क्षमता, ख) व्यवसाय सञ्चालनका लागि पुँजी पर्याप्तता र ग) पुँजी परिचालनको अवस्थालाई जनाउँछ । हुन त कतिपयले धेरै चुक्ता पुँजी र ठूलो पुँजीकोषलाई राम्रो मान्छन्, तर कुनै पनि व्यवसायमा आवश्यकताभन्दा धेरै बढी वा घटी पुँजी हानिकारक मानिन्छ । बैंक तथा वित्तीय संस्थाको हकमा कुल जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम पुँजीकोष अनुपात वा कार (क्यापिटल एडिक्वेसी रेसियो) न्यूनतम ११ प्रतिशत हाराहारी कायम गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको हुँदा १२ देखि १४ प्रतिशतको पुँजीकोषलाई स्वीकार्य अवस्था र १५ भन्दा माथिलाई अधिक पुँजी मान्न सकिन्छ ।
औसत नै १८.७६ प्रतिशत पुँजीकोष र सबैभन्दा कम नै मुक्तिनाथको १४.२५ र बढी कामनासेवाको २३.६५ रहनुले राष्ट्रिय स्तरका विकास बैंकहरूसँग पर्याप्त पुँजीकोष रहेको र तत्काल थप पुँजी आवश्यक नपर्ने संकेत गर्छ ।
पुँजीकोषको अवस्थाले कम्पनीलाई थप पुँजी आवश्यक पर्ने वा नपर्ने संकेत गर्ने हुँदा लाभांशका रूपमा बोनस सेयर चाहने लगानीकर्ताले कसिलो पुँजीकोष तथा नगद चाहनेले खुकुलो (बढी) पुँजीकोष भएको कम्पनी छान्नु उपयुक्त हुन्छ ।

४. मूल्य आम्दानी अनुपात (पीई)
कम्पनीको प्रतिसेयर आम्दानीका आधारमा बजारमूल्य वा तिरिने मूल्य कति गुना छ र अहिलेकै दरमा आम्दानी हुँदा साँवा फिर्ता हुन कति समय लाग्छ भन्ने सामान्य जानकारी मूल्य आम्दानी अनुपात अर्थात् पीई (प्राइस अर्निङ रेसियो) ले दिन्छ । यसले कम्पनीप्रति बजारको विश्वास र सोका लागि तिर्न चाहेको प्रिमियमसहितको बजारमूल्य पनि जनाउँछ । बजारमूल्य (खरिदमूल्य) लाई प्रतिसेयर आम्दानीले भाग गरेर पीई निकालिन्छ । त्यसैले प्रत्येक दिन मात्र होइन प्रत्येक कारोबारको पीई फरक हुन सक्छ । पीई अनुपात वा गुना जति कम भयो त्यति राम्रो मानिने हुँदा किन्दा सदैव कम मूल्य र कम पीई कायम गर्ने प्रयास गर्नुपर्छ । आम रूपमा पीई १० गुनासम्म सस्तो, १५ गुनासम्म किन्न उपयुक्त, २० गुनासम्म सामान्य जोखिमयुक्त (थोरै बढी मूल्य) र २० भन्दा बढी हुँदा महँगो वा जोखिमपूर्ण मानिन्छ । तर, कम्पनी र बजारको अवस्था अनुसार कति पीई उपयुक्त भन्ने आफैंले निर्णय गर्नुपर्छ ।
प्रतिसेयर आम्दानीका आधारमा २०७५ साउन २४ गतेको बजारमूल्यका आधारमा राष्ट्रिय स्तरका विकास बैंकहरूको औसत पीई ११.०४ गुना, कम लुम्बिनी र महालक्ष्मीको र बढी मुक्तिनाथको १७.०३ रहेको छ ।
उल्लिखित मुख्य सूचकहरूका अतिरिक्त अतिरिक्त क) इक्विटीमा प्रतिफल (आरओई), ख) खुद ब्याज आम्दानी, ग) ब्याजदर अन्तर (स्प्रेड दर), घ) निष्क्रिय कर्जा, ङ) निक्षेप र कर्जा तथा सापटीको आकार, च) जगेडा कोषको आकार, छ) तरलताको अवस्थाजस्ता सूचकांकहरूको विश्लेषण गर्दै औसत अवस्थासँग तुलना गरिन्छ ।

निचोड
प्रमुख वित्तीय सूचकहरूका आधारमा आव ०७४/७५ मा मुक्तिनाथ निक्षेप र कर्जा तथा सापट, खुद मुनाफा, प्रतिसेयर आय, पुँजीकोषको अवस्थासँगै निष्क्रिय कर्जासमेतमा अब्बल देखिँदै गर्दा पीईका आधारमा केही बढी देखिएको छ भने महालक्ष्मी जगेडा कोष, नेटवर्थ र पीईका आधारमा उत्कृष्ट देखिँदै गर्दा निष्क्रिय कर्जामा सोचनीय देखिन्छ । देव भने जगेडा कोष, निक्षेप, खुद मुनाफा, प्रतिसेयर आय र नेटवर्थमा कमजोर देखिएको छ । लुम्बिनीको पीई सबैभन्दा कम र समग्रमा राम्रै देखिए पनि तोकिएको पुँजी पूरा गर्दाको अवस्थामा आकलन गर्न सकिन्न । कैलाश, गण्डकी, गरिमा, ओम, सांग्रिला, कामना–सेवा, र ज्योति ठीकै देखिएका छन् । यससँगै देवले वेस्टर्न र ज्योतिले हाम्रो विकास बैंक प्राप्तिको प्रक्रियामा रहेको कुरालाई पनि मनन गर्नुपर्छ । समग्रमा वित्तीय र व्यावसायिक रूपमा सक्षम र सबल बन्दै गइरहेका राष्ट्रिय स्तरका विकास बैंकहरूको मुख्य चुनौती उपलब्ध पुँजीकोषको प्रभावकारी परिचालन र वाणिज्य बैंकहरूसँगको प्रतिस्पर्धात्मक क्षमता थप बढाउनु रहनेछ ।
वित्तीय सूचकहरूका अतिरिक्त विगतको अवस्था, व्यवसायको वृद्धि, प्रतिस्पर्धात्मक क्षमता अध्ययन तथा व्यक्तिगत लगानीको उद्देश्य, अवधि, पुँजीको स्रोत, अपेक्षित मुनाफा, जोखिमवहन क्षमताका आधारमा सेयर किनबेचको लिनु उपयुक्त हुनेछ ।
(लेखक सेयरबजारबारे जानकार हुन् ।)

प्रतिक्रिया दिनुहोस्