मार्सी मोह : माग बढ्दो, उत्पादन घट्दो «

मार्सी मोह : माग बढ्दो, उत्पादन घट्दो

जुम्लाको कुल धान खेत हुने क्षेत्रफल २ हजार ९ सय ५० हेक्टरमध्ये ३ सय हेक्टरमा काली मार्सी उत्पादन हुन्छ ।

जुम्ली मार्सी धान, चामलको चर्चा चुलिंदो छ । बजारमा माग निकै बढेको बताइन्छ । काली मार्सीको व्यापार गर्नेले अहिले यो चामलको मागअनुसार बजार आपूर्ति गर्न सकेका छैनन् । काठमाडौंमा व्यापार गर्दै आएका जुम्लाका शिव न्यौपानेले मार्सीको माग उच्च रहेको सुनाए । पसलमा मात्र होइन, किसानले पनि अहिले यो धान, चामलको भाउ महँगो लगाएका छन् ।
झापाका दुर्गा प्रसाईंले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई जुम्ली मार्सीको भान्सासहितको ‘किचन क्याबिनेट बैठक’ गराइदिएको गर्वका साथ भन्दै आएका छन् । उता, भर्खरै आफ्नो पछिल्लो अनशन तोडेका चिकित्सक डा. गोविन्द केसीले पनि काली मार्सीको ‘भोजन’ गरेर अनशन सुरु गरेका थिए ।
यी घटनाक्रम काली मार्सी धानले पछिल्लो समय पाएको ‘फेलबर’ मात्रै हुन् । खासमा नेपालमा मार्सी धान, चामलको आफ्नै इतिहास छ । आफ्नो अलगै पहिचान, विशषेता र खेती पद्धति रहेको यो अब्बल जातको धान हो । कर्णालीलगायत जुम्लाको गरिमासँग जोडिएको मार्सी चामलको इतिहास निकै पुरानो छ । किंवदन्तीअनुसार झन्डै १ हजार वर्षअघि चन्दननाथ मन्दिरको स्थापना भएदेखि जुम्लीले काली मार्सी धानको खेती सुरु गर्न थालिएको पाइन्छ । १०९८ सालमा भारतबाट चन्दननाथ बाबाले जुम्ला तातोपानीको लाछुज्युलोमा रहेको सानो फोक्टामा जुम्ली मार्सी धान रोप्न थालिएको इतिहास पाइन्छ । यही परीक्षणपछि १११२ सालदेखि भने व्यापक रूपमा जुम्ली काली मार्सी धानखेती गर्न सुरु गरिएको हो । अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा चढाउने प्रचलन छ ।
जुम्लामा धानखेती बेसी क्षेत्र (समुद्र सतहबाट २ हजारदेखि २ हजार २ सय मिटर), मध्यक्षेत्र (२ हजार २ सयदेखि २ हजार ८ सय मिटर) र उच्च क्षेत्र (२ हजार ८ सयदेखि ३ हजार ५० मिटर) मा हुने गरेको छ । वि.सं. १९०४ मा जंगबहादुर प्रधानमन्त्री हुँदा हुलाकबाट प्रतिदिन एक माना चामल पठाउने गरेको विभिन्न दस्तावेजमा उल्लेख छ । काली मार्सी चामल पठाउने क्रम २००७ सालमा मोहनशमशेरको पालासम्म जारी थियो । तत्कालीन कल्याल राज्यको व्यवस्थापनमा मार्सी धानको अनुसन्धान थालिएको स्थानीय बूढापाकाहरू बताउँछन् ।
यो धान बाली संसारको सबैभन्दा उच्च स्थान २७ सय ९० मिटर पातारासी गाउँपालिकाको छुुमचौर ज्युलोमा फल्छ । गुठीचौर र बुँग्रामाडीचौरबाहेक प्रायः सबै गाउँमा यो धानको उत्पादन हुँदै आएको छ । जुम्लाको कुल धान खेत हुने क्षेत्रफल २ हजार ९ सय ५० हेक्टरमध्ये ३ सय हेक्टरमा काली मार्सी उत्पादन हुन्छ । जिल्लाको सबैभन्दा उच्च स्थान छुम्चौर र हाकुमा पनि यो धानको खेती गरिन्छ ।
जुम्लामा प्रतिकिलो १ सय २० देखि १ सय ३० रुपैयाँसम्म पर्ने यो चामल काठमाडौंमा भने २ सय ५० रुपैयाँसम्म बिक्री भइरहेको छ । काली मार्सी प्रजातिको चामल लोपोन्मुखमध्येको एक हो । चिसो मौसम र पानी अत्यधिक चाहिन्छ यो धानलाई । उच्च भूभागमा फल्ने, खाँदा मीठो र स्वादिलो, भण्डारण तथा संकलन गर्न सजिलो मार्सी धान प्रतिहेक्टरमा २.१ टनसम्म फल्छ
कृषि कार्यालयको तथ्यांकअनुसार १ हजार ३ सय हेक्टरमा काली मार्सी धानको खेती गरिन्छ । बर्सेनि उत्पादन क्षेत्रफल घटिरहेको कार्यालयले जनाएको छ । यद्यपि उत्पादन घटेसँगै किसानले धान लगाउन छाडेपछि काली मार्सी लोप हुने अवस्थामा छ । केही वर्ष पहिले जिल्लाको सबै खेतमा हुने काली मार्सी धानको खेती पछिल्ला वर्षमा कमी हुँदै गएको छ । पछिल्लो समय धानमा ब्लास्ट रोगको संक्रमण बढेको छ । यसैले लागतअनुसार उत्पादन कमी हुँदै गएपछि किसानले धान खेती गर्न छाडेका छन् । यो धानको बीउ चयन गर्दा पोटिला दानाको चयन गर्ने, छहारीमा सुकाउनुपर्ने हुन्छ । त्यस्तै धान रोपिसकेपछि रासायनिक विषादीको प्रयोग गर्नु हुँदैन ।
खलंगामा प्रतिकेजी १ सय ५० रुपैयाँमा बिक्री हुने यो चामल काठमाडौं, सुर्खेत र बाँकेमा प्रतिकेजी २ सय रूपैयाँमा बिक्री हुन्छ । मन्दिरमा चढाउन, होम गर्न तथा अक्षता बनाउन यसको चामल प्रयोग गरिन्छ । नेपाल खाद्य संस्थानले जुम्लाबाट स्वादिलो काली मार्सी धान खरिद गरी राजधानीमा बिक्री–वितरण गर्ने व्यवस्था मिलाएको छ ।
यो धानको चामलको माग बढे पनि उत्पादन भने निकै घट्दो छ । धानप्रति किसानको आकर्षण पनि घट्दो छ । जुम्लामा २०४४ सालदेखि धानमा विभिन्न प्रकारका रोग लाग्न थालेपछि एक मुरी खेतमा एक क्विन्टल धान उत्पादन हुने गथ्र्यो, तर पछिल्लो समयमा एक मुरी खेतमा १५ केजी धान उत्पादन हुन पनि मुस्किल परिरहेको स्थानीय बताउँछन् । यसैले धानखेतीभन्दा तरकारी खेतीमा उनीहरू आकर्षित भएको देखिन्छ ।
पछिल्लो समय जिल्लाका अधिकांश किसानले उन्नत जातकै धानखेती गर्दै आएका छन् । उन्नत जातको धान स्वादिलो, असिनाले झार्न नसक्ने, बोट होचो र उत्पादन धेरै हुने भएकाले किसानको रोजाइमा पारेका छन् । चन्दननाथ नगरपालिका–७ का लक्षिराम महत जुम्ली काली मार्सी धान लगाउन छाडेर अन्य उन्नत जातका धान खेती गरिरहेका छन् । काली मार्सीमा ब्लास्ट रोग देखिएपछि विकल्पमा उन्नत धान परेको छ । कृषि अनुसन्धान केन्द्रले पनि चन्दननाथ– १ र चन्दननाथ– ३ जातको धान सिफारिस गरेको छ ।
जुम्ली मार्सी धान पोसिलो हुनुका साथै अत्यधिक काब्रोहाइड्रेट प्राप्त गर्न सकिन्छ । निकै स्वास्थ्यवद्र्धक छ । तर, उपभोक्ताको मागअनुसार उत्पादन हुन सकेको छैन । त्यसैले विभिन्न कम्पनीले उत्पादन गर्ने, बजारमा सर्वसुलभ भेटिने सेतो चामल प्रयोग गर्नु यहाँका नागरिकको रहरभन्दा पनि बाध्यता हो ।
मरुवा रोग, ब्लास्ट रोगले सताएपछि जुम्ली मार्सी धान खेती गर्नेको संख्या घट्दो क्रममा रहेको छ । जलवायु परिवर्तनले गर्दा पनि मार्सी धानको उत्पादन घटेको छ । त्यसैले रहरभन्दा पनि सेतो चामल प्रयोगको विकल्प नभएको चन्दननाथ नगरपालिका ३ का मानवीरे सार्की बताउँछन् ।
चन्दननाथ–१ कै लक्ष्मीबहादुरले जुम्ला विमानस्थलनजिकै मार्सी चामल बिक्री गर्न थालेको पाँच वर्ष बित्यो । उनले यो वर्ष २० क्विन्टल मार्सी चामल बिक्री गरे । यसअघि यति धेरै चामल बिक्री गरेको अनुभव आफूसँग नभएको उनले बताए । “सिजा, गिडिखोला, तलिउम क्षेत्रबाट संकलन गरेर ल्याएको २० क्विन्टल मार्सी चामल सकिसक्यो । अहिले खरिद गर्न जाँदा भेटिने अवस्था छैन,” उनले भने । किसानले खेती गर्न छाड्दै गएका कारण उत्पादन घटेको उनको भनाइ छ ।
“मार्सी धानको व्यावसायिक खेती सुरु गर्न सके भविष्य राम्रो छ,” उनले भने, “तर, छोरा प्याक बोक्ने र बुहारी ब्याग बोक्ने संस्कार विकास भएपछि खेतीयोग्य जमिन बाँझिन थालेका छन् । त्यसैले माग भएजस्तो उत्पादन हुन सक्ने देखिँदैन ।” लक्ष्मीबहादुरका अनुसार यहाँको मार्सी चामल राणाकालमा राजा–महाराजालाई हुलाकबाट पठाइन्थ्यो । संसारको उच्च स्थान छुमचौरमा मार्सी धान फलेकै कारण जुम्लाको नाम विश्वसामु चिनिएको छ ।
जिल्ला कृषि विकास कार्यालय, जुम्लाका योजना अधिकृत बालकराम देवकोटा नेपाली बजारमा मार्सी चामलको माग ह्वात्तै बढेको बताउँछन् । “अहिले सदरमुकाम खलंगाका कोसेली घरमा मार्सी चामल पाइन छाडेको छ,” उनले भने, “यो वर्ष ९० टन मार्सी चामल जिल्लाबाट बाहिर पठाइसकिएको तथ्यांक छ ।”
जुम्लामा धानखेती हुने कुल २ हजार ८ सय हेक्टर जमिनमध्ये १ हजार १ सय हेक्टरमा मात्रै मार्सी धानको खेती हुँदै आएको उनले बताए । पछिल्लो समय अधिकांशले उन्नत जातको धान खेती गर्ने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्