रक्सौल समस्याको समाधान खोज «

रक्सौल समस्याको समाधान खोज

रक्सौलमा स्थानीयवासीहरूले त्यहाँका संघसंस्थाहरूसमेतको सहयोगमा राष्ट्रिय राजमार्गसमेत बन्द गर्नेसम्मको आन्दोलन घोषणा गरेकाले यो समस्या समाधान गर्न जति ढिलाइ हुँदै गयो, त्यसले नेपालको समग्र आयात–निर्यात व्यापारमा उति नै समस्या सिर्जना हुने देखिन्छ ।
नेपालको संविधानसँग जोडिएको मुद्दालाई लिएर भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको दुई वर्ष नबित्दै पुनः नेपालको प्रमुख व्यापारिक नाका रक्सौलमा अवरोध सुरु भएको छ । यस पटक भने त्यहाँका स्थानीयवासीहरूले प्रदूषणको मुद्दा उठाउँदै आन्दोलन सुरु गर्दा बारा–पर्सा औद्योगिक करिडोरमा कच्चापदार्थ अभावको समस्या सुरु भएको छ । मुख्यतया सिमेन्ट उद्योगहरूले आयात गर्ने कच्चापदार्थका कारण प्रदूषण बढेको रक्सौलका स्थानीयवासीहरूको आरोप छ । सिमेन्ट उत्पादनमा प्रयोग हुने स्लोग, जिप्सम, कोइला, फ्लायर्स, क्लिंकर, आइरनओरलगायतका कच्चापदार्थ तथा अद्र्ध–तयारी वस्तु रक्सौलमा उतारेर नेपाल ल्याउने क्रममा प्रदूषण बढेको स्थानीयवासीहरूको भनाइ रहँदै आएको छ । नेपालमा औद्योगिक उत्पादन भइरहँदा छिमेकी मुलुकको सीमावर्ती बस्तीहरूमा प्रदूषण हुनुलाई पनि स्वभाविक मान्न सकिँदैन । चाहे नेपालका हुन् वा भारतका औद्योगिक प्रदूषणका असरले कोही पनि प्रभावित नबनून् भन्नेमा सम्बन्धित सरोकारवालाहरू जिम्मेवार बन्नैपर्छ । नेपालमा पछिल्ला दशकमा जुढ ढंगले सिमेन्ट उत्पादन बढ्दै गएको छ, त्यसले यहाँको औद्योगिक विकासमा निकै सबल भूमिका निर्वाह गर्दै आएको छ । सिमेन्ट उद्योगमा पनि दुई किसिमका छन्, एउटा नेपालभित्रैका कच्चापदार्थ प्रयोग गरेर यहीँ उत्पादन गर्ने र अर्को खालका उद्योगहरू भारतबाट अद्र्धतयारी क्लिंकर ल्याए यहाँ उत्पादन गर्ने किसिमका रहेका छन् । चुनढुंगा, रातो माटोसहितका कच्चापदार्थ यहीँको प्रयोग गरिए पनि भट्टी तताउन चाहिने कोइला र आइरन ओरसहितका अन्य कच्चापदार्थ भने भारतबाटै ल्याउनुपर्ने अवस्था छ ।
त्यसैले पनि यस्ता कच्चापदार्थ वा अद्र्धतयारी वस्तुहरूको आयातमा अपनाउँदै आइएको प्रक्रियाबारे सुरुदेखि नै सावधानी अपनाउन सकिएको भए अहिलेको जस्तो समस्या आउने थिएन । धूलो उड्ने खालका कच्चापदार्थहरू लोड–अनलोड गर्दा त्यसले वरिपरिको वातावरणमा प्रतिकूल असर नपारोस् भनेर अहिले धूलो नियन्त्रण गर्ने थुप्रै किसिमका प्रविधि आइसकेका छन् । खुला स्थानमा यस्ता अधिक धूलोका कण हुने कच्चापदार्थ लोड–अनलोड गरिनु नै अहिलेको मुख्य समस्या भएको देखिएकाले त्यसलाई सोझै नेपाल ल्याउने वा कम गोदामघरभित्र खन्याई प्रदूषण नियन्त्रणका विधिहरू अवलम्बन गरिनु नै उत्तम विकल्प हुन सक्छ ।
यदि यसका लागि स्थानीय स्तरबाट उद्यमी–व्यवसायीहरूको मात्र पहल पुग्दैन भने वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास, निजी क्षेत्रका संघीय संस्थादेखि सरकारको समेत कूटनीतिक पहल गरेर समस्याको समाधान खोजिनु पर्छ । रक्सौलमा स्थानीयवासीहरूले त्यहाँका संघसंस्थाहरूसमेतको सहयोगमा राष्ट्रिय राजमार्गसमेत बन्द गर्नेसम्मको आन्दोलन घोषणा गरेकाले यो समस्या समाधान गर्न जति ढिलाइ हुँदै गयो, त्यसले नेपालको समग्र आयात–निर्यात व्यापारमा उति नै समस्या सिर्जना हुने देखिन्छ । त्यसैले आर्थिक–व्यापारिक तहबाट मात्र नभई यदि आवश्यक पर्यो भने कूटनीतिक तहबाट उच्चस्तरमै रक्सौलको विद्यमान समस्या समाधान गर्नका लागि पहल गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्