Logo

एडीबीको सहयोगमा सञ्चालित ऊर्जा आयोजनाको प्रगति न्यून

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण भइरहेका ऊर्जाका आयोजनामा प्रगति न्यून देखिएको छ ।
राजधानीमा एडीबीले आयोजना गरेको सन् २०१८ को दोस्रो त्रैमासिकको त्रिपक्षीय समीक्षा बैठकमा ऊर्जातर्फका आयोजनाहरूको प्रगति न्यून देखिएको हो । ऊर्जा, पुनर्निर्माण, सहरी विकास तथा खानेपानी, शिक्षा, यातायात, कृषिलगायतका आयोजनाका लागि एडीबीमार्फत अघि बढेका आयोजनाहरूको पोर्टफोलियो २ हजार ३३९ मिलियन डलर अर्थात् करिब २ खर्ब ३३ करोड रहेकोमा ऊर्जातर्फ मात्र ५४ अर्ब ३० करोड रुपैयाँ छ ।
पूर्वाधारसँग सम्बन्धित १० आयोजनामा ऊर्जातर्फका दुई आयोजनाहरूको खर्च न्यून देखिएको छ । समीक्षा बैठकमा एडीबीका पोर्टफोलियो म्यानेजमेन्ट युनिटका अफिसर इन्चार्ज नरेन्द्र चन्दका अनुसार २ आयोजनातर्फ सन् २०१८ मा करिब ५ अर्ब ५ करोड अर्थात ५०.८ मिलियन डलर खर्च गर्ने लक्ष्य तथा दोस्रो त्रैमासिक लक्ष्य २ अर्ब ८६ करोड १० लाख रहेकोमा करिब १ अर्ब ६० करोड ७० लाख खर्च भएको छ । चन्दका अनुसार सन् २०१८ मा १५८.५ मिलियन डलर अर्थात् १५ अर्ब ८५ करोड बराबरका आयोजनाहरूको ठेक्का सम्झौता गरिसक्ने लक्ष्य र दोस्रो चौमासिकभित्र ५८.१७ अर्थात् ५ अर्ब ८१ करोड ७० लाख ठेक्का गर्ने लक्ष्य राखिएकोमा ४.९३ मिलियन डलर अर्थात् ४९ करोड ३० लाखमात्र भएको छ । जुन लक्ष्यभन्दा ५ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ बराबर कम हो । एडीबीको तथ्यांकअनुसार १ अर्ब २५ करोड ४० लाख रुपैयाँ बराबर खर्च कम भएको छ ।
खर्चतर्फ तनहुँ जलविद्युत् आयोजनाले दोस्रो त्रैमासिकमा करिब ६२ करोड ७० लाख खर्च गर्ने लक्ष्य राखेकोमा ५ करोड ८० लाखमात्र खर्च भएको एडीबीले जनाएको छ । त्यसैगरी सासेक पावर सिस्टम एक्पान्सनतर्फ २ अर्ब २३ करोड ४० करोड खर्च गर्ने लक्ष्य रहेकोमा १ अर्ब ५४ करोड ९० लाख रुपैयाँ खर्च भएको छ । तनहुँ जलविद्युत्को प्याकेज–१ को ठेक्का दिन तथा प्रसारणलाइनतर्फ थानकोट–चापागाउँ–भक्तपुर प्रसारण लाइनको चापागाउँमा जग्गा प्राप्तिमा ढिलाइ भएको एडीबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्