नेपालगन्जलाई महानगर बनाउने सम्भाव्यता अध्ययन सुरु गरियो

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन थालिएको छ । महानगरपालिका बनाउन के कस्ता पूर्वाधार आवश्यक पर्छन, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसंख्या कति हुनुपर्छ, भौतिक पूर्वाधारको विस्तारलगायतका सम्भावनाबारे छलफल चलाइएको उपमहानगर प्रमुख डा. धवलशमशेर राणाले बताए ।
महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि २५ लाख रुपैयाँको बजेट समेत छुट्याइएको थियो ।
प्रदेश नं ५ को सरकारले यस प्रदेशमा तीन महानगरपालिका बनाउने योजना अगाडि सारेको छ । सोही अवधारणाअनुसार नेपालगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन थालिएको प्रमुख राणाले बताए ।
प्रदेश नं ५ को सरकारले बुटवल र भैरहवा, तुलसीपुर र घोराही तथा नेपालगन्ज, कोहलपुर र खजुरालाई मिलाएर तीन महानगरपालिका बनाउने अवधारणा अघि सारेको छ ।
अबको स्थानीय तहको निर्वाचनका बेला सम्ममा नेपालगन्ज उपमहानगर पालिकालाई महानगरपालिका बनाइसक्ने गरी पूर्वाधार जुटाइ सक्ने राणको भनाइ छ ।
बाँकेको कोहलपुर, जमुनहा, मानखोला र राप्ती नदीवारिसम्मको क्षेत्रलाई समेटेर महानगरपालिका बनाउन सकिने आधारमा अध्ययन थालिएको हो । महानगरपालिका बनाउन कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी र डुडुवा गाउँपालिकालाई गाभ्ने योजना छ ।
यसअघि गत साता बसेको नेपालगन्ज उपमहानगरपालिकाको बोर्ड बैठकले नेपालगन्ज–कोहलपुर–खजुरालाई एकीकृत गरी महानगर बनाउन औपचारिक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको थियो ।
“त्यसका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गरिंदैछ,” नेपालगन्जका नगर प्रमुख डा. राणाले त्यसका लागि नगर सभाले पनि बाटो खोलिसकेको जानकारी दिँदै भने, “महानगरका लागि औपचारिक प्रक्रिया अगाडि बढाइएको छ ।”
नगर प्रमुख डा. राणाका अनुसार, नेपालगन्ज आसपासका सबै स्थानीय तहसँग समन्वय गरी कुन–कुन भूगोललाई महानगरपालिका भित्र गाभ्ने भन्ने स्थलगत अध्ययन गर्न कन्सल्टेन्ट हायर गरिनेछ,” उपमहानगरका उपप्रमुख उमा थापामगरले भनिन्, “यसैसाता कन्सल्टेन्ट हायर प्रक्रिया सुरु गर्ने सहमति बनेको छ ।”
उपमहानगरपालिकाले यसअघि एलजीसिडिपीका नाममा रहेको २५ लाख रुपैयाँलाई रकमान्तर गरी महानगरका लागि काम अगाडि बढाउने भएको हो । प्रदेश ५ मा तीन वटा महानगरको परिकल्पना गरिएकोमा कार्यान्वयनका लागि औपचारिक प्रक्रिया अगाडि बढाउने नेपालगन्ज पहिलो हो ।
नेपालगन्ज, कोहलपुर र खजुराका प्रमुखहरूले महानगरको सम्भावनालाई स्वागत गर्दै पहल थाल्न सहमति जनाईसकेका छन् । कोहलपुर र खजुराले महानगरका लागि नेपालगन्जले अग्रसरता लिनुपर्ने धारणा सार्वजनिक गरे लगत्तै डीपीआरलाई एजेन्डाका रूपमा अगाडि बढाइएको हो ।
यसअघि नेपालगन्जलाई महानगर बनाउने प्रस्ताव उपमहानगरले पारित गरिसकेको छ भने प्रदेश सरकारले पनि त्यसको निर्णय गरिसकेको छ । तर, पूर्वाधारका हिसाबले नेपालगन्जमा अझै पनि उपमहानगर बन्ने केही महत्वपूर्ण पूर्वाधार नभएको अवस्थामा कसरी महानगर बनाउन सकिएला भन्ने प्रश्न केहीले उठाएका छन् ।