नयाँ कार्यविधिपछि पहिलो सोलार आयोजनासँग पीपीए «

नयाँ कार्यविधिपछि पहिलो सोलार आयोजनासँग पीपीए

काठमाडौं-‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४ आएपछि नेपाल विद्युत् प्राधिकरणले ५ मेगावाटको सोलार (सौर्य) आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेको छ ।
गत मंसिरमा तत्कालीन ऊर्जा मन्त्रालयले सोलार आयोजनाको पीपीए दर घटाएर ल्याएको नयाँ कार्यविधिपछि विद्युत् प्राधिकरणले तनहुँमा बन्न लागेको सोलार आयोजनासँग पहिलो पीपीए गरेको हो । बिहीबार प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सोलार फार्म प्रालिका तिलबहादुर आलेले पीपीएमा हस्ताक्षर गरेका छन् । गत मंसिरमा कार्यविधि आउनु अघि सरकारले प्रतियुनिट ९.६१ रुपैयाँ तोकेकोमा यसलाई घटाएर प्रतियुनिट ७.३० पैसा कायम गरिएको छ । “नयाँ कार्यविधि आएपछि विद्युत् प्राधिकरणले नयाँ दरमा पहिलो पीपीए गरेको हो ।” विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने, “लिऊ वा तिर (टेक अर पे) मा पीपीए भएको छ, ८ महिनाभित्र उत्पादन गरिसक्ने लक्ष्य रहेको आयोजनाले वार्षिक ८५ लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।” उनका अनुसार, २२ हजार प्यानल रहेको र प्रतिमेगावाट १८ रोपनीसहित ९० रोपनी र अन्य आवास गरी एक सय रोपनी जग्गामा आयोजना निर्माण हुन लागेको छ । आयोजनाको प्रतिमेगावाट लागत १२ करोड अनुमान गरिएको छ । यसअघि विद्युत् प्राधिकरणले नवलपरासीको एउटा उद्योगमा स्थापना भएको ०.९६ मेगावाटको विष्णुप्रिया सोलार फार्मसँग पीपीए गरिसकेको छ ।
छिमेकी राष्ट्र भारतमा प्रतियुनिट २.४४ पैसा भारुमा सोलार आयोजना निर्माण भइरहेकोले नेपालको सोलार महँगो भएको भन्दै विगतमा नेपालको सोलार पीपीएको विरोध हुँदै आएको छ । हाल ६१ मेगावाटका आयोजनासँग विद्युत् प्राधिकरणले पीपीएको कामअघि बढाउन लागेको छ । कतिपय आयोजनाले बंैक ग्यारेन्टी गरेकाले आइतबारदेखि ती आयोजनासँग पनि पीपीए अघि बढ्ने प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्