नेपाल बैंक प्युठानको नाफा १ करोड «

नेपाल बैंक प्युठानको नाफा १ करोड

प्युठान-नेपाल बैंक लिमिटेड प्यूठान शाखाले ४ गुणाले नाफा वृद्धि गरेको छ । आर्थिक वर्ष ०७३/७४ को तुलनामा गत आर्थिक ०७४/७५ मा नाफामा उल्लेख्य वृद्धि गरेको हो । आर्थिक वर्ष ०७४/७५ मा १ करोड २ लाख ७५ हजार ८ सय रुपैयाँ नाफा गरेको बैंकका शाखा प्रबन्धक नरेन्द्रकुमार मिश्रले बताए । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा बैंकले २६ लाख २५ हजार रुपैयाँ नाफा गरेको थियो ।
बैंकको कर्जा प्रवाह र निक्षेप संकलनमा उल्लेख्य वृद्धि हुँदा नाफा वृद्धि भएको उनले बताए । “बैंकले प्रदान गर्ने सेवा सुविधालाई सेवाग्राही मुखी बनाउँदै लगिएको छ,” प्रबन्धक मिश्रले भने, “यसले ग्राहकलाई सहज सेवासँगै बैंकको नाफा वृद्धिमा समेत टेवा पुगेको छ ।” बिजुवारमा सञ्चालन गरिएको ‘एक्टेनसन काउन्टर’ बाट सेवा प्रवाह गर्दा निक्षेप संकलनमा उल्लेख्य वृद्धि आएको उनले बताए । “झन्डै ७० प्रतिशत कारोबार एक्टेनसन काउन्टरबाट हुँदै आएको छ,” प्रबन्धक मिश्रले भने, “व्यापारिक केन्द्र समेत रहेकोले शाखा कार्यालय भन्दा ग्राहकको भीड बढी हुन्छ ।”
बैंकका सेवासुविधाबारे आवश्यकता अनुसार ग्राहकको घरमै पुगी जानकारी प्रदान गरिँदै आएको उनले बताए । अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा कर्जा प्रवाहको अन्तर बढी नरहे पनि आर्थिक वर्षको सुरुवातमै कर्जा प्रवाह बढी हुँदा ब्याज रकम वृद्धि भई नाफा वृद्धिमा उल्लेख्य सुधार आएको उनले बताए । अघिल्लो आर्थिक वर्ष ०७३/७४ मा १९ करोड ५८ लाख कर्जा प्रवाह भएकोमा गत आर्थिक वर्ष ०७४/७५ मा बैंकले १९ करोड ८४ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सबैभन्दा बढी व्यावसायिक कर्जा प्रवाह भएको प्रबन्धक मिश्रले जानकारी दिए । “व्यावसायिक कर्जामा मात्रै ९ करोड ६० लाख लगानी थियो,” उनले भने । बैंकले ८५ लाख रुपैयाँ कृषि कर्जा प्रवाह गरेको छ । बैंकको १ अर्ब १ करोड ८ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन छ । अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ५ करोड वढी हो ।
जनशक्तिको कमीले ‘एटीएम’ सेवा सञ्चालनका लागि समस्या रहेको उनले बताए । “कर्मचारी अभावले एटीएम सेवा सञ्चालन गर्न सकिएको छैन,” उनले भने, “एउटै शाखाका कर्मचारीबाट एक्स्टेनसन काउन्टरबाट सेवा प्रवाह गर्दा समस्या भएको हो ।” शाखाको ९ जना कर्मचारी दरबन्दीअनुसार २ जना कर्मचारी दरबन्दी रिक्त छ ।

 

प्रतिक्रिया दिनुहोस्