कर्मचारी र सर्भेयरको मिलेमतोमा गलत काम हुने गरेको सुनिन्छ

बिमा सर्भेयर संघ स्थापनाको १५ वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको छ । सर्भेयरहरूको हक, हित र विकासका लागि स्थापना भएको संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ ।
सर्भेयर बिमाका अभिन्न अंग हुन् । पछिल्लो समयमा सर्भेयरप्रति मानिसहरूको आकर्षण बढ्दै गएको छ । विशेषगरी भूकम्पपछि सर्भेयरको अनुमति लिनेको संख्या बढेको देखिन्छ । यसले विदेशबाट सर्भेयर झिकाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । सर्भेयरको संख्या बढे पनि समस्या भने ज्यूँको त्यूँ रहेको सर्भेयरहरूको गुनासो छ । नियमनकारी निकायले सर्भेयरको समस्यालाई अझै सम्बोधन नगरेको उनीहरूले बताउँदै आएका छन् । यसै विषयमा ग्लोबल एसिस्टेन्स नेपालका प्रबन्ध निर्देशक पुष्पदास श्रेष्ठसँग गरिएको कुराकानी ।
नेपालमा अहिले सर्भेयरको अवस्था कस्तो छ ?
अहिले नेपालमा नै सर्भेयर उत्पादन भइरहेका छन् । यही कारण विदेशी सर्भेयरमा भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यद्यपि केही समय अगाडिसम्म पनि मानिसहरू बिमा सर्भेयरतर्फ खासै रुचि राख्दैनथे । त्यसैले सामान्य दाबीको सर्भेका लागि नेपाली सर्भेयरलाई खटाए पनि ठूलो दाबीको लागि विदेशी सर्भेयर नै बोलाउने चलन थियो । तर, भूकम्पपछि भने सर्भेयरप्रति मानिसको रुचि बढेको देखिन्छ । संख्यात्मक वृद्धि भए पनि गुणात्मक रूपमा भने वृद्धि हुन नसकेको अहिलेको अवस्था छ ।
नेपालमा अझै पनि दक्ष सर्भेयरको अभाव छ भन्ने सुनिन्छ नि ?
हो, नेपालमा अझै पनि दक्ष सर्भेयरको उपलब्धता छैन । त्यो भन्दा हामीकहाँ एउटा सारै नराम्रो अभ्यास छ । त्यो भनेको जुनसुकै सर्भेयरले पनि जुनसुकै क्षतिको मूल्यांकन गर्ने । यो एकदम गलत अभ्यास हो । अन्य मुलुकमा यस्तो प्रचलन छैन । जस्तै, आँखाको बिरामीलाई मुटु विशेषज्ञले चेकअप ग¥यो भने के समस्या पत्ता लगाउला । हामी सजिलै अनुमान गर्न सक्छौं । पक्कै पनि मुटुको डक्टरले आँखाको उपचार गर्न सक्दैन । त्यसैगरी मेकानिकल इन्जिनियरिङ गरेको डक्टरले आगलागीको मूल्यांकन गर्नै सक्दैन । यो सामान्य कुरा हो । तर, नेपालमा भने यो कुरा कसैले बुझेको देखिंदैन वा बुझेर पनि बुझ पचाएको हुन सक्छ किनभने यहाँ जुनसुकै क्षेत्रको दक्षता भएका सर्भेयरले जुनसुकै पनि क्षतिको मूल्यांकन गरेको देखिन्छ । जस्तै, अटोमोबाइल इन्जिनियरिङ गरेको सर्भेयरलाई मोटरसम्बन्धी विशेष ज्ञान हुन्छ । उसको दक्षता भनेको मोटर नै हो । तर, यहाँ त्यस्ता सर्भेयरले आगलागीको, भूकम्पको, घरको जुनसुकै क्षतिको पनि मूल्यांकन गर्ने गरेको पाइन्छ । यसरी गरेको मूल्यांकन प्राविधिक रूपमा ठिक नभएको भेटिएको छ जसका कारण कम्पनी र बिमित दुवै घाटामा पर्ने गर्छन् । तसर्थ बिमा समितिले सर्भेयरको विशेषज्ञताको आधारमा उसले सर्भे गर्ने क्षेत्र पनि छुट्टाइदिनु पर्छ ।
सर्भेयरका समस्याहरू के के हुन् ?
नेपालमा सर्भेयरको समस्या पनि उत्तिकै छन् । कम्पनीहरूले समयमा पारिश्रमिक नदिनु, कम्पनीहरूले जस्तोसुकै सम्पत्तिको पनि बिमा गरिदिनु, बिमाको बारेमा बिमितलाई पहिले नै जानकारी नदिनुलगायतका थुप्रै समस्या छन् । त्यो भन्दा पनि समितिले सर्भेयरलाई विभिन्न वर्गमा विभाजन गरेको छ । सर्भेयर लाइसेन्स लिएको अवधिको आधारमा क, ख, ग, घ वर्गमा विभाजन गरेको छ । साथै लाइसेन्स लिएको वर्षको आधारमा सर्भेयरको वर्ग पनि बढाउँदै लैजाने व्यवस्था छ जसका कारण निष्क्रिय सर्भेयर पनि क वर्गमा पुग्ने गरेका छन् । समितिको यस्तो प्रावधानले सर्भेको अनुभव शून्य भएको सर्भेयर पनि क वर्गमा पुग्ने गरेका छन् । त्यसैले लाइसेन्स लिएको अवधिभन्दा पनि काम गरेको अनुभवको आधारमा सर्भेयरको वर्ग बढाउनु पर्छ ।
सर्भेयरहरू आर्थिक प्रलोभनमा परेर गलत मूल्यांकन गर्ने गरेको सुनिन्छ नि ?
हो, मैले पनि यस्तो घटना सुनेको छु । सर्भेयरहरूलाई प्रभावमा पारी गलत मूल्यांकन गर्न लगाउने गरेका घटना सुनिन्छन् । कतिपय अवस्थामा कम्पनीको दाबी विभाग र सर्भेयरको मिलेमतोमा नै गलत काम हुने गरेको पाइन्छ । तर, हाम्रो समयमा सायदै यस्ता घटना हुन्थे । यदि सर्भेयरले निष्पक्ष मूल्यांकन गर्ने हो भने कसैले पनि फाइदा उठाउन सक्दैन ।