एडीबीद्वारा ९ महिनापछि रकम निकासा

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ९ महिनापछि एसियाली विकास बैंक (एडीबी)ले रकम निकासा गर्ने भएको छ । राष्ट्रिय गौरबको आयोजनाको काम सन्तोषजनक नभएको भन्दै गत कात्तिकदेखि निकासा रोकेको थियो । एडीबीले बुधवार नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै पछिल्लो समय काम सन्तोषजक भएको भन्दै रकम निकासा गर्ने प्रतिबद्धतासहितको पत्र लेखेको छ ।
एडीबीको ६ अर्ब २२ करोड ऋण सहयोगमा विमानस्थल निर्माण सुरु गरिएको थियो । गत वर्ष नै सम्पन्न हुनुपर्ने विमानस्थलको काम–कारबाहीबाट असन्तुष्ट हुदैं गत कात्तिकदेखिको रकम निकासा रोकेको थियो । “बुधबारमात्रै एडीबीको चिठ्ठी आइपुगेको छ, अव रकम निकासा हुनेछ,” गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले भने । एडीबीले हालसम्म १ अर्ब ५० करोड रुपैयाँ रकम निकासा गरिसकेको समेत शर्माले जानकारी दिए ।
विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले काम सन्तोषजनक नगरेको भन्दै एडीबीले ठेकदार हटाउन समेत नेपाल सरकारलाई चेतावनी दिएको थियो । विगतमा ठेकदार कम्पनीले विभिन्न बाहानामा काम रोकेपछि एडीबीले रकम निकासा रोकेको थियो । अहिले ठेकदार कम्पनीले काम सन्तोषजनक रहेको र सन् २०१९ को जुन सम्ममा निर्माण सम्पन्न हुने जानकारी प्रमुख शर्माले जानकारी दिए । “अहिले विमानस्थलको भौतिक निर्माण प्रगति ५० प्रतिशत पुगेको छ,” शर्माले भने ।
चिनियाँ ठेकदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २६ प्रतिशत मात्रै काम सम्पन्न गरेको एडीबीले प्राधिकरणलाई पत्र लेख्दै आयोजनाबाट बाहिरिनेसम्मको चेतावनी दिएको थियो ।
कम्पनीले तीन वर्षअघि नै २०१७ को डिसेम्बर ३१ भित्र विमानस्थल निर्माणसम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । सरकारले एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरिरहेको रहेको राष्ट्रिय गौरवको आयोजना निर्माणको लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ । विमानस्थलको लागि मुआब्जाको लागि २३ अर्ब रूपैयाँ माग गरिएको छ । अहिलेसम्म ९ अर्ब वितरण गरिएको र अव बाँकी निकासा गर्र्दै जाने तयारी रहेको शर्माले जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा हेरिएको थियो । समयमा काम सम्पन्न नहुँदा नेपाल आउने र जाने हवाई यात्रुले अझै सास्ती बेहोर्दै आएको छ । गौतमबुद्ध विमानस्थलमा एयरवस ए–३४० र बोइङ–७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ । यस विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्नसक्ने गरी गुरुयोजना निर्माण भएकोे छ ।
यसैबीच, काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयले ६ वटा ट्वीनअटर विमान थप गर्ने पर्यटन मन्त्रालयको प्रस्तावमा सहमतिका लागि सर्त अगाडि सारेको छ । पर्यटन मन्त्रालयले ट्वीनअटर विमान खरिदका लागि ५ अर्ब रुपैयाँ मागेपछि अर्थ मन्त्रालयले सर्त अगाडि सारेको हो । अर्थ मन्त्रालयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्धारित समयभित्र पूरा गर्ने सर्तमा मात्र ५ अर्ब दिने बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार पर्यटन मन्त्रालय पुगेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले थप विमान धान्न नसक्ने भन्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम निर्धारित समयमा सक्ने पूर्वसर्तमा मात्र विमान थप्न रकम दिने बताए ।
अर्थ मन्त्रालयले पूर्वसर्त राखेपनि पर्यटन मन्त्रालयले भने ट्वीनअटर विमान खरिदलाई चालू आर्थिक वर्षको आफ्नो कार्ययोजनामा राखेको छ । मन्त्रालयले बिहीबार अर्थमन्त्री खतिवडा, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल तथा विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बोलाएर चालू आर्थिक वर्षभित्र ६ वटा ट्वीनअटर र दुई वटा न्यारोबडी विमान ल्याउन खरिद आदेश दिने योजना सुनाएको छ ।
निगमले हालै मात्र २२ अर्ब रुपैयाँमा वाइडबडीका दुईवटा विमान भिœयाएको निगमसँग एउटा बोइङ, न्यारोबडीका दुईवटा एयरबस र आन्तरिक उडानतर्फ नौ वटा विमान छन् ।