निजी वनतर्फ आकर्षण बढ्दै

दाङ-पछिल्लो समय जिल्लामा निजी वनतर्फ नागरिकको आकर्षण बढ्दै गएको छ । राज्यले वातावरण संरक्षणका लागि पनि निजी वनलाई प्राथमिकता दिएपछि यसतर्फ आकर्षण बढेको हो । राज्यले प्राथमिकता दिएपछि जिल्लामा निजी वनतर्फ नागरीकको आकर्षण बढ्दै गएको जिल्ला वन कार्यालय दाङले जनाएको छ ।
निजी वन प्रवद्र्धन गर्न राजयले प्रोत्साहनसमेत गर्दै आएको छ । जिल्लामा हालसम्म ३ सय २ जनाले निजी वन दर्ता गरेको वन कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार जिल्लामा हालसम्म १ सय ४१.५६ हेक्टर क्षेत्रफलमा निजी वन बनाइएको छ । गएको आव ०७३÷७४ मा २९ जनाले निजी वन दर्ता गराएका थिए । जसमा १४.५३ हेक्टरमा निजी वन निर्माण भएको छ । आव ०७४÷७५ मा ८ जनाले निजी वन दर्ता गरेका छन् । जसमा ३.३६ हेक्टरमा निजी वन बनाइएको वन कार्यालयका सूचना अधिकृत तथा सहायक वन अधिकृत खिमबहादुर केसीले जानकारी दिए । जिल्लामा २०४३ सालदेखि नै दर्ता गर्न सुरु गरिएको थियो । अघिल्ला वर्षमा निजी वन दर्ता गर्नेको संख्या कमी भए पनि पछिल्लो समयमा आएर निजी वन दर्ता गर्नेको संख्या बढ्दै गएको वन कार्यालयले जनाएको छ । निजी वन दर्ता गर्नेलाई राज्यले प्रोत्साहन गरेकाले बढेको सूचना अधिकृत केसीले जानकारी दिए । राज्यले निजी वन दर्ता गर्नेलाई पुरस्कृतसमेत गर्ने गर्दछ । गत आव ०७४÷७५ मा मात्रै ८ जना निजी वन दर्ता गर्नेलाई प्रतिवन २८ हजारका दरले पुरस्कारसमेत प्रदान गरेको सूचना अधिकृत केसीले बताए । वनले बिरुवासमेत निःशुल्क उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ ।
त्यसैगरी राज्यले १ हेक्टर बढी क्षेत्रफलमा निजी वन बनाउनेलाई तार बार गर्नका लागि समेत रकम दिने भएको छ । जिल्ला वन कार्यालयले गत आवमा साढे ६ हेक्टरमा तारबार गर्नका लागि रकम दिएको सूचना अधिकृत केसीले बताए । कार्यालयले तारबार गर्नका लागि प्रतिहेक्टर १ लाखका दरले रकम प्रदान गरेको उनको भनाइ छ । जिल्लामा निजी वन दर्ता गर्नेमध्ये अधिकांश सहरी क्षेत्रका रहेको वन कार्यालयले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकृत केसीका अनुसार तुलसीपुर, घोराही, लमही क्षेत्रमा बढी निजी वन दर्ता गर्नेको संख्या बढी छ । यसले गर्दा सहरी क्षेत्रमा हरियाली बढ्ने र वातावरण संरक्षणमा थप टेवा पुग्ने कार्यालयको अपेक्षा छ । जग्गा भए पनि खेती गर्नका लागि सिँचाइको सुविधा नपुगेका स्थानका जग्गा अहिले निजी वनको रूपमा नागरिकले दर्ता गर्ने गरेको कार्यालयका सूचना अधिकृत केसीले बताए ।
यसैगरी पछिल्लो समयमा युवाहरू वैदेशिक रोजगारीमा जाँदा खेती गर्ने जनशक्ति नहुँदा पनि निजी वनतर्फ नागरिकको रुचि बढेको छ । वृक्ष रोप्न पटकपटक मेहनतसमेत गर्न नपर्ने भएकाले नागरिकहरू यसलाई सहज रूपमा आम्दानी गर्न सकिने माध्यमको रूपमा लिने गरेका छन् । “अन्य बालीजस्तो मेहनत गर्न नपर्ने भएकाले निजी वनतर्फ नागरिकको आकर्षण बढेको हो,” सूचना अधिकृत केसीले भने । “काठबाट आम्दानीसमेत राम्रो हुने गरेको छ,” केसीले भने । काठको भाउसमेत महँगो रहेकाले यसबाट राम्रो आम्दानी हुने उनको भनाइ छ । यसरी उत्पादन गरिएको काठ बाहिर बढाउँदा जिल्लाको आयस्रोत समेत वृद्धि हुनेछ ।