ऊर्जामन्त्रीलाई उपभोक्ताले सोधे द्वन्द्वकालको बिजुलीको बक्यौता के गर्ने ? «

ऊर्जामन्त्रीलाई उपभोक्ताले सोधे द्वन्द्वकालको बिजुलीको बक्यौता के गर्ने ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई उपभोक्ताले द्वन्द्वकालको विद्युत्को बक्यौता तिर्ने नतिर्नेबारे प्रश्न उठाएका छन् ।
द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले विद्युत्को रकम नतिर्न उर्दी जारी गरेको र कतिपय ग्राहकको बक्यौता अझै बाँकी रहेको बेला पूर्वमाओवादी नेता र हाल नेकपाका नेता पुनलाई यो प्रश्न उठाएका हुन् । शुक्रबारदेखि मन्त्री पुनले सुरु गरेको प्रत्येक शुक्रबारको हटलाइनमार्फत उपभोक्तासँग प्रत्यक्ष कुराकानीको क्रममा रामे ढकालले द्वन्द्वकालमा विद्युत्को पैसा नतिर्ने भनेको के गर्ने भनेर प्रश्न उठाएका थिए भने मन्त्री पुनले यसबारे मन्त्रालयले निर्णय गर्ने बताएका थिए । हटलाइनमा उपभोक्ताले विशेषगरी चमेलियाको खोलामा बाढी पसेकोदेखि विद्युत् कार्यालयमा फोन नउठ्नेसम्मका समस्या सुनाएका थिए । पोल ढलेर समस्या भएको, ट्रान्सफर्मर क्षमता बढेको, हाइटेन्सन लाइनको समस्या, दुई वर्षदेखि पोल गाढे पनि बिजुली नबलेको, अरुण तेस्रोमा रोजगारीकबो अवसर दिनुपर्ने, ट्रान्सफर्मरको समस्या रहेको, तमोर जलाशययुक्त आयोजनाको मुआब्जा, विद्युत् प्राधिकरणको ज्यालादारी समस्याका साथै नेपालमा भ्रष्टाचार अन्त्य कहिले हुन्छ लगायतबारे गुनासो गरेका थिए । काठमाडौंका साथै काभ्रे, गोरखा, तेह्रथुम, वीरगञ्ज, गुल्मी, संखुवासभा, सप्तरीका साथै दुबईबाट समेत मन्त्री पुनलाई जिज्ञासा राखेका थिए । मन्त्री पुनले प्रत्यक्ष कुराकानीको क्रममा राखेको जनगुनासो मन्त्रालयका साथै सम्बन्धित निकायबाट समाधान गर्ने प्रयास गर्ने बताएका थिए ।
झण्डै एक वर्ष अघिदेखि ऊर्जा क्षेत्र मन्त्रालय र यसको मातहतका नेपाल विद्युत प्राधिकरण र विद्युत् विकास विभागलगायतका सेवाबारे उपभोक्ताको गुनासो सुन्नका लागि हटलाइन सेवा गरेकोमा शुक्रबारदेखि मन्त्री आफैं प्रत्यक्ष कुराकानीमा संलग्न हुन थालेका छन् । प्रत्येक शुक्रबार १२ बजेदेखि १ बजेसम्म उपभोक्ताहरूको गुनासो तथा जिज्ञासाबारे निःशुल्क हटलाइन नम्बर ११५१ का साथै ०१–४२००६४१/४२ मा प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्