प्यूठान अण्डामा आत्मनिर्भर
व्यावसायिक कुखुरापालन बढेसँगै प्यूठान अण्डामा आत्मनिर्भर भएको छ । जिल्ला पशु सेवा कार्यालय प्यूठानका अनुसार आर्थिक वर्ष ०७४-०७५ मा १ करोड ९ लाख वटा अण्डा उत्पादन भएको छ । जिल्लाभर अण्डा उत्पादन गर्ने उद्देश्यले एक दर्जन बढी व्यावसायिक कुखुरा फार्म सञ्चालनमा छन् ।
“पछिल्लो वर्ष जिल्ला अण्डामा आत्मनिर्भर रहँदै आएको छ,” पशु सेवा कार्यालय प्यूठानका वरिष्ठ पशु विकास अधिकृत शरण पाण्डेले भने, “व्यावसायिक कुखुरा फार्ममा आकर्षण बढेसँगै जिल्ला अण्डामा आत्मनिर्भर हुन सफल भएको हो ।” छोटो समयमै राम्रो आम्दानी पाउन थालेपछि व्यावसायिकहरू लेयर्स कुखुरापालनमा आकर्षित भएको उनको भनाइ छ । एक व्यक्तिलाई वार्षिक ४८ वटा अण्डाको मापदण्ड रहेको उनले जानकारी दिए ।
जिल्लाको सरुमारानी गाउँपालिकाअन्तर्गत वाङ्गेशाल क्षेत्र व्यावसायिक कुखुरा पालनमा अब्बल मानिन्छ । यस क्षेत्रमा मात्रै आधा दर्जन लेयर्स जातका कुखुरा फार्म सञ्चालनमा छन् । फार्ममा ५ हजारदेखि १० हजारसम्म कुखुरापालन गरिँदै आएको छ । उत्पादनको झन्डै ५० प्रतिशत अण्डा यही क्षेत्रबाट उत्पादन हुँदै आएको छ । ९ हजार कुखुरा फार्ममा रहेको सरुमारानी एग्रो फार्मका सञ्चालक दानबहादुर जिसी बताउँछन् । “दैनिक ६ हजार ५ सय अण्डा उत्पादन हुँदै आएको छ” जिसीले भने, “रोल्पा र प्यूठानमा अण्डा बिक्री हुँदै आएको छ ।” १ करोड २७ लाख ५० हजार लगानीमा २५ जना सेयर सदस्यले फार्म सञ्चालन गरेको उनले बताए । अण्डा खरिदका लागि फार्ममै ग्राहक आउने गरेको उनको भनाइ छ । “बिक्रीलाई त्यति समस्या छैन । फार्ममै गाडी लिएर अण्डा खरिद गर्न ग्राहक आउँछन्,” उनले भने ।
जिल्लाको बाङ्गेशालसहित हंसपुर, दाखाक्वाडी, पुण्यखोला, बाँदिकोट, खैरा, मरन्ठाना, खलंगालगायत क्षेत्रमा लेयर्स जातको कुखुरा फार्म सञ्चालनमा रहेका छन् । उत्पादित अण्डा प्यूठान र रोल्पाको बजारसहित अर्घाखाँची, गुल्मी, बुटवलसम्म पु-याइने गरेको छ ।
प्रज्वल पहाडी