आगामी शुक्रबारदेखि एस५ रुटमा ठूला बस चल्ने «

आगामी शुक्रबारदेखि एस५ रुटमा ठूला बस चल्ने

काठमाडौं-रुटपर्मिटका नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गतको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५)देखि सञ्चालनमा आउने भएको छ । यातायात व्यवस्था विभागले यसैसाता रुटपर्मिटलगायत प्रक्रिया मिलाइपछि बस सञ्चालनमा आउने भएको हो ।
एस ५ रुट अन्तर्गत नयाँ बसपार्क–रत्नपार्क–सिनामंगल रुटमा रहेको माइक्रोबस तथा टेम्पा विस्थापित गरी ठूला सार्वजनिक यातायात सञ्चालन हुन लागेको हो । सरकारले ‘मास ट्रान्सपोर्ट’लाई प्राथमिकता दिने गरी काठमाडौं उपत्यकामा कायम रहेको करिब २ सय सवारी रुटलाई ६६ वटामा सीमित गर्ने योजनाअन्तर्गत पहिलो पटक एस ५ रुट कार्यान्वयन हुने लागेको हो । उपत्यकामा हाल करिब ३ सय संघ/संस्था/समिति मातहतमा १०/१२ हजार सवारी दर्ताभई सञ्चालन हुँदै आएका छन् ।
एसियाली विकास बैंकको सहयोगमा बनेको काठमाडौं दिगो सहरी यातायात परियोजना (केएसयूटिपी) ले उपत्यकाको रुट परिमार्जनमा अध्ययन गरेको थियो । उक्त परियोजना अन्तर्गत पहिलो चरणमा नयाँ बसपार्क–रत्नपार्क–सिनामंगल रुट अर्थात् एस ५ रुटको कार्यान्वयन आउन लागेको हो । माइक्रोबस र ट्याम्पोसहित यो रुटमा संचालित ६६ वटा साना सवारी हटाएर १७ वटा ठूला सुविधासम्पन्न बस सञ्चालन गर्न लागिएको हो ।
नयाँ बसको रुट पर्मिट लिने काम सकिएको र बसको प्राविधिक परीक्षणलगायत सबै काम सकिएकाले बस सेवा साउन २५ गते सञ्चालनमा आउने दिगो सार्वजनिक यातायात प्रालिका सचिव लालप्रसाद गुरागाईँले बताए । “रुट पर्मिट लिने लगायत सबै काम सकिएकाले साउन २५ गतेका लागि बस सेवा सञ्चालनको मिति तय भएको छ,” उनले भने । नयाँ बस स्मार्ट कार्डबाट पैसा तिर्ने व्यवस्थासहित अपांगमैत्री हुने कम्पनीको भनाइ छ ।
योजनाअन्तर्गत अब उपत्यकामा प्राइमरी, सेकेन्डरी र टर्सरी गरि ३ वटा वर्गमा ६६ वटा रुट कायम हुनेछ । प्राइमरीमा ८० सिट क्षमताका बस सञ्चालन हुने ८ रुट, सेकेन्डरीमा ४० देखि ६० सिट क्षमताका सवारी गुड्ने १६ रुट र टर्सरीमा साना सवारी गुड्ने गरि ४२ रुट निर्धारण गरिने यातायात व्यवस्था विभागले जनाएको छ । एस ५ रुट सेकेन्डरी वर्गको हो । नयाँ बसपार्क–रित्नपार्क–सिनामंगल रुटमा हाल संचालनमा रहेको माइक्रो तथा ट्याम्पोलाई टर्सरी रुटमा संचालनका लागि रुट पर्मिट दिने सैद्धान्तिक सहमति विभागले दिएको छ ।
यो योजना कार्यान्वयनमा आएपछि उपत्यकामा ३ हजार भन्दा कम सार्वजनिक यातायातका साधन गुड्ने छन् । नयाँ रुट कार्यान्वयन गर्न भने सरकारलाई वर्षौं लाग्ने देखिन्छ । योजना बनाएको दुई वर्षमा कार्यान्वयन गरी सक्ने बताएको भए पनि पहिलो रुट परिक्षणका रुपमा कार्यान्वयन गर्न पनि दुई वर्षभन्दा बढी समय लागेको छ ।
विगतमा सरकारले मास ट्रान्सपोर्टलाई प्रथमिकता दिने बताउँदै आएपछि त्यो गफमै सीमित रहँदै आएको छ । सरकारले २०५७ मा काठमाडौं उपत्यकामा रहेको बिक्रम ट्याम्पो विस्थापित गर्ने निर्णय गरेको थियो । उक्त निर्णयसंगै ठूला सवारीलाई प्राथमिकता दिने भनिएपनि व्यवसायीको दबाब र प्रलोभनमा बिक्रम ट्याम्पोको स्थानमा माइक्रो बस भिœयाइ उपत्यकामा पुनः सना सवारीलाई प्राथमिकतना दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्