एसईईपछि प्राविधिक शिक्षा «

एसईईपछि प्राविधिक शिक्षा

दोलखा – एसईई परीक्षा उत्तीर्णपछि विद्यार्थीहरू प्राविधिक शिक्षातर्फ आकर्षित हुन थालेपछि शिक्षालयहरूको संख्या पनि थपिँदै गएको छ । दोलखामा ३४ वर्षअघि वार्षिक १ सय २० जना प्राविधिक जनशक्ति उत्पादन गर्ने जिरी प्राविधिक शिक्षालय अहिले २ सय जना उत्पादन गर्दै आएको छ ।
एसईई अनुतीर्णहरूको लागि १५ महिने प्राविधिक तालिम दिँदै आएको शिक्षालयको समयानुकूल स्तरोन्नति गरी अहिले भेटेनरी स्नातक समेतमा थप ८० जना विद्यार्थी समेत अध्ययन गराउँदै आएको छ । जिरी प्राविधिक शिक्षालय ३४ वर्षदेखि एसएलसी सरहको प्राविधिक जनशक्ति उत्पादन गर्दै आए पनि केही वर्षदेखि बालि विज्ञान, पशु विज्ञान र इन्जिनियरिङमा डिप्लोमा तहको समेत अध्ययन हुँदै आएको छ ।
दोलखामा अहिले प्राविधिक शिक्षा अध्ययन गराउने संस्थानहरू पनि थपिँदै गएका छन् । अहिले वार्षिक ७ सय जना प्राविधिक जनशक्ति उत्पादन हुन थालेका छन् । २१ वर्षअघि स्वास्थ्यमा सीएमएका जनशक्ति उत्पादन गर्ने गरी सुरु गरेको दोलखा वहुउद्देश्यीय तालिम संस्थानले अनमी, सिभिल सव ओभरसियर, इलेक्ट्रिक ओभरसियर, जेटीए कृषि, जेटिए भेटेनरीको समेत अध्ययन गराउन थालेको छ । हरेक विभागमा ४० जनाविद्यार्थीलाई तालिम दिने संस्थानले मात्र वर्षिक २ सय ४० जनाप्राविधिक जनशक्ति तयार गर्ने संस्थान प्रमुख नरबहादुर श्रेष्ठले जानकारी दिए ।

च्छोरोल्पा नर्सिङ कलेजले १० वर्षदेखि स्टाफ नर्स पढाउँदै आएको छ । सुरुका ६ वर्ष वार्षिक ४० जना स्टाफ नर्स उत्पादन गर्दै आएको थियो भने बीचमा २ वर्ष रोकिएपछि पुनः सुचारु भएको छ । अहिले २० जनाको लागिमा मात्र स्वीकृति पाए अनुसार पढाइ हुँदै आएको कलेजका अध्यक्ष पृथ्वीबहादुर श्रेष्ठले जानकारी दिए ।
सीटीभीटीले मापदण्ड नपुगेको भन्दै २ वर्ष रोकेको थियो । चरिकोटमा ५५ बेडको अस्पताल सञ्चालन छ । काठमाडौं र तराईको मापदण्ड हेरेर पहाडमा नहुने उनले बताए । खर्च ४० जनाकै हुने तर २० जना मात्र पढाउँदा कलेज सञ्चालन गर्न धौधौ पर्ने उनले बताए ।
दोलखा सामुदायिक अस्पताल प्रालिले २ वर्षदेखि ल्याब प्राविधिकको अध्ययन सुरु गरेको छ । यहाँ पनि ४० जनाको कोटा रहेको सञ्चालक अमृतबहादुर बुढाथोकीले बताए । ३ वर्र्षदेखि आइसल्याण्ड ट्रेनिङ इन्ष्टिच्युटले १४ महिने अमिन र सिभिल सव ओभरसियर तालिम सञ्चालन गरिरहेको छ । दुवैमा गरी ८० विद्यार्थीले तालिम लिन्छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)बाट स्वीकृती लिएर सबै शिक्षालयहरूले कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

भीम उच्च मावि दोलखाले ४० जनाको लागि कम्प्युटर सव ओभरसियर अध्ययन गराइरहेको छ । सर्व मावि जिलुले पनि बाली विज्ञानतर्फ ४० जना प्राविधिक डिप्लोमा अध्ययन गराइरहेको छ । अहिले तेस्रो वर्षमा चलिरहेको र चौथो वर्षको भर्ना अभियान चलेको प्रधानाध्यापक विश्वमणि चौलागाईले बताए ।
त्यसैगरी हनुमन्तेश्वर मावि काब्रेमा पनि सूचना प्रविधिको बारेमा ४० जनाको पढाइ भइरहेको छ । त्यहाँबाट उत्पादित विद्यार्थीहरू दोलखाका विभिन्न विद्यालयमा कम्प्युटर शिक्षकको रुपमा समेत काम गर्दै आएका छन् ।
कालिञ्चोक मावि चरिकोटमा यसै वर्षदेखि सिभिल इन्जिनियरिङ सब इन्जिनियरको पढाइ सुरु हुन लागेको छ । प्रधानाध्यापक नवराज न्यौपानेले विद्यालयले २ हप्ता अघिमात्र अनुमति पाएकाले अब त्यसको पूर्वाधार तयारी लगायतका काम सुरु भएको बताए ।
भूकम्पले धेरै भौतिक संरचनाको पुनर्निर्माणका लागि समेत प्राविधिक जनशक्तिको आवश्यकता पर्दछ । दोलखा र छिमेकी जिल्लालाई आवश्यक पर्ने मध्यमस्तरको प्राविधिक जनशक्ति दोलखामै उत्पादन हुने दोलखा बहुउद्देश्यीय तालिम संस्थानका प्रिन्सिपल नरबहादुर श्रेष्ठले दाबी गरे । मेलुङ गाउँपालिका अध्यक्ष समेत रहेका श्रेष्ठले मेलुङ गाउँपालिकामा प्राविधिक शिक्षालय खोल्न गाउँपालिकाबाट समेत बजेटको व्यवस्था गरेका छन् ।
दोलखा बहुउद्देश्यीय तालिम संस्थाले पनि सिभिल निर्माण, भेटेनरी, कृषि र इलेक्ट्रिकमा स्नातकतहसम्मअध्ययनगर्ने गरी तयारी थालेको छ । माथिल्लो तहको समेत प्राविधिक जनशक्ति स्थानीय तहबाट उत्पादन गर्नका लागि योजना बनाइरहेको संस्थान प्रमुख श्रेष्ठले बताए । दोलखाका क्षमावती मावि, लापिलाङ मावि र शैलुङको सारादा माविले पनि बालि विज्ञानमा एसइइ सरहको अनुमति पाएका छन् ।

दिलबहादुर केसी

प्रतिक्रिया दिनुहोस्