द्वन्द्वको मारमा लाखौँ बालबालिका : युनिसेफ «

द्वन्द्वको मारमा लाखौँ बालबालिका : युनिसेफ

दक्षिण सुडानका लाखौँ बालबालिकाले उक्त मुलुकमा विगत चार वर्षदेखि जारी हिंसाको सिकार बन्नुपरेको संयुक्त राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि कार्यरत निकाय (युनिसेफ) ले जनाएको छ ।
द्वन्द्वप्रभावित बालबालिकामा कुपोषण, विभिन्न रोग, दबाबमूलक सैन्य भर्ती, हिंसा, शिक्षाबाट वञ्चित, डर र भोकमरीको सिकार बन्ने गरेका पाइएको युनिसेफले जारी गरेको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।
युनिसेफका पूर्वी तथा दक्षिण अफ्रिकी क्षेत्रीय निर्देशक लैला पाक्कलाले भने, “कुनै पनि बालबालिका कहिल्यै हिंसा वा अभावको सामना गर्नुपर्ने वातावरण बन्नु हुदैन ।”
तर पनि दक्षिण सुडानमा दैनिकजसो यस किसिमका समस्याको सामना गर्ने गरेको उनले बताए । उनीहरूलाई शान्त र सुरक्षित वातावरणको आवश्यकता पाक्कलाले भने ।
बालबालिका द्वन्द्वको सिकार बन्नुपरेको प्रतिवेदन सार्वजनिक गर्दै युनिसेफले भनेको छ, “जोखिममा परेका बालबालिका तथा महिलालाई अत्यावश्यक सहयोग वितरण गर्न सन् २०१८ का लागि १ अर्ब ८३ लाख अमेरिकी डलर बराबरको नयाँ बजेटको व्यवस्था गर्नुपर्ने भएको छ ।” उक्त सहयोग महिला तथा बालबालिकाको जीवन सुरक्षा गर्ने आधारभूत सामग्री अर्थात् रोग र भोकबाट बचाउन अतिआवश्यक रहेको निर्देशक पाक्कलाले बताए ।
असुरक्षा र सामाजिक तथा राजनीतिक उथलपुथलका कारण महिला तथा बालबालिकामा निकै चिन्ताजनक प्रभाव परेको र यो सम्पूर्ण नयाँ पुस्ताकै लागि खतराको सूचक भएको प्रतिवेदनमा उल्लेख छ ।
दक्षिण सुडानमा सन् २०१३ को डिसेम्बरमा सुरु भएको राजनीतिक संकटसँगै संयुक्त राष्ट्रसंघीय निकायले जीवन रक्षाका लागि सहयोग पठाउन सुरु गरेको हो । राष्ट्रसंघले ६ लाख जनाभन्दा बढीलाई जटिल कुपोषणबाट जोगाउन, ३३ लाख बालबालिकालाई खोपको प्रबन्ध गर्ने, ३६ लाख बालबालिकालाई प्राथमिक उपचार सेवा र १८ लाखलाई सुरक्षित पिउने पानीको व्यवस्था गर्न सहयोग गर्दै आएको छ ।
दक्षिण सुडानमा सन् २०१३ मा सुरु भएको द्वन्द्वमा परी अहिलेसम्म ९५ जना मानवीय सहायताका लागि काम गर्ने व्यक्तिको मृत्यु भएको छ भने यसै वर्ष मात्र २५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्