नदी नियन्त्रण गर्न १० करोड «

नदी नियन्त्रण गर्न १० करोड

उदयपुर-उदयपुर जिल्लावासीकै मुख्य समस्याका रूपमा रहेको त्रियुगा नदी नियन्त्रणको काम चालू आवदेखि तीव्र गतिमा हुने भएको छ । यसअघि पेश गरिएको त्रियुगा नदी नियन्त्रण गुरुयोजना अनुसार काम गर्न सरकारले चालू आवमा १० करोड रुपैयाँ विनियोजन गरेपछि नदी नियन्त्रणको कामले तीव्रता पाउने भएको हो ।
गत आवमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्रियुगा नदीले गरेको क्षतिको अवलोकन गर्दैै यसको नियन्त्रणमा चासो ब्यक्त गरेकी थिइन् । राष्ट्रपति भण्डारीले देखाएको चासोसँगै पूर्वमन्त्री तथा उदयपुर जिल्ला क्षेत्र नं १ का तत्कालीन सभासाद डा. नारायण खड्काको सहयोगमा नदी नियन्त्रणको काम गर्ने जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय लहानले त्रियुगा नदी नियन्त्रणका लागि ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँको विस्तृत प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गरेको थियो ।
“त्रियुगा नदी नियन्त्रणको गुरुयोजना पास भई नसके पनि चालू आवमा खर्च गर्ने गरी १० करोड रुपैयाँ विनियोजन भएको छ,” अर्थ मन्त्रालयका अधिकृत अर्जुन थापाले भने, “यो रकम जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालयमार्फत खर्च हुनेछ ।” थापाका अनुसार जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालयले पेश गरेको गुरुयोजना पास भई नसकेको भए पनि विनियोजित रकम भने गुरुयोजनाको इस्टिमेटअनुसार खर्च हुनेछ ।
जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालयका अनुसार त्रियुुगा खोलाको लम्बाइ त्रियुगा नगरपालिकाको होक्से कालिखोलादेखि सप्तकोसीसम्म ४२ किमि छ । यसमा दुवैतर्फ ड्याम निर्माण गर्न सो कार्यालयले ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खर्च लाग्ने विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेर गत वर्ष मन्त्रालयमा बुझाएको छ । ड्याम निर्माण गर्दा ४ सय हेक्टर खेतीयोग्य जमिनको उकास हुने र १० हजार घरधुरीका ५० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने कार्यालयले जनाएको छ ।
१३ सय वर्ग किलोमिटर जलबहाव क्षेत्र रहेको त्रियुगा नदीको ३१ सय मिटर प्रतिसेकेन्ड बहाव रहेको र २५ वटा अन्य सहायक नदीका कारण त्रियुगा नदीको चौडाइ बर्सेनि बढिरहेको गुरुयोजना प्रतिवेदनमा उल्लेख छ ।
“त्रियुगा नदीले सालन्य पुर्दै जाँदा सात बिघाभन्दा बढी खेत भएका परिवारसमेत सुकुम्वासी बनेर अहिले दाउरा बेचेर गुजारा गरिरहेका छन् ।” त्रियुगा नगरपालिका–२ का वडाध्यक्ष घमानसिँह खत्रीले भने, “कमाई खाने खेत सबै बगर बनेपछि कतिपय स्थानीय बासिन्दा अन्यत्र विस्थापित भइसकेका छन् ।” गुरुयोजना अनुसार खर्च गर्न सरकारले चालू आवमा १० करोड रुपैयाँ त्रियुगा नदी नियन्त्रणका लागि विनियोजन गरेको जानकारी पाउँदा यस क्षेत्रका बासिन्दा खुसी भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्