फुटबल खेलाडी बन्ने निशानको चाहना अधुरै

आमा म एकछिन खेलेर आउँछु है भन्दै प्रायः फुटबल खेल्न जाने काठमाडौँ महानगरपालिका–३२ काँडाघारी टाउन प्लानिङस्थित चमेली खड्काको ११ वर्षीय छोरा निशान खड्काको फुटबल खेलाडी बन्ने सपना अधूरै बनेको छ ।
स्कूलमा पनि फुटबलमा नै रुचि राख्ने र स्कूलबाट घर आएपछि पनि प्रायः खेल्न जाने बालक निशान शनिबार र बिदाको दिनमा पनि फुटबल खेल्नै दौडन्थे । आइतबार अपराह्न पनि त्यस्तै नै भयो । मृतक निशानका मामा रामकाजी सापकोटाका अनुसार आइतबार पनि स्कूल छुटेर उनी करीब सवा ४ बजे सिधै आमा चमेलीले सञ्चालन गरेको खाजा पसलमा आए ।
किताबको झोला पसलभित्र राख्दै स्कूल पोशाक खोलेर विश्व कपका बेलामा किनेको अर्जेन्टिनाको टिसर्ट लगाएर आमाले दिएको खाजा खाए । त्यसपछि वैदेशिक रोजगारीमा मलेशिया गएका बाबु गणेश खड्काले फोन गर्छु भनेकाले बाबुसँग कुरा गर्न पाइने भो भनेर मख्ख थिए ।
निशान अपहरण भएको दिनमा मात्रै अपहरणकारी सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङ तीन पटक पसलमा आएका थिए । घरमा रंग लगाउने काम गर्दै आएका यी दुवैले विगत तीन वर्षदेखि चमेलीकै खाजा पसलमा नियमित खाजा खाने गर्थे ।
उधारो खाजा खाने र कहिलेकाहीँ रकमसमेत सापट्टी चल्ने गरेको अपहरणकारीले चमेलीसँग लिएको ऋणसमेत नतिरी उल्टै छोरा अपहरण गरेर हत्या गरेका छन् । त्यस दिन पनि छोराले कर गरेकाले चमेलीले छोरा निशान र अपहरणकारी गोपाललाई मोबाइल किन्न पठाइन् । निशानकै साइकलमा दुबै गए र एक हजार २०० मा मोबाइल किनेर ल्याएपछि गोपाल आफैँले मोबाइलमा सिम राखिदिए ।
त्यसपछि निशानले आमालाई खेल्न जान्छु है आमा भनेर गयो । “आमासँग खेल्न जान्छु भनेर बिदा लिएको त्यो क्षण उसको अन्तिम बिदाइ बन्नपुग्यो,” मामा सापकोटाले भन्ने । छोरा खेल्न गएको केही क्षणपछि दुवै अपहरणकारी पनि पसलबाट निस्किए । सधैँ साढे ७ बजेसम्म खेलेर घर फर्कने निशान त्यस दिन साढे ८ बजेसम्म पनि नफर्किएपछि आमाले छिमेकीतिर खोजी गर्नुभएको थियो । छिमेकीमा टिभी पो हेर्दै छ कि भनेर सोधीखोजी गर्दै गर्दा करीब ९ बजे चमेलीको नयाँ फोनमा घण्टी बज्यो ।
फोन उठाउने बित्तिकै अपहरणकारीले तेरो छोरा हाम्रो कब्जामा छ, छोरा चाहिने भए ४० लाख ठीक पार, प्रहरीलाई खबर गरिस् भने ठीक हुन्न’ भनेर फोन राखिदिएको चमेली बताउँछिन् । पछि पटक पटक यताबाट फोन गर्दा पनि अपहरणकारीको फोन नउठेको र स्विच अफ छ भनेपछि आत्तिएकी उनले छिमेकी र नजिकै रहेको माइतीलाई बोलाएकी थिइन् ।
बच्चा अपहरण भएको हल्लाखल्ला भएपछि छिमेकीले १०० मा फोन गरिदिएको केही बेरमै काँडाघाडी प्रहरी बिटबाट प्रहरी आयो भने त्यसको केही समयपछि महानगरीय प्रहरी अपराध महाशाखाका टोली आएको थियो । मृतक बालकका मामा भन्छन्, “पैसा दिन्छौँ कहाँ भेट्नेसम्म पनि भन्न पाइएन, पछि फोन नै नगरी भाञ्जाको हत्या गरे अपराधीले ।” प्रहरीको विभिन्न टोली बनाएर खोजी कार्यलाई रातभरि तीव्रता दिएको बताउँदै उनले आफैँ पनि राति ३ बजेसम्म एउटा टोलीमा बसेर भाञ्जाको खोजी गरेको बताए ।
प्रहरीको अनुसन्धानअनुसार खाजाघरमा चमेलीले अपहरणकारीकै अगाडि मलेशियाबाट श्रीमानले पैसा पठाइदिएको सुनाएका थिए । प्रहरीका अनुसार चिनजानकै व्यक्ति भएकाले अपहरणकारीसँग सजिलै उनीहरुको कोठामा पुगेका निशानकै अगाडि फिरौती रकम मागेपछि निशान कराएर चिच्याएको र पछि अपहरणको पोल खुल्ने डरले हत्या गरेका हुन् । हत्यापछि लवटकै निर्माणाधीन घरको डिपिसीभित्र गाडेर फरार भएको र खोजी गर्ने क्रममा सूर्यविनायक जंगलमा प्रहरीको गोली लागि दुवै अपहरणकारीको मृत्यु भएको थियो ।
उता स्थायी घर मेलम्ची नगरपालिका–९ दोबाटो रातामाटामा रहेका निशानका हजुरबुबा दुर्गाबहादुर खड्का र आफन्त पनि शोकमा डुबेका छन् । नातिको हत्याको खबरले हिजो दिउँसैदेखि हजुरबुबा निकै पीडामा रहेको र आज मेलम्चीबाट काठमाडौँ आइपुगेका परिवारका सदस्यले बताए । हिजो राति चमेलीलाई माइती घर लगिएको छ । चमेलीले होटल चलाउँदै आएको स्थानभन्दा केही माथि काँडाघारीमै बस्दै आएका माइतीमा पुगेपछि पनि चमेली र माइतीपक्ष शोकले रातभर जागै छन् ।
चमेलीका बुबा मीनप्रसाद सापकोटा आफैँ सम्हालिन सकेका छैनन् । नातिको सपना अधुरै भो भन्दै आफैँ रुँदै छोरीलाई सम्झाउने प्रयास गरिरहेका छन् । आज भने शवपरीक्षण गर्नुपर्ने भएपछि परिवारका अधिकांश व्यक्ति र टोल छिमेकका केहि व्यक्ति शिक्षण अस्पताल पुगेका थिए ।
यता कक्षा ६ मा निशान पढ्दै आएको स्कूल हाइल्याण्ड इङलिस स्कूल पनि आज बन्द गरिएको छ । आफ्नो स्कूलको विद्यार्थीको अपहरण गरी हत्या गरेको शोकमा स्कूल बन्द गरिएको प्रधानाध्यापक प्रल्हाद खड्काले बताए । मृतक निशानका बाबु गणेश बिहीबार नेपाल आएपछि बालकको सोहिदिन नै दाहसंस्कार गरिने उनका परिवारले जनाएको छ ।