दक्षिण अफ्रिकी सुन्दरी मिस युनिभर्स «

दक्षिण अफ्रिकी सुन्दरी मिस युनिभर्स

दक्षिण अफ्रिकाकी २२ वर्षीय सुन्दरी डामी लेगा नेल पिटर्स यस वर्षको ‘मिस युनिभर्स’ घोषित भएकी छिन् । मिस युनिभर्सको ताज जित्ने उनी ५७ औं प्रतियोगी हुन् ।
गतवर्ष फ्रान्सकी आइरिस मित्तेनायरले मिस युनिभर्सको उपाधि जितेकी थिइन् । पिटर्सले यस वर्ष विश्वका ९२ सुन्दरीलाई उछिन्दै ‘मिस युनिभर्स’ बन्न सफल भएकी हुन् । उक्त प्रतियोगितामा पहिलो रनरअप कोलम्बियाकी लाउरा गोन्जालेज भइन् भने दोस्रो रनरअपको उपाधि जमैकाकी डाभिना बेनेटले जितिन् ।
अमेरिकाको लस भेगासस्थित एलेक्सेस थिएटरमा भएको उक्त प्रतिस्पर्धामा कोलम्बियाकी लाउरा गोन्जालेज, जमैकाकी डाभिना बेनेट, दक्षिण अफ्रिकाकी डामी लेगा नेल पिटर्स, थाइल्यान्डकी मारिया पुनलेर्टरार्प र भेनेजुयलाकी केइसी सियागो टप–५ मा प्रवेश गर्न सफल भएका थिए ।
नेपाल, कम्बोडिया र लाओसले पहिलोपल्ट ‘मिस युनिभर्स’मा भाग लिएका थिए । नेपालकी नग्मा श्रेष्ठ पहिलो चरणबाट बाहिरिएकी थिइन् । तर, ‘मिस यूनिभर्स’ मा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी श्रेष्ठ उत्कृष्ट ‘इभिनिङ गाउन’ स्पर्धाको लोकप्रियभित्र पर्न सफल भएकी थिइन् ।
उनी अस्ट्रेलियाकी ओलिभिया रोजर्स, इजिप्टकी फराह सेडकी, फिनल्यान्डकी मिचेला सोडेरहोल्म, फ्रान्सकी एलिसिया आइलियस, बेलायतकी आना बुर्डेजी, कोरियाकी सेवे च्यो, लेबनानकी जाना साडे र माल्टाकी टिफानी पिसानीसँगै लोकप्रियको सूचीमा समावेश भएकी थिइन् ।

मिस युनिभर्स
मिस युनिभर्स वार्षिक रूपमा हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो, जुन मिस युनिभर्स संगठनद्वारा सञ्चालन गरिन्छ । मिस वल्र्ड र मिस अर्र्थको साथमा मिस युनिभर्स विश्वको सबैभन्दा महत्वपूर्ण सुन्दरी प्रतियोगिता हो । मिस युनिभर्स पहिलो पटक सन् १९२६ मा सञ्चालन गरिएको थियो । यो प्रतियोगिता सन् १९३५ सम्म वार्षिक रूपमा आयोजना भएको थियो । सन् १९४५ को द्वितीय विश्वयुद्धका कारण मिस युनिभर्स बन्द भएको थियो । त्यसपछि ७ वर्षपछि १९५२ मा फेरि सुरु भएको थियो ।
सन् १९५५ मा पहिलोपटक मिस युनिभर्स प्रतियोगितालाई टेलिभिजनबाट प्रसारण गरिएको थियो । सीबीएसले सन् १९६० मा मिस युनिभर्स र मिस युएसए संयुक्त रूपमा प्रसारण गरेको थियो । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् १९९६ मा आईटीटी कर्पोरेसनसँग मिस युनिभर्स इन्क खरिद गरेका थिए । ट्रम्पले केही वर्ष सीबीएससँगको प्रसारण रोकेका थिए ।
१९९८ मा मिस युनिभर्स इन्कले आफ्नो परिवर्तन गरी मिस युनिभर्स अर्गनाइजेसन राख्यो । यसको प्रधान कार्यालय पनि लस एन्जेल्सबाट न्युयोर्क सिटीमा सारियो । सन् २००२ मा ट्रम्पले यस प्रतियोगितालाई एनबीसीसँग संयुक्त रूपमा आयोजना गर्न थाले । सन् २००३ देखि २०१४ सम्म अमेरिकामा यसलाई एनबीसीले प्रसारण गरेको थियो ।

नेपालबाट नग्मा पहिलोपटक मिस युनिभर्समा सहभागी
नेपालको सर्वाधिक चर्चित ब्युटी प्याजेन्ट मिस नेपालको आयोजना गर्दै आएको संस्था द हिडन ट्रेजरले आफ्नो २२ आंै तथा मिस नेपालको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठ पहिलो मिस युनिभर्स नेपाल घोषित भएकी थिइन् । उनलाई राजधानीको अन्नपूर्ण होटलमा आयोजित वार्षिकोत्सव समारोहमा द हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले शीरमा ताज लगाइदिँदै मिस युनिभर्स नेपाल घोषणा गरेका थिए ।
६६ औं मिस युनिभर्सको आयोजना अमेरिकाको लास भेगासमा नोभेम्बर २६ मा भएको थियो । जसमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्व गरेकी थिइन् । मिस नेपाल आयोजना भएको २३ औं वर्ष पुगिसक्दा पनि अहिलेसम्म मिस युनिभर्समा नेपालबाट सहभागिता भने भएको थिएन ।
पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्न जाँदै गर्दा नग्माले नेपालीहरूको विश्वास र जिम्मेवारी नभुलेको बताएकी थिइन् । पछिल्लो समय सन् २०१७ को मिस नेपाल आयोजना गरेसँगै द हिडन ट्रेजरले नेपालबाटै मिस युनिभर्समा सहभागी हुन पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थसमेत रहेकी नग्मालाई उक्त टाइटल दिँदै मिस युनिभर्समा पठाउने निर्णय गरेको थियो ।
ट्रेजरले ‘मिस नेपाल २०१७’को समापनसँगै ‘मिस युनिभर्स’को विशेष अधिकार प्राप्त भएअनुरूप नग्मालाई ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट सहभागीको रूपमा पठाउने निर्णय गरेको थियो ।
चीनमा सन् २०१६ मा भएको ‘मिस युनिभर्सिटी २०१६ प्रतियोगिता’मा उनी तेश्रो भएकी थिइन् । इजिप्टमा सम्पन्न ‘मिस इको युनिभर्स २०१६’मा उनी ‘बेस्ट टुरिजम भिडियो’को विजेतासमेत बनेकी थिइन् । सन् २०१२ की मिस अर्थ नग्मालाई द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले ताज पहि¥याएर ५ वर्षपछि मिस युनिभर्स नेपाल घोषणा गरेका थिए ।

३ किलोको ताज
उनले त्यहाँ हुने राष्ट्रिय पोशाक प्रतियोगितामा ३ किलोको ताज शिरमा लाएकी थिइन् । विजय महर्जनले डिजाइन गरेको धार्मिक महत्व बोक्ने ‘मण्डला’ उनले प्रस्तुत गरेकी हुन् । मण्डलासँगै नग्माले लगाउने लुगालाई भने बिना घलेले डिजाइन गरेकी थिइन्, जसले ग्रिन तारा (भृकुटी)को पहिचान झल्काएको थियो ।

प्रतिक्रिया दिनुहोस्