बाँकेमा एचआईभी÷एड्सका बिरामी बढे «

बाँकेमा एचआईभी÷एड्सका बिरामी बढे

बाँकेमा एचआईभी-एड्सका बिरामी बर्सेनि बढ्दै गएका छन् । आर्थिक वर्ष २०७३–०७४ को असार मसान्तसम्म बाँकेमा ९६२ जना एचआईभी संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
एचआईभी एड्सकै कारण हालसम्म जिल्लामा ११३ जना संक्रमितको मृत्यु भएको तथ्यांक सो कार्यालयको छ । बाँकेमा तेस्रो लिंगीमा समेत एचआईभी संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका एचआईभी एड्स फोकल पर्सन रामबहादुर चन्दका अनुसार १३ जना तेस्रो लिंगी, ५३५ पुरुष र ४१४ जना महिलालाई एचआईभी संक्रमण भएको छ । उनले बाँकेमा २६ जना बालबालिकामा समेत एचआईभी संक्रमण भएको जानकारी दिए ।
“असुरक्षित यौनसम्पर्क र सुई, सिरिन्जबाट लागूऔषध प्रयोगकर्ता एचआईभीको उच्च जोखिममा छन्,” चन्दले भने, “कामका लागि विदेश गएकाबाट पनि एचआईभी सरेको पाइएको छ ।”
उनले ३९४ जना एचआईभी संक्रमितले मात्र जिल्लामा एआरटी सेवा लिइरहेको बताए । समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेकाहरू एआरटी सेवाबाट बञ्चित भएको उनले जानकारी दिए ।
एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनुपर्ने भएकाले केही संक्रमितले सेवा लिन नमानेको फोकल पर्सन चन्दको भनाइ छ । “सेवा लिइरहनुपर्ने भएकाले केहीले झन्झट मान्छन्,” उनले भने । उनले एआरटी र पीएमटीसीटी सेवा लिन छुटेका एचआईभी संक्रमितलाई समेट्न सरकारले विशेष नीति अवलम्बन गरेको बताउँदै सरकारले ९०–९०–९० नीतिलाई अगाडि बढाएको जानकारी दिए ।
सन् २०२० सम्म उपचारबाट वञ्चित ९० प्रतिशतलाई सेवा प्रदान गर्ने, ९० प्रतिशत सर्वसाधारणको एचआईभी जाँच गर्ने र ९० प्रतिशतलाई संक्रमणको बारेमा जानकारी दिने नीति सरकारले अघि सारेको उनले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काले सरकारी नीतिअनुसार बाँकेका प्रत्येक गर्भवतीको एचआईभी जाँच गरिँदै आएको जानकारी दिए । उनले गर्भ जाँच गराउन आउने महिलाको अन्य जाँचसँगै एचआइभी जाँच गरिएको बताए ।
भेरी अञ्चल अस्पतालले एचआईभी संक्रमितलाई निःशुल्क उपचार सेवा दिएको भेरी अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर चन्दको भनाइ छ ।
विशेषगरी भारतबाट काम गरेर फर्किने नेपालीहरूमा धेरै एचआईभी एड्सको संक्रमण देखिएकोले सीमानामा सचेतना फैलाउने अभियान सञ्चालन गरिएको र विभिन्न गैरसरकारी संस्थामार्फत लागु औषध प्रयोगकर्तालाई पनि सचेत पार्ने र औषधी नियमित सेवन गराउने अभियान चलाइएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्