दूरगामी महत्वका कुनै निर्णय नगर :बाम गठबन्धन

बाम गठबन्धनले कामचलाउ सरकारले दूरगामी महत्वका कुनै पनि नियुक्ति नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी एकता केन्द्रीय संयोजन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि स्पष्ट रूपमा जनादेश प्राप्त भइसकेकाले अनावश्यक रूपमा राजनीतिक नियुक्ति, सरुवा, बढुवा नगर्न सरकारलाई सचेत गराएको हो । विशेषगरी सरकारले प्रदेश प्रमुखको नियुक्तिको तयारी गरेपछि गठबन्धनका तर्फबाट यस्तो धारणा सार्वजनिक भएको हो ।
पत्रकार सम्मेलनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताले एकै स्वरमा भने, “कामचलाउ सरकारले दूरगामी महत्वका कुनै पनि निर्णय गर्न मिल्दैन, त्यो हामीलाई स्वीकार्य हुँदैन ।” एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नयाँ जनादेश आइसकेपछि जनताको अभिमत प्राप्त दललाई सरकार हस्तान्तरण गर्नुपर्नेमा त्यसो नगरेर जनादेशको अपमान गर्न खोजिएको त होइन भन्ने आभाष भएको बताए ।
अध्यक्ष ओलीले भने, “कामचलाउ सरकारले दूरगामी महत्वका निर्णय गर्न संवैधानिक, राजनीतिक र नैतिक रूपमा पनि मिल्दैन ।” अध्यक्ष ओलीले निर्वाचन परिणामपछि राष्ट्रियसभा गठन नभई राजीनामा दिन्न भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाकोे भनाइ गलत रहेको टिप्पणी गरे ।
सरकार बनेपछि राष्ट्रियसभा गठन गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास भएको भन्दै अध्यक्ष ओलीले प्रतिनिधिसभाले सरकार गठन गरेपछि राष्ट्रियसभा गठन गर्ने संवैधानिक व्यवस्था रहेको बताए । राष्ट्रियसभामा महिलाको प्रतिनिधित्व कम हुन्छ भनेर गरिएको प्रचारसमेत भ्रमपूर्ण रहेको स्पष्ट पार्दै उनले न्यूनतम पनि ३७ प्रतिशतभन्दा बढी महिला प्रतिनिधित्व हुने तथ्यांक पेश गरे ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई प्रधानमन्त्री को बन्नेभन्दा पनि प्रमुख ध्यान राजनीति स्थायित्व, सुशासन र विकास निर्माण तथा आर्थिक समृद्धि नै रहेको स्पष्ट पारे । उनले भने, “हामीलाई त्यसको लोभ छैन । फेरि हामी सजिलै प्रधानमन्त्री छाडेका मानिस पनि हौँ । हाम्रो चिन्ता र चासो समृद्धि र राजनीतिक स्थायित्व हो ।” अध्यक्ष दाहालले राष्ट्रियसभा गठनका बारेमा सरकारका तर्फबाट भएको अलमलका बारेमा शनिबार आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरेको जानकारी दिए । उनले भने, “प्रधानमन्त्रीसँग कुरा हुँदा राष्ट्रिय सभाका बारेमा पनि कुरा भएको थियो । संविधानले एकल संक्रमणीय भन्ने व्यवस्था गरेको छैन । पार्टीहरुका बीचमा छिटोभन्दा छिटो सहमति गरेर जानुपर्छ भनेर मैले प्रधानमन्त्रीको ध्यानकर्षण गरेको थिएँ ।” संविधानले राष्ट्रियसभाका सदस्यहरुको निर्वाचन गर्न प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मात्र होइन, गाउँपालिका र नगरपालिका प्रमुख तथा उपप्रमुखको मतभार फरक फरक गर्ने कुरा गरेको भन्दै अनावश्यक विवाद नगर्न प्रधानमन्त्रीलाई सचेत गराएको उनले बताए । निर्वाचन सम्पन्न गराएर सरकारको राम्रो काम गरेको भन्ने सन्देश जनताका बीचमा गएको बेला एकाध नियुक्तिले विवादमा पर्ने काम नगर्नसमेत प्रधानमन्त्रीलाई सचेत गराएको उनको भनाइ थियो ।
निर्वाचन परिचालन एवं प्रचार–प्रसारमा सक्रियतापूर्वक लाग्ने वामपन्थी दलका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्य तथा निर्वाचन अभियानको पक्षमा विभिन्न ढंगले सरिक राजनीतिक दल, उम्मेदवार र प्रचारकलाई गठबन्धनले धन्यवाद ज्ञापन गरेको छ ।
राष्ट्रिय आवश्यकता र जनताको चाहनाबमोजिम पार्टी एकता गर्ने घोषणा गरेको स्पष्ट पार्दै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा ‘वामपन्थी शक्तिको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न र जनचाहनाअनुसारको उद्देश्य हासिल गर्न प्रतिबद्ध छौँ । निर्वाचनका क्रममा प्रस्तुत गरिएको केन्द्रीय घोषणापत्र तथा स्थानीय प्रतिबद्धताको कार्यान्वयन गर्दै जनता र राष्ट्रको सेवामा समर्पित हुन संकल्पबद्ध छौँ’ भनिएको छ ।
गठबन्धनले प्रतिपक्षको संवैधानिक व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र प्रतिपक्षबाट पनि रचनात्मक भूमिकाको अपेक्षा गरेको छ ।