दयनीय बन्दै सुकुम्वासी शिविर

धनगढी–१७ धुरझन्ना शिविरका सुकुम्वासी परिवारको अवस्था दयनीय बन्दै गएको छ । गोदावरी–७ हरैया शिविरका सुकम्वासी परिवारलाई धुरझन्ना शिविरमा स्तानान्तरण गराउँदा बेरोजगारीको संख्या बढेर अवस्था दयनीय बन्दै गएको हो ।
हरैया शिविरमा हुँदा सुकुम्वासी परिवारका पुरुष तथा महिला रोजगारीका क्रममा नजिकैको अत्तरिया बजारमा धाउने गर्थे । हरैया शिविरबाट स्तानान्तरण गराउँदा सुकम्वासी परिवारलाई दैनिक गुजारा टार्नसमेत हम्मेहम्मे भएको छ । उक्त शिविरनजिकै शिवगंगा नदी छ । शिवगंगा नदीको पानीको बहाव प्लास्टिकको छानो लाईनबद्ध रूपले लगाएका घर–टहरासम्म पुग्ने गर्छ । साउने झरीमा ओत लाग्नसमेत सकस भएको धुरझन्ना शिविरकी अध्यक्ष हरिना बोहरा बताउँछिन् । कुन दिन शिविर नै शिवगंगा नदीले बगाउँछ कि भन्ने डरले त्रसित रहेको बताइन् ।
“यस शिविरमा विभिन्न जातजाति समुदायका मानिस बस्ने गर्छन्, सबैको आ–आफ्नो पहिचान, आफ्नै सिपकला छ । उक्त कला तथा सिपरुलाई उत्पादन गरेर बजारमा निर्यात गर्न सकिरहेका छैनौं,” उनले भनिन्, “हरैया शिविरमा हुँदा मासिक २०–३० हजार रुपैयाँ आम्दानी गरेको स्मरण गरिन् ।” उक्त आम्दानीले परिवार पाल्न सहज पुगेको थियो ।
प्रदेश सरकारकै सहमतिमा धुरझन्ना शिविर स्तानान्तरण गराउँदा बालबच्चा पढ्दै आएको विद्यालयसमेत छुटेको छ । सुकम्वासी हटाउ हरैया शिविरका अभियन्ता गौरी जोशीले धुरझन्ना शिविरमा जाने शिविरका बालबालिकालाई भर्ना गराउने आश्वासन दिए तापनि अहिले आएर टालटुल गर्न खोजेको शिविरवासीको भनाइ छ । गोदावरी नगरपालिका बडेहामा पर्ने शैलेश्वरी माध्यमिक विद्यालयले पैसा तिर्न नसकेका कारण सर्टिफिकेट दिएको छैन ।
स्वास्थ्य, खानेपानी, विद्युत्लगायतका मानिसका जीवनमा आवश्यक पर्ने अपरिहार्य चिजबाट आफूहरू वञ्चित रहेको सुकम्वासी शिविरकी राजेश्वरी ढुंगानाको गुनासो छ ।
“प्रदेश सरकारकै सल्लाहअनुसार हामीलाई यहाँ बसालियो, अहिले वास्ता गरिरहेको छैन । हामी नै अच्चम्मा छौं,” ढुंगानाले भनिन्, “हरैया शिविरमा हुँदा दैनिकजसो राजनीतिकदलका नेता, जनप्रतिनिधिहरू आउँथे, तर अहिले कसैले फर्केर हेरेको छैन । हामी पनि त यो देशका नागरिक हौं । आम जनतालाई गरे जस्तो व्यवहार प्रदेश सरकारले हामीलाई पनि गर्नुपर्ने उनको भनाइ छ ।”
कास्की पोखरा–लेखनाथ महानगरपालिका–८ न्यूरोडस्थित प्रधान कार्यालय रहेको सौभाग्य रियल स्टेट एण्ड हाउजिङ कम्पनी प्रालिले हरैया शिविरको जग्गाको वारेसनामा बाजुरा ब्रह्मतोला वडा नं.८ जन्म स्थान भएका हाल घोडाघोडी नगरपालिका वडा नं.१ बस्ने गौरी प्रसाद जोशी सम्झौता कागजमा प्रथमपक्ष भनी लेखिएको छ । सम्झौता कागजमा दोस्रोपक्ष भनिएका प्रथमपक्षलाई अख्यितारी दिनेको नाममा दर्ता श्रेस्ता रहेको जिल्ला कैलाली गोदावरी नगरपालिका–७ को कित्ता नं.१६७, १६८, १६९, १७०, १७१, १०, २२, २४, २३, २०३, ३७० र ५०० कित्ता जग्गामा हामी दोस्रो पक्षको जग्गा विगत केही वर्षदेखि अनधिकृत ढंगले बसोबास गर्दै आइरहेकोमा हामी दुवै पक्ष सहमत रहेको जनाएको छ ।
सँग–सँगै धनगढी उपमहानगरपालिका–१७ का शंकर कार्कीको नाममा दर्ता श्रेष्ता रहेको धुरझन्नाको कित्ता नं.१४९, १५०, १५२ र ३६१ जग्गामा घर बनाई बसोबास गर्ने अनुमति दिएको सम्झौतामा भनिएको छ । सम्झौमा पत्रमा दोस्रो पक्षका लागि वडा नं. १७ को उल्लेखित कित्तामा प्रथमपक्ष अर्थात् गौरीप्रसाद जोशीले अस्थायी टहरा शौचालय र खानेपानी व्यवस्थाको बुँदा राखिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले ३ बिघा जग्गा लिएर १÷१ कठ्ठा दिने भनेर प्रशासनमा दुवै पक्ष आएर बोधार्थ दिएका थिए । त्यसपछि के भइरहेको छ । यसका बारेमा जानकारी नै नभएको उनले बताए । उनले प्रशासनबाट हुने सहयोग धुरझन्ना शिविरका सुकम्वासीलाई सहयोग गर्न तत्पर रहेको जानकारी दिए ।
–हिमेश विक