बसाइँ सराइले जग्गा बाँझै «

बसाइँ सराइले जग्गा बाँझै

धनकुटा-बसाइँ सराइका कारण धनकुटाको छथरजोरपाटी साविक तेलिया, तांखुवा गाविसमा पर्ने अधिकांश बारी बाँझो छ ।
कुनै बेला गाउँभरिका स्थानीयलाई खान पुग्ने अन्न, फलफूल तरकारी उत्पादन हुने यो स्थानमा केही वर्षदेखि चलेको बसाइँ सराइ र गाउँमा भएका स्थानीय बासिन्दाले समेत खेती गर्न छोड्दा यो अवस्था आएको हो । फलफूलखेतीका लागि उपयुक्त वतावरण भए पनि यहाँ बसेर खेती गर्न कसैले चासो नदिएको स्थानीय बासिन्दा बेगबहादुर थापा बताउँछन् । कृषिप्रधान मुलुकका रूपमा चिनिने नेपालमा किसानले धमाधम कृषि कर्म छोड्दा यसको असर राष्ट्रिय उत्पादनमा नै पर्दछ । यहाँका करिब १५० भन्दा बढी परिवारले खेती गर्ने खेतबारी अहिले बाँझो छ ।
फलफूल उत्पादनका लागि उपयुक्त भएको भन्दै विभिन्न संघसंस्थाले बाँडेका फलफूलका बोट स्थानीय बासिन्दाका बारीमा हुर्किएका छन् तर त्यसको कुनै संरक्षण गरिएको छैन । स्थानीयले यसरी छोडेका जग्गा लिजमा लिई वा खरिद गरी उत्पादनसँग जोड्ने प्रयास भए पनि जनशक्ति अभावले सफल हुन गाह्रो भएको फुर्केसल्ला कृषि समूहका अध्यक्ष मेघराज खतिवडा बताउँछन् । उनी भन्छन्, “बाँदरलगायतका जंगली जनावरबाट बाली जोगाउनसमेत मुष्किल हुँदा किसान खेती गर्न छोड्दै छन् ।” यसरी छोडिएका जमिनलाई उत्पादनसँग जोड्न स्थानीय निकायले पनि खासै पहल गरेको छैन । जग्गाको व्यवस्थित तथ्यांक नहँुदा तरकारी फलफूल उत्पादनको प्रसस्त सम्भावना भएको यस गाउँपालिकामा अहिलेसम्म खेतीयोग्य जमिन कति, त्यसमा बाँझो जग्गा कति भन्ने आधिकारिक तथ्यांक छैन । बाँझो जमिनलाई व्यवस्थित गर्नका लागि यस आवबाट काम सुरु गरिने छथरजोरपाटी गाउँपालिकाका प्रमुख शेरबहादुर लिम्बुले बताए ।

प्रतिक्रिया दिनुहोस्