मुख्यमन्त्री चयनको कसरत, कसले मार्ला बाजी ? «

मुख्यमन्त्री चयनको कसरत, कसले मार्ला बाजी ?

मुलुकमा पहिलो पटक संघीयता कार्यान्वयनमा आएको छ । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमार्फत संघीयता कार्यान्वयन भएको हो । निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मत परिणाम घोषणा भइसकेको छ भने समानुपातिकतर्फको अन्तिम मत परिणामसमेत आइसकेको छ । निर्वाचनसँगै सातवटै प्रदेशमा प्रदेश सरकार बन्दै छन् । २ नम्बर प्रदेशबाहेकका अन्य प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले सरकार बनाउने निश्चित प्रायः छ । संवैधानिक व्यवस्थाअनुसार अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने छ । यसरी हेर्दा ढिलोमा पनि माघको पहिलो साता प्रदेशहरूले सरकार पाउनेछन् । यही अवस्थामा प्रदेश नम्बर १ मा एमाले नेतृत्वमा प्रदेश सरकार बन्ने सम्भावना छ । यो प्रदेशका अधिकांश सिटमा जित हासिल गरेको एमालेका नेताहरूले प्रदेशको मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन् । प्रस्तुत छ, प्रदेश नम्बर १ का मुख्यमन्त्रीका दाबेदारका रूपमा रहेका एमाले नेताहरू भीम आचार्य र शेरधन राईसँग कारोबारकर्मी तीर्थराज बस्नेतले गरेको कुराकानीको सार :

मैले दाबी गर्दै हिड्ने होइन

भीम आचार्य
सांसद, नेकपा एमाले, प्रदेश नम्बर १
मैले कुनै पनि पदमा दाबी गर्दै हिँड्ने होइन । बाहिर चर्चामा आएको सत्य हो, तर म जत्तिको मान्छेले म फलानो पदको दावेदार हुँ भनेर हिँड्न सुहाउँदैन । म अरू सांसदहरूको तुलनामा सिनियर भएकाले पत्रपत्रिका, शुभेच्छुकहरूले मेरो विषयमा चर्चा गरिरहनुभएको र अनुमान गर्नुभएको छ । त्यो स्वाभाविक पनि हो, तर म आफैंले चाहिँ यस्तो भनेको छैन । अब हाम्रो पार्टीले प्रदेश नम्बर १ को संसदीय दलको नेता छान्छ । पार्टीले निर्णय पनि गर्ला । व्यवस्थापिका संसद् र प्रधानमन्त्रीको निर्वाचन जस्तै गरी यहाँ पनि यो प्रदेशको संसदीय दलको नेता मुख्यमन्त्री हुने हो । यी विषयमा पछि हुने कुरा हुन्, तर म आफैं दाबेदार हुँ भन्दै हिँड्ने होइन ।
हाम्रो प्रदेश प्राकृतिक स्रोत–साधनको धनी छ । हामीले ती प्राकृतिक स्रोत–साधनको उपयोग गरेर यो प्रदेशको मुहार फेर्न सक्छौं । भौतिक पूर्वधारको विकास जस्तै ः बाटोघाटो, विद्युत्, अस्पताल, पुललगायतका संरचना बनाउनु आवश्यक छ । त्यसका लागि स्रोत–साधनको अधिकतम उपयोग गर्नु जरुरी हुन्छ । कृषिक्षेत्रको समेत यो प्रदेशमा प्रचुर सम्भावना छ । कृषिलाई आधुनिकीकरण गरेर व्यावसायिकतामा ढाल्न आवश्यक छ । पर्यटनको व्यापक सम्भावना भएकाले पर्यटन विकासका क्षेत्रमा पनि थुप्रै काम गर्न सकिन्छ, जसका माध्यमबाट प्रदेशको समृद्धि हुनेछ । औद्योगीकरणको विकास पनि अर्को महत्वपूर्ण काम हो । अबको पाँच वर्षभित्र १ नम्बर प्रदेश १ नम्बर नै हुन्छ । हाम्रो प्रदेश कमिटीले १ नम्बर प्रदेशको विकास र समृद्धिका लागि गुरुयोजना बनाएको छ । यसको कार्यान्वयन गर्न हामी गम्भीर भएर लाग्नेछांै । हामीले यो प्रदेशलाई १ नम्बर बनाउने भन्दै गर्दा हामीसँग चुनौतीका पहाड छन् ।
मुलुकमा पहिलो पटक संघीयता कार्यान्वयनमा आएको छ । अहिलेसम्म प्रदेशको राजधानी तोकिएको छैन । कर्मचारी छैनन्, भौतिक संरचना छैन । कर्मचारी नियुक्तिपछि पनि उनीहरूलाई तालिम दिनु आवश्यक छ । तल्लो तहको संरचनासमेत बनिसकेको छैन । स्रोत र साधनको सदुपयोग गर्ने कुरामा पनि नीति–नियम छैनन् । प्रदेश कानुन बनेको छैन । निर्देशिका बनेका छैनन् । अब बनाउनु छ । आवश्यक नीति–नियम त बनाउन सकिन्छ । तर, स्रोत–साधनको प्रयोग गरी विकास र समृद्धितर्फ अघि बढ्ने कुरामा जग बसाउनुपर्ने ठूलो चुनौती हामीसँग छ । र, समृद्धितर्फ अघि बढ्न ढिला गर्ने सुविधा हामीसँग छैन । त्यसका लागि आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ । हामीसँग सम्भावना जति छन्, चुनौती पनि त्यति नै छन् । त्यसकारण यी चुनौतीहरूको सामना गर्दै दत्तचित्त भएर यो प्रदेशको समुन्नतिका लागि एक भएर अघि बढ्नेछांै । सातै प्रदेशमध्ये १ नम्बर प्रदेशलाई नमुना बनाएर देखाउनेछौं ।

म सबैभन्दा बलियो दाबेदार हुँ

शेरधन राई
सांसद, नेकपा एमाले, प्रदेश नम्बर १
मलाई जनताले भारी मतका साथ प्रदेश नम्बर १ को मुख्यमन्त्रीको दाबेदारका रूपमा अनुमोदन गर्नुभएको छ । निर्वाचनका माध्यमबाट अनुमोदित हुने काम भइसकेको छ । म मुख्यमन्त्रीको बलियो दावेदार हुँ । अब मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुन्छ । म पार्टीभित्रको प्रक्रिया र बाहिरको प्रक्रिया दुवैमा आफूलाई बलियो रूपमा प्रस्तुत गर्छु । हुन त यो प्रदेशको मुख्यमन्त्रीका लागि हाम्रो पार्टीका अरू मित्रहरूले पनि दाबी गर्नुभएको छ । त्यो स्वाभाविक पनि हो । अब पार्टीले एउटा विधि, प्रक्रिया, मापदण्ड बनाएर यो विषयलाई टुंगोमा पु¥याउनेछ । मुख्यमन्त्रीका लागि अरूले दाबी नै गर्नु हुँदैन भन्दिनँ म । अरूले पनि चाहना राख्नु, दाबी गर्नु सामान्य कुरा हो ।
देशलाई समृद्धितर्फ लैजान हामीजस्ता युवाहरूको नेतृत्व आवश्यक छ । प्रदेश नम्बर १ लाई समृद्ध बनाउने योजना मसँग छ । हाम्रो प्रदेश अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश हो । हामीसँग विश्वकै उच्च शिखर सगरमाथालगायतका अन्य हिमालहरू छन् । धार्मिक र सांस्कृतिक हिसाबले पनि हामी अघि छौं । पाथीभरा, बराहक्षेत्र, हेलेसीलगायतका प्रसिद्ध धार्मिक स्थल हाम्रै प्रदेशमा छन् । जहाँ देश–विदेशबाट बर्सेनि लाखौं धमार्वलम्बी आउँछन् । त्यसैले हाम्रो प्रदेश पर्यटकीय हिसाबले पनि धनी प्रदेश हो । पर्यटन व्यवासायका माध्यमबाट समृद्ध प्रदेश बनाउन सकिन्छ भन्ने दृष्टिकोण छ । हाम्रो प्रदेश ऊर्जा क्षमताका हिसाबले पनि सम्भावना बोकेको प्रदेश हो । हाम्रो देशमा ८० हजार मेगावट बढी जलविद्युत्को उत्पादनको सम्भावना छ । त्यसमध्ये एकतिहाई क्षमता हाम्रो प्रदेशमा छ । त्यसैले ऊर्जा विकास मेरो प्राथमिकतामा पर्छ ।
कृषिको आधुनिकीकरण र व्यवसायीकरणका माध्यमबाट आर्थिक विकास गर्न सकिन्छ । चीनसँगका नाका किमाथांका र ओलाङचुङगोलालाई सञ्चालनमा ल्याउँदै व्यापार गर्न सकिन्छ । दक्षिणतर्फ पनि जोगबनी, पूर्वतर्फ काँकडभिट्टा नाका पनि भएकाले हामीले चीन र भारतसँगको व्यापारिक सम्बन्धलाई विशेष ध्यान दिनुपर्नेछ । औद्योगिक विकास गर्दै चीन र भारतसँगको व्यापारिक सम्बन्ध विस्तार गरी लाभ लिनेतर्फ हामीले ध्यान दिनुपर्नेछ । जुडीबुटीको उत्पादन र प्रशोधनमा ध्यान दिनुपर्नेछ । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्दै लाखौं पर्यटक भियाउने गरी योजना बनाएर काम गर्ने मेरो सोच छ । पर्यटन विकास, कृषिको आधुनिकीकरण, औद्योगीकरण, पूर्वधार विकासका माध्यमबाट बेरोजगारी समस्या हल गरी रोजगारीका अवसर सिर्जना गर्ने गरी काम गर्न म दृढ छु ।

प्रतिक्रिया दिनुहोस्