१० हजारले गरे स्वास्थ्य बिमा «

१० हजारले गरे स्वास्थ्य बिमा

रोल्पा-गत असोजदेखि रोल्पामा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको हो । यो कार्यक्रमबाट हालसम्म करिब १० हजार बढीले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भई सेवा लिएका बिमितहरू खुसी भएका स्वास्थ्य बिमा बोर्ड रोल्पाले जनाएको छ ।
जिल्लाको ३ वटा स्वास्थ्य संस्था जिल्ला अस्पताल, रेउघा, प्राथमिक स्वास्थ्य केन्द्र होलेरी र प्रथामिक स्वास्थ्य केन्द्र सुलिचौरबाट बिमाको सेवा उपलब्ध छ भने जिल्ला बाहिर जानु परेमा पनि रिफरल सेन्टरहरूबाट निःशुल्क सेवा पाउने भएपछि स्वास्थ्य बिमा गरेका गरिब तथा विपन्न परिवारहरू थप उत्साहित बनेका छन् । स्वास्थ्य बिमा गरिसकेपछि अस्पतालबाट पाइने सेवा र औषधि खर्च मात्र नभई एम्बुलेन्स सेवामा समेत सहुलियत दिने व्यवस्था भएमा थप प्रभावकारी हुने स्वास्थ्य बिमा गरेका सदस्यहरूले बताएका छन् ।
“औषधि मात्र नभई केही प्रतिशत भए पनि एम्बुलेन्स सेवामा पनि छुट हुने हो भने धेरै राम्रो हुन्थ्यो,” रोल्पा नगरपालिका–१० धबाङका गिरीराज थापाले भने दुर्गममा अस्पताल टाढा भएकाले सेवा लिन आउँदा–जाँदा बढी गाडी भाडा लाग्ने गरको छ । स्वास्थ्य बिमाका लागि पाँच जनाको परिवारले वार्षिक २५ सय तिनुपर्ने हुन्छ । त्यो रकम तिरेबापत ५० हजारसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा पाइन्छ । पाँच जनाभन्दा बढीको परिवारले प्रतिसदस्य ४ सय २५ का दरले थप प्रिमियम तिर्नुपर्ने हुन्छ ।
स्वास्थ्य बिमा गरेपछि एकै चोटी ठूलो आर्थिक भार नपर्ने भएकाले सेवाग्राहीहरू सन्तुष्ट रहेको स्वास्थ्य बिमा बोर्ड रोल्पाका जिल्ला संयोजक गोविन्द पार्धे क्षेत्रीले बताए । रोल्पामा हालसम्म स्वाथ्य बिमाबाट ५२ लाख १४ हजार २ सय ८५ रुपैयाँ प्रिमियम रकम जम्मा भएको उनले जानकारी दिए । स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुच पुराउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमबाट विशेषगरी दीर्घ रोगका कारण समस्या भोग्दै आएका विपन्न नागरिकहरू लाभान्वित बनेको बिमा बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्