स्थानीय तरकारीले मूल्य पाएन

रोल्पा-रोल्पाका किसानले बारीभरी तरकारी फलाएका छन् । तर उनीहरू आफूले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको भन्दै चिन्तित भएका छन् । सदरमुकाम लिवाङ बजारमा आयातित तरकारी मूल्य सस्तो हुन थालेपछि स्थानीय किसान चिन्तित बनेका हुन् ।
बाहिरबाट आयात गरिएको तरकारीसँग स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न सकेको छैन । प्रतिस्पर्धा गर्न नसक्दा घाटा खाएरै व्यापार गर्नुपरेको किसानहरूको गुनासो छ । रोल्पामा १० हजारभन्दा बढी घरपरिवार कृषिमा आबद्ध छन् । “यहाँका व्यापारीले सस्तो माल आयो भने बाहिरकै किन्छन्,” मूलपानी ताजा कृषि समूह लिवाङका अध्यक्ष रुपलाल ओलीले भने, “जिल्लाका किसानले तरकारी उत्पादन गर्न धेरै खर्च गर्नुपर्ने हुन्छ, तर तराईका जिल्लाबाट आयात भएको तरकारी कम मूल्यमै उत्पादन हुन्छ ।” उनले व्यापारीहरूबाट पनि आफूहरू ठगिने गरेको गुनासो गरे । गुणस्तरीय तरकारी उत्पादन भए पनि व्यापारीले कम मूल्य दिएर बढीमा बिक्री गर्ने गरेको आरोपसमेत किसानले लगाउने गरेका छन् ।
“यहाँका किसानको उत्पादन लागत धेरै छ । तराई तथा भारतबाट आउने तरकारीको लागत कम हुन्छ,” कृषि विकास कार्यालय रोल्पाका प्रमुख लालकुमार श्रष्ठले भने, “तराईमा उत्पादन पनि धेरै हुने भएकाले सस्तो पर्छ ।” उनले सहकारी समूह मार्फत तरकारीको बजारीकरण गर्न किसानलाई सुझाव दिए ।
रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले जिल्लाका उपभोक्तालाई बाहिरबाट आएका व्यापारीले ठग्ने गरेको बताए । उनले अब गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम गर्ने सोच बनाइरहेको जानकारी दिए ।
उपभोक्ताले स्थानीय तरकारीको तुलनामा बाहिरबाट आउने तरकारी सस्तो हुने भन्दै आयातीत तरकारी किन्ने गरेका छन् । यसले पनि रोल्पाका किसान मारमा परेका हुन् । बजारमा तरकारी बिक्री हुन छाडेपछि स्थानीय उत्पादन बारीमै रहेको छ । बजारमा तरकारीको भाउ मनपरी भएपनि स्थानीय प्रशासन भने मौन छ । “हामी तरकारीको क्षेत्रमा प्रवेश नै गरेका छैनौं,” सहायक प्रमुख जिल्ला अधिकारी चुडामणी शर्मा गौतमले भने, “तरकारीको मूल्य निर्धारण गर्ने काम क्रेता र बिक्रेताको हो, त्यही भएर तरकारीको क्षेत्रमा हामी प्रवेश गरेका छैनौं ।” तरकारी कसले कहाँबाट ल्याएर बिक्री गरेको छ भन्ने कुरा पनि थाहा नहुने उनले बताए । तर, गुणस्तरहीन सामग्री बिक्रीवितरण गरेको फेला परे भने कारबाही गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
पहलमान घर्ती