रोल्पा सिमेन्ट उद्योग बन्द «

रोल्पा सिमेन्ट उद्योग बन्द

रोल्पा– रोल्पा सिमेन्ट उद्योग तत्कालका लागि बन्द भएको छ । उद्योगमा काम गर्ने स्थानीय टिपर व्यवसायीहरूले अनिश्चितकालका लागि टिपर सञ्चालनमा अवरोध ल्याएपछि बन्द भएको हो । स्थानीय टिपर व्यवसायीहरूको आन्दोलनका कारण टिपरहरू सञ्चालनमा नआउँदा उद्योगलाई सञ्चालनमा ल्याउन कठिनाइ आएको उद्योगले जनाएको छ ।
रोल्पाको त्रिवेणी गाउपालिका ३ कोइलामा रहेको सिमेन्ट उद्योग र स्थानीय टिपर व्यवसायीहरूबीच गत असार २६ गते दुई पक्षको सहमतिमा उद्योगभित्र काममा लगाउने सहमति भएको थियो । जिल्ला समन्वय समितिका संयोजक, राजबहादुर बूढा, प्रमुख जिल्ला अधिकारी गन्जबहादुर एमसी, प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँल त्रिवेणी गाउपालिकाका अध्यक्ष शान्तकुमार ओली र अन्य वडा अध्यक्ष र स्थानीय टिपर व्यवसायीहरूबीच स्थानीयका टिपरहरूलाई उद्योगमा काम दिनुपर्ने सहमति भएको थियो ।
दुई दिनभित्र सहमति कार्यान्वयन गर्ने भनिए पनि अहिलेसम्म उद्योगले स्थानीयहरूको टिपरलाई काम नदिएपछि बन्द गर्नु परेको स्थानीय टिपर व्यवसायी भुप नारायण केसीेले बताए । आफूहरूले आपसी सहमतिका लागि पटक–पटक उद्योगमा जाँदासमेत बेवास्ता गर्ने गरेको केसी बताउँछन् । स्थानीयहरूको १० वटा टिपर छन् । योभन्दा अगाडि यी टिपरहरूले राप्ती माइनिङ कन्ट्रक्सनको काम गर्ने गरेका थिए ।
रोल्पा सिमेन्ट उद्योगका प्रशासन प्रमुख टेकबहादुर गुरुङले दुवै पक्षको बीचमा भाँडादरमा कुरा नमिलेकाले स्थानीयहरूको टिपर प्रयोगमा ल्याउन नसकेको बताए । भाँडामा सहमति भएमा स्थानीहरूको टिपर प्रयोग गर्न आफूहरू तयार छौं । उनले भने, “टिपर व्यवसायीहरूले आबु खैरेनी सम्मको भाँडा ३ हजार ५ तोेकेका छन् । उद्योगले २ हजार २ सयसम्म दिन सक्ने भने पछि समस्या उत्पन्न भएको उनी बताउँछन् ।”
वर्षाको समय भएकाले सिमेन्टको खपत नभएको विद्युत्को समस्याका कारण प्रशस्त मात्रामा सिमेन्ट उत्पादन नभएको लगायतका कारण पनि सबै टिपरहरू कम्पनीले प्रयोग गर्न नसक्ने उद्योगले जनाएको छ । दाङको अमेलियामा डिपोमा पनि खुला ठाउँ भएकाले वर्षात्को समयमा क्लिंकर बगेर जाने समस्या रहेको उद्योगले जनाएको छ । अहिले उत्पादन भएको सिमेन्ट पनि स्टक रहेको उद्योगले जाएको छ । विगत १५ दिन यता विद्युत् अवरुद्ध भएकाले जेनेरेटरबाट उद्योग सञ्चालन भएको छ । कपुरकोटदेखि कोइलासम्मको कच्चीसडकमा गाडी राम्रोसँग चल्न नसक्दा समस्या आएपछि उद्योग घाटामा रहेको जनाएको छ ।
दाङदेखि उद्योगसम्म आफैले विस्तार गरेको विद्युत्मा पिनहरू पुरानो भई विद्युत् अवरोध हुने समस्या भएकाले सो काम विद्युत् प्राधिकरणले नगरेकाले उक्त काम पनि आफैंले गर्नु परेको गुरुङको भनाइ छ । १५ दिनयता जेनेरेटरबाट उद्योग २४ घण्टा चलाउँदा ७ लाख रुपैयाँ खर्च भएको छ ।
यी यावत् समस्याका कारणले पनि सबै टिपरहरू प्रयोगमा ल्याउन नसकेको हो । आवश्यक पर्ने टिपरहरू उद्योगहरूसँग पनि छ ।

प्रतिक्रिया दिनुहोस्