समृद्ध मधेसका लागि गठबन्धन सरकार

प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको गठबन्धनले सरकार बनाउने लगभग निश्चित छ । संघीय समाजवादी फोरम र राजपा गठबन्धनले पाएको मत मात्र सांसद बन्नका लागि नभएको ती दलका नेताहरूले बताएका छन् । प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा ती पार्टीका नेताहरूका अनुसार बलिया दाबेदारमा संघीय समाजवादी फोरमका तर्फबाट लालबाबु राउत र राजपाका तर्फबाट मनिष सुमन रहेका छन् ।
सप्तरीबाट प्रदेशसभाका लागि चुनाव जितेका राजपाका नेता सुमनले भने, “जनताको जनादेश मात्र सांसद बन्नका लागि होइन, पार्टी एकीकरण गर्न, समृद्ध मधेस बनाउन र मधेसको राजनीतिक समस्या समाधान गर्न जनताले फोरम–राजपा गठबन्धनलाई भोट दिएका छन् । हामी त्यसैअनुरूप काम गर्नेछौं ।”
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअघि भएको चुनावी तालमेलबाट प्राप्त सफलता दुई पार्टीबीच सम्भावित एकीकरणको पहिलो खुड्किलो भएको बताउँदै सुमनले भने, “जनताको जनादेशबमोजिम दुवै पार्टीका नेताहरूले कार्य गर्नेछन् ।”
‘मुख्यमन्त्री को बन्ने ?’ जवाफमा सुमनले भने, “यो विषय दुवै दलका शीर्ष नेताहरूको बैठकबाट निक्र्योल गरिनेछ ।”
अन्तिम मतगणना भइसकेपछि प्रतिनिधिसभा र प्रदेशसभाको संसदीय बोर्डको गठन हुनेछ । त्यसपछि सरकार बनाउने वास्तविक स्थिति प्रस्ट हुनेछ । मुख्यमन्त्रीका लागि निर्वाचन जितेका सबै प्रत्याशी स्वाभाविक रूपले दाबेदार हुन्छन् । तर, राजनीतिक रूपमा उचित ठानिएका व्यक्ति मध्येबाट दुवै दलका शीर्ष नेतृत्वले मुख्यमन्त्रीका लागि नाम छनोट गर्ने सुमनले बताए । उनले भने, “तत्काल कुनै निर्णय भइसकेको छैन । सञ्चारमाध्यममा शुभचिन्तकहरूबाट मुख्यमन्त्रीको दाबेदारीबारे चर्चा हुनु स्वाभाविक हो, तर यो विषय शीर्ष तहबाट टुंगो लगाइनेछ ।”
आफूहरूले चुनाव समृद्ध मधेस बनाउनका लागि पनि जितेको बताउँदै पार्टी नेतृत्व समृद्ध मधेसको खाका कोर्न पनि चिन्तित छ । उनले भने, “समृद्ध मधेसका लागि दुवै दलका घोषणापत्रलाई अध्ययन गरी समान र महत्वपूर्ण प्रकृतिका कार्यक्रमलाई साझा कार्यक्रम बनाइनेछ ।”
जनताले समृद्ध मधेस बनाउन पनि जनादेश दिएकाले मिलेर सरकार बनाइनेछ । यसका लागि पार्टी एकीकरण र सरकार बनाउने काम सँगसँगै अघि बढ्नेछ । राजपाले घोषणापत्रमा जनतासमक्ष १५ बुँदे प्रतिबद्धता अगाडि सारेर चुनावमा भाग लिएको थियो ।
मधेस बाढीपहिरोबाट सर्वाधिक पीडित हुने गरेकाले यसको समाधानका लागि कार्यक्रम तय गरिने बताउँदै सुमनले भने, “हरेक वर्ष तराई–मधेसको समथर मैदानमा आउने बाढीको स्थायी समाधानका लागि वैज्ञानिक योजना बनाएर बृहत बाँध र कल्भर्ट निर्माण, वर्षायामको पानीको उचित निकास, चुरे–भावरको प्रभाकारी संरक्षण एवं व्यापक वृक्षरोपणको कार्यक्रम सञ्चालन गरी तराई–मधेसका जनतालाई यस प्रकोपबाट सधैँको लागि मुक्त गर्न सशक्त कार्यक्रम सञ्चालन गर्नेछ ।” मधेसका किसानहरूले कृषिउपजलाई बजारसम्म पुर्याउन समस्या खेप्दै आएको बताउँदै उनले भने, “हुलाकीमार्ग, थप सडक सञ्जाल र रेलसेवाको विस्तार हाम्रो प्राथमिकता हुनेछ । तराई–मधेसमा सहज आवागमन र सर–सामानको ढुवानीको लागि हुलाकी मार्गलाई यथाशीघ्र सम्पन्न गरी थप सडक सञ्जालको निर्माण गरिने छ । पूर्व–पश्चिम राजमार्गको समानान्तर आधुनिक रेलमार्गको निर्माण र विस्तार गरिनेछ ।”
तराई–मधेसका पर्यटन क्षेत्रको विस्तार गर्न काठमाडौलाई जोड्ने द्रुतमार्गको योजनालाई तदारूकताका साथ अघि बढाइने बताउँदै सुमनले भने, “काठमाडौँ निजगढ द्रुतमार्ग र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पर्यटन क्षेत्रको विकासका लागि महत्वपूर्ण छ । काठमाडांै–निजगढ द्रुतमार्गको पूर्ण सदुपयोग र अधिकतम आर्थिक प्रतिफल प्राप्त गर्न निजगढको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि मात्र हुने भएकाले राजपा नेपालको प्रयास यी दुवै योजना एकैचोटि र यथाशीघ्र सम्पन्न गर्न कार्यक्रम तय गरिनेछ ।”
प्रदेश नम्बर २ को महत्वपूर्ण नगर जनकपुर धार्मिक दृष्टिकोणले महत्वपूण रहेको भन्दै सुमनले भने, “जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन स्थल एवं विश्व हिन्दूकेन्द्रका रूपमा विकास गर्न हामी ठोस कार्यक्रम गर्नेछौं । जनकपुरको बृहत् र चौतर्फी विकासका लागि दक्ष र अनुभवी विशेषज्ञहरूको सहयोगमा आधुनिक गुरुयोजना तयार गरी जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन र अध्यात्मिक केन्द्रका रूपमा विकास गरिने छ । जनकपुर विमानस्थललाई सुरुमा क्षेत्रीय र पछि अन्तर्राष्ट्रिय आधुनिक विमानस्थलका रूपमा स्तरोन्नति गरिनेछ ।”
देशकै प्रमुख आर्थिक कारोबारको नगर प्रदेश नम्बर २ मै रहेको वीरगन्जलाई प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास गरिने बताउँदै उनले भने, “वीरगन्ज नेपालको आर्थिक कारोबार र व्यापारको प्रमुख केन्द्र भएको सबैमा विदित छ । वीरगन्जलाई आधुनिक सहरका रूपमा विकास गर्दै यसलाई बैंकिङ, बिमा, सेयर कारोबार र अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाइनेछ । नयाँ उद्योग खोल्न निजी क्षेत्रलाई आकर्षित गर्ने सेवा, सुविधा र छुटको योजना बनाइनेछ । वीरगन्जलाई विश्वका अन्य व्यापारिक र आर्थिक कारोबार हुने सहरहरूसँग सरकारी स्तरमै जोडिनेछ ।”
यसका अतिरिक्त मधेसका लागि विराटनगर, भैरहवा र नेपालगन्जको विकास पनि महत्वपूर्ण भएको भन्दै उनले भने, “निर्वाध विद्युत् आपूर्ति, औद्योगिक निकासको व्यवस्थापन, औद्योगिक सडकको निर्माण एवं स्तरोन्नति, श्रमिक विकास, प्राविधिक प्रशिक्षण र राजनीतिक हस्तक्षेपको समाप्ति आदि दिशामा ठोस कार्य गर्दै तिनको संवद्र्धन र थप विस्तारका कार्यक्रमहरू बनाइनेछ । राजविराज, सिरहा, जलेश्वर, मलंगवा, गौर, कलैया, नवलपरासी, तौलिहवा, नेपालगन्ज, तुलसीपुर, गुलरिया र महेन्द्रनगरमा एकीकृत सहरी विकास कार्यक्रम लागू गरी आधुनिक सहरको निर्माण गरिनेछ ।”
“मधेसको अर्को पहिचान लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध केन्द्रका रूपमा विकास गर्ने गुरुयोजना तय गरिनेछ । लुम्बिनीको विकासमा ढिलो भएका योजना र निर्माण कार्यहरूलाई यथाशीघ्र सम्पन्न गरिनेछ र सुरु नभएका कार्यक्रमलाई अविलम्ब प्रारम्भ गरिनेछ,” सुमनले भने, “राजनीतिक हस्तक्षेपलाई निरुत्साहित गरिनेछ । सुस्त गतिमा निर्माण हुँदै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।”
आजको युग सूचना–प्रविधिको विकाससँग अघि बढीरहेको भन्दै सुमनले भने, “सूचना प्रविधि र इन्टरनेट सेवाको विस्तार ः सूचना प्रविधि र इन्टरनेटको सेवा उपलब्ध नभएको वा गुणस्तरीय नभएका ठाउँहरूमा आवश्यक नीति तर्जुमा गरी सुलभ र सस्तो इन्टरनेट सेवा उपलब्ध गराइनेछ । सरकारी र सार्वजनिक रूपमा संचालित माध्यमिक, उच्च माध्यमिक एवं व्यावसायिक शिक्षा केन्द्रहरूमा निःशुल्क इन्टरनेटको व्यवस्था गरिनेछ ।”
युवाका लागि युवामैत्री कार्यक्रमलाई प्रभावकारी बनाएर उच्च शिक्षा र वैदेशिक रोजगारीमा जान चाहने युवाहरूका लागि बिनाधितो ऋण उपलब्ध गराइनेछ । बैंक तथा वित्तीय संस्थाहरूलाई कुल ऋण प्रवाहको कम्तीमा १५ जना युवाको नयाँ कारोबार (स्टार्ट–अप) को योजनामा लगानी गर्नुपर्ने व्यवस्था गरिनेछ । विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा आधुनिक क्रिकेट मैदानको निर्माण गरिनेछ । त्यसमध्ये कुनै दुईलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने स्तरको रंगशालाका रूपमा विकास गरिनेछ ।
“आधा आकाश ढाकेको महिलाका लागि हरेक तहको उच्च शिक्षा निःशुल्क गरिनेछ,” उनले भने, “घोषणापत्रमा उल्लेख गरिएको हरेक नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा रु. १० हजार अनुदान दीर्घकालीन मुद्दती खाता खोली बैंकमा जम्मा गरिनेछ, जुन बालिका १८ वर्ष पुगेपछि आवश्यकताअनुसार ब्याजसहितको एकमुस्ट रकम प्रयोग गर्ने सक्नेछन् । कम्तीमा १० प्लस २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मङ्गलसूत्र वा सो बराबरको रकम प्रदान गरिने विषयलाई सरकार बनेपछि सुनिश्चित गरिनेछ । ”
मधेस देशकै अन्नभण्डारका रूपमा परिचित छ । किसानमैत्री कार्यक्रमलाई प्रभावकारी बनाउँदै जाने बताउँदै उनले भने, “कृषिक्षेत्रको आधुनिकीकरण, नयाँ प्रविधिको प्रयोग, पैदावारको औद्योगिकीकरण, मल–खाद्यको सस्तो र सहज उपलब्धता, उत्पादन वृद्धि र विविधीकरण, सरलीकृत कृषि ऋण तथा नयाँ बजार विस्तार आदि उपायहरू अवलम्बन गर्दै किसानको जीवन सुखद बनाउनुका साथै देश विकासमा कृषिक्षेत्रको योगदानलाई वृद्धि गरिनेछ ।” गरिबीको चपेटामा रहेको जनताका लागि राहत उपलब्ध गराउन गरिबीको रेखामुनि रहेका अति विपन्न नेपालीको जीवनलाई थप कष्टकर हुनबाट बचाउन त्यस्ता हरेक नेपालीको पहिचान गरी तिनलाई सहुलियत मूल्यमा चामल र अन्य दैनिक सामग्री सहज उपलब्ध गराउने व्यवस्था गरिने उनले जनाए । आफ्नो स्रोतसाधनले यी कार्यक्रम पूरा हुन कठिनाइ हुने भएकाले वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति निर्माण गरिने बताउँदै उनले भने, “वैदेशिक लगानी आकर्षण र निजी क्षेत्र प्रोत्साहनका लागि विधिको शासन, नीतिगत स्थिरता, प्रभावकारी अनुगमन, वैदेशिक लगानीको वातावरण निर्माण, राजनीतिक हस्तक्षेपबाट मुक्ति र यथेष्ट प्रोत्साहन प्रदान गरिनेछ । निजी क्षेत्रको विकास, विस्तार र राष्ट्र निर्माणमा योगदान गर्ने सहज स्थितिको सिर्जना गरिनेछ ।”
सुमनले यी सबै कार्य गर्न दुई पार्टीको एकीकरण महŒवपूर्ण भएको र एकीकरण भई छाड्ने विश्वास व्यक्त गरे । उनले भने, “एकीकरण हुन्छ–हुन्छ ।” तर यसका कतिपय कार्य पूरा गर्न केही समय भने लाग्छ । यो कार्यमा गति तीव्र पार्न कम्तीमा एक साताको समय लाग्ने उनले जनाए ।
संघीय समाजवादी फोरमका नेता लालबाबु राउतले पनि पार्टीले पाएको जनादेशअनुसार जनताको विकास र समृद्धिका लागि आफूहरू मिलेर लाग्ने बताए । यसका लागि समानुपातिक निर्वाचनको अन्तिम परिणाम पर्खनुपर्ने अवस्था रहेको भन्दै उनले मुख्यमन्त्री को बन्ने भन्ने अहिले निर्णय भइनसकेको बताए ।