वडा कार्यालयबाटै राजस्व संकलनको तयारी «

वडा कार्यालयबाटै राजस्व संकलनको तयारी

दाङ- दाङको घोराही उपमहानगरपालिकाले वडा कार्यालयबाटै कर संकलन गर्ने तयारी गरेको छ । नागरिकलाई सहजरुपमा सेवा राजस्व बुझाउने व्यवस्था गर्न वडा कार्यालयबाटै राजस्व संकलन गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाले नगरका १८ वटै वडा कार्यालयमार्फत अनलाइनबाट राजस्व बुझ्ने गरी तयारी थालेको हो । आगामी भदौभित्रै सबै वडाबाट अनलाइनबाटै राजस्व बुझाउन सकिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।
त्यसका लागि १८ वटै वडा कार्यालयमा इन्टरनेटको सुविधा पु-याइसकिएको छ । त्यसैगरी कम्प्युटरको समेत व्यवस्था गरिएको चौधरीले बताए । हाल उपमहानगरपालिकाले आफ्नो कार्यालय तथा वडा नं. १० बाट मात्र अनलाइनबाट राजस्व बुझ्ने गरेको छ । भने केही दिन मै वडा नं. ४, ५ र ७ बाट पनि अनलाइनबाट राजस्व वुझाउने व्यवस्था गरिने नगरप्रमुख चौधरीले बताए । नगरको १९ नम्बरमा भने चालू आर्थिक वर्षमा वडा कार्यालयबाटै अनलाइनबाट राजस्व बुझ्ने नसकिने उपमहानगरपालिकाले जनाएको छ । सो स्थानमा लिखितरुपमा भए पनि राजस्व बुझ्ने व्यवस्था गरिने भएको छ । “सबै वडाका नागरिकलाई आफ्नै वडामा राजस्व बुझाउन पाउने व्यवस्था गर्न थालेका छौं,” नगर प्रमुख चौधरीले भने ।
उपमहानगरपालिकाले वडाबाटै राजस्व बुझ्न कर्मचारीलाई तालिमसमेत दिइरहेको छ । कर्मचारीलाई बिहान–बेलुकाको समयमा तालिम दिइने गरेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्