कर्णालीमा ९५ प्रतिशत बिमाको पहुँच बाहिर «

कर्णालीमा ९५ प्रतिशत बिमाको पहुँच बाहिर

जुम्ला-कर्णालीमा सञ्चालित सबै बिमा कम्पनी सदरमुकामकेन्द्रित छन्, जहाँ हुनेखानेहरूकै बसोबास बढी छ । उनीहरू नै बिमा कम्पनीमा पनि लगानी बढी गर्छन् र लाभ पनि उनीहरू नै लिन्छन् । दुर्गमका नागरिक बिमामा लगानी गरेर लाभ लिन न ज्ञानले सक्षम छन्, न उनीहरूसँग साधन स्रोत र पहुँच नै छ । यद्यपि, दुर्गम क्षेत्रमा विभिन्नखाले बिमा आवश्यक छ ।
कृषि, पशु, स्वास्थ्य, जीवन तथा निर्जिवन लगायतका बिमाहरू स्थानीय नागरिकलाई अति आवश्यक छ । जो सँधै उज्वल भविष्यका लागि जोखिम मोलेर काम गरिरहेका छन् । भिरपाखो नभनी स्वास्थ्यको ख्याल नगरी कृषि कर्ममा लाग्ने, कडा मेहनत गरी तरकारी फलाउने व्यक्तिलाई बिमाको आवश्यक छ ।
तर, दुर्गम क्षेत्रसम्म बिमा कम्पनी जान सकेका छैनन् । बेलाबेला तरकारीमा किरा लागेर नष्ट हुने गर्दा बिमा नभएकै कारण तरकारी किसानले ठूलो घाटा बेहोर्नु परेको छ । जुम्लाका परान धरलाले गत वर्ष झण्डै ५ लाख बराबरको तरकारीमा किरा लाग्दा बिमा नभएकै कारण घाटा बेहोर्नु पर्यो । अहिले पनि तरकारी खेतिमै व्यस्त छन् । उनलाई बिमा कसरी गर्ने कहाँ गर्ने भन्नेबारे पत्तो छैन ।
जिल्लामा रहेका एक दर्जन बढी बिमा कम्पनीमध्य कुनैले पनि दुर्गम क्षेत्रमा गएर बिमाबारे केही जानकारी गराएका छैनन् । गएको दुई वर्ष पहिले जुम्लालगायत मुगाली समुदायहरूको बाढी पहिरोमा परि करोडौंको क्षति हुने गरी भेडाबाख्रा, घोडा, खच्चडहरू बगायो । तर, बिमा नगरेकै कारण कुनै पनि स्थानीयले सुको राहत पाएनन् ।
पछिल्लो सयम गाउँमाघरमा स्वास्थ्य बिमाको बारेमा केही जानकारी भने पुगेको छ भने अन्य बिमाका बारेमा कुनै थाहा नभएको तातोपानी २ का मन्न कामी बताउँछन् । “सदरमुकाममा एकपछि अर्को बिमा कम्पनी आएको खबर सुन्छौँ, तर बिमा कम्पनीका एजेन्टहरू कहिले पनि गाउँघरमा आएर जानगारी गराउँदैनन्” उनी भन्छन्, “हामी सदरमुकाम गएर सिधै बिमा गर्ने मेसो थाहा छैन । हचुवाको भरमा गरौँ भने, बिमा कम्पनीले ठग्ने गरेका कुरा सुनेका पनि डर लागेको छ ।” इच्छा चाहाना हुँदा पनि जानकारी नपाएकै कारण कर्णालीका नागरिकले बिमा गराउन सकेका छैनन् । जुम्लामा १८ हजार घरधुरीमध्य अहिलेसम्म ४० प्रतिशत नागरिकमात्रै बिमाको पहुँचमा रहेको देखिन्छ । जो सबै सदरमुकाममा बसोबास गर्नेहरू छन् ।
गाउँकेन्द्रित बिमा कार्यक्रम
अधिंकाश स्थानीयमा बिमाप्रतिको अविश्वासले पनि बिमा नगराएको पाइएको छ । आईएमई जीवन बिमा कम्पनीका जुम्ला प्रबद्र्धक नरेन्द्रप्रसाद पाण्डेले बिमाप्रतिको भ्रम चिर्दै र यसका फाइदाका बारेमा रेडियोको माध्यमले र प्रत्यक्ष रूपमा गएर जानकारी गराउन आवश्यक रहेको बताए । साविकको कर्णालीका ५ जिल्लामध्ये सबै भन्दा बिमा कम्पनी जुम्लामा रहेका छन् । जो कम्पनीहरूले चाडै आफ्ना सेवाहरूलाई कर्णालीका विभिन्न जिल्लामा विस्तार गर्ने योजना लिएको बताएका छन् ।
अहिलेसम्म विभिन्न कम्पनीहरूको तथ्यांक हेर्दा पूरै कर्णाली प्रदेशभरी गरी झण्डै १ लाख ४४ हजार नागरिक मात्रै विमाको पहुँचमा रहेका छन् । अहिले जुम्लामा प्राइम लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्सलगायत १० वटा जीवन बिमा कम्पनी र सूर्या, शिखरलगायतका निर्जीवन बिमा कम्पनी गरी १२ वटा बिमा कम्पनी जुम्लालगायत कर्णालीका पाँचै जिल्लामा उपशाखा खोलेर सेवा दिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्