राणाको ‘महागुरु’ बजारमा

महेश राणाको तेस्रो कृति ‘महागुरू’ शनिबार सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा नितान्त फरक शैलीमा विमोचित उक्त पुस्तक कालभैरव भगवानसँग लेखक आफैंले गरेको वार्ता शैलीमा लेखिएको छ ।
नेपाल परापूर्वकालदेखि नै एक तान्त्रिक राज्य रहेकोमा पछिल्ला दशकमा यसबारे नयाँ पुीस्तालाई ज्ञान दिन कुनै पाठ्यसामग्री नआइरहेको परिप्रेक्ष्यमा राणाको पुस्तक बजारमा आएको हो । पूर्ण रूपमा तान्त्रिक पद्धतिअनुरुप डा. ध्रुवेशचन्द्र रेग्मीले राग भैरव तथा भैरवी अनुष्ठान गर्दै सुरु भएको कार्यक्रममा महागुरू पुस्तक सार्वजनिक गरिएको थियो ।
एबीसी टेलिभिजनमा कर्पोरेट आइकन कार्यक्रम सञ्चालक रहेका राणाले उक्त अवसरमा आफू एक साधक रहेकोले आफू पुस्तक लेखक नभई संयोजकमात्र रहेको बताए ।
विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा पुस्तक समीक्षा शेखर खरेलले गरेका थिए भने सूर्य नेपालका उपाध्यक्ष रवि केसी, सिटिजन बैंकका सीइओ राजनसिंह भण्डारी, फिस्टेल एयरका अध्यक्ष विकास राणा, आनका अध्यक्ष रविन्द्र कुमार रिजाल ‘शशी,’ इ–क्यानका अध्यक्ष विष्णुहरि पाण्डे, नायक निखिल उप्रेती, अष्ट्रेलियन हार्वर इन्टरनेशनल कलेजका अध्यक्ष सुमन भेटवाललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
नौ उपशीर्षक रहेको महागुरुमा अन्तिम अध्यायमा मानिसको भौतिक अवस्थालाई कसरी आध्यात्मिक बनाउने भन्ने विषयमा भगवान कालभैरवसँग राणाले गरेको अन्तर सम्वादलाई उतारिएको छ ।
उनले महागुरु कालभैरवसँग जीवनलाई रुपान्तरण, आध्यात्मिक साधन आदिबारे समवार्ता गरेका छन् ।
पिनाकल पव्लिकेशनद्वारा प्रकाशित महागुरु पुस्तक शैव सम्प्रदायको पनि अघोर सिद्धिका मालिक कालभैरवबारे विभिन्न जानकारी पनि दिइएको छ ।