Logo

स्वच्छ ऊर्जामा लगानी

लागत र लगानीकै कारण ठूला जलविद्युत् आयोजना र तिनको प्रसारणलाइनभन्दा लघु तथा साना जलविद्युत् आयोजना तथा अनग्रिड र अफग्रिड सौर्य विद्युतीकरण आयोजना नै उपयुक्त ठहराउने गरिएको छ ।

विश्वभरि नै स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने बहस चलिरहँदा नेपालमा भने यस किसिमका ऊर्जा प्रयोग गर्न थालिएकै एक शताब्दी भइसकेको छ । यद्यपि, यसबारे राष्ट्रिय नीति स्पष्ट नहुँदा अझै पनि परम्परागत ऊर्जाका स्रोतहरूमा निर्भरता अत्यधिक छ । आर्थिक सर्वेक्षण–२०७५ अनुसार आर्थिक वर्ष २०७३/७४ मा देशको कुल ऊर्जा खपतमा परम्परागत ऊर्जाको हिस्सा ६८.९ प्रतिशत, व्यापारिक ऊर्जाको हिस्सा २७.९ प्रतिशत र नवीकरणीय ऊर्जाको हिस्सा ३.२ प्रतिशत मात्र छ । यसमध्ये पेट्रोलियम पदार्थजस्ता व्यापारिक ऊर्जाको हिस्सा लगातार बढ्दै गएको देखिन्छ । यही अध्यययनले कुन जनसंख्याको करिब १८ प्रतिशत जनसंख्यामा नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत् पहुँच पुगेको तथा ३१ प्रतिशत परिवारले विभिन्न प्रयोजनमा स्वच्छ नवीकरणीय ऊर्जा प्रयोग गरेको देखाएको छ । यसको सोझो अर्थ के हो भने नवीकरणीय ऊर्जाको स्रोतमा हाम्रो पहुँच अझै कमजोर नै छ । हाल नेपालको ग्रामीण भेगका हरेक १० परिवारमध्ये ३ परिवार विद्युत् आपूर्तिको अभावका कारण अँध्यारोमा बस्न बाध्य हुनुले हाम्रा राष्ट्रिय प्रयासहरू कमजोर भएको देखाउँछ । कुल विद्युत् उपभोगको करिब ४६ प्रतिशत घरासयी भएको देखिए पनि यो केबल बत्ती बालेर उज्यालो पार्ने प्रयोजनमा मात्र सीमित छ । जसले गर्दा ऊर्जाका परम्परागत स्रोतमाथिको निर्भरता घट्न नसकेको हो । खाना पकाउने प्रयोजनका लागि तरलत ग्यास (एलपीजी)को आयात हरेक वर्ष बढ्दो क्रममा छ, त्यसले समग्र आयातको बिल बढाउनमा समेत भूमिका खेलिरहेको छ ।
भारतीय नाकाबन्दीका समयमा विद्युत्बाट चल्ने इन्डक्सन चुल्होदेखि हिटरको प्रयोगसमेत बढेकोमा पेट्रोलियम पदार्थको सहज आपूर्तिसँगै त्यो बन्द भयो । त्यसपछि विद्युत्को आपूर्तिसमेत निरन्तर हुँदासमेत यसको बहु–उपयोगका सन्दर्भमा आमनागरिक सचेत नहुँदा त्यसको प्रतिकूल प्रभाव देखिदै गएको छ । एकथरि आलोचकहरू भारतबाटै आयातित विद्युत्को भरमा ऊर्जाको अन्य स्रोतको प्रयोगका विकल्पको बहस निरर्थक भएको टिप्पणी गर्ने गर्छन् । तर, यस्तो टिप्पणी पूर्णतः नकारात्मक ग्रन्थिबाटै उब्जने बहससिवाय अरू केही होइन । नवीकरणीय ऊर्जाका स्रोतहरूको अत्यधिक उपयोगले व्यापारिक इन्धनको आयात कम गराइ व्यापारघाटा नियन्त्रणमा सघाऊ पुराउने मात्र होइन, वातारणीय प्रतिकूल प्रभावहरू नियन्त्रणमा समेत योगदान दिइरहेको हुन्छ । त्यसैले विश्वभरि नै स्वच्छ नवीकरणीय ऊर्जाको प्रयोग बढाउनुपर्ने विषयलाई सहस्राब्दी विकास लक्ष्यदेखि दिगो विकास लक्ष्यमा समेत समेटिएको छ ।
बायोग्यास, सुधारिएको चुलो, लघुजलविद्युत्, सौर्य र वायुऊर्जामात्र स्वच्छ ऊर्जाको प्रयोगमा विगत दुई दशकभन्दा लामो अवधिदेखि चालिएका कदमहरूको अब देखिने गरी प्रतिफलसमेत प्राप्त हुन थालेको छ । नेपालको भौगोलिक अवस्था, छरिएका बस्ती संरचना र अन्य सहायक कारणहरूले देशका सबै भूभागमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुराउन तत्काल सम्भव पनि छैन । लागत र लगानीकै कारण ठूला जलविद्युत् आयोजना र तिनको प्रसारणलाइनभन्दा लघु तथा साना जलविद्युत् आयोजना तथा अनग्रिड र अफग्रिड सौर्य विद्युतीकरण आयोजना नै उपयुक्त ठहराउने गरिएको छ । नवीकरणीय ऊर्जाको प्रयोगले उल्टै कार्बन बिक्री गरी देशले आयआर्जनसमेत गरिरहेकाले यस्तो ऊर्जाको प्रयोग बढाउनका लागि थप प्रयास अघि बढाइनु अपरिहार्य भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्