Logo

ऐतिहासिक सुरुङ संरक्षण हुन सकेन

ओखलढुंगा-ओखलढुंगाको चम्पादेवी गाउँपालिकास्थित विलन्दुमा ऐतिहासिक महत्व बोकेका एक दर्जनभन्दा बढी सुरुङ पुरिन थालेका छन् । पुर्खाहरूले लडाइँ लड्न र तामा निकाल्नका लागि प्रयोग गरेका सुरुङ संरक्षणविहीन हुँदा पुरिने क्रम बढेको हो ।
तत्कालीन बाइसे–चौबीसे राज्य हुँदा विलन्दु गाउँको गढीडाँडामा भीमनामक राजाले राज्य चलाएको स्थानीय बुढापाका बताउँछन् । सोही ठाउँनजिकै देवीटारमा रहेका प्रतापनामक राजासँग लडाइँ लड्नका लागि भीम राजाले निर्माण गरेको भनिएका सुरुङ अहिले अलपत्र अवस्थामा छन् ।
गढीडाँडामा रहेको सुरुङलाई भीमलदुलोका रूपमा स्थानीयले चिन्छन् । अहिले सो सुरुङको अधिकांश भाग पुरिइसकेको छ । गढीडाँडाबाट ३ सय मिटरतल रहेको खोलाबाट शत्रुसँग जोगिँदै पानी ल्याउनका लागि उक्त सुरुङमार्ग प्रयोग गरिएको कुरा बाउबाजेले सुनाएको स्थानीय वृद्ध केदारनाथ घिमिरले बताए ।
लडाइँमा संकट आइपर्दा गढीडाँडाबाट २ किमिमाथि विलन्दु गाउँको कुभिण्डे पाखामा लुक्नका लागि बनाइएको एउटा सुरुङ भने सुरक्षित छ । ५–६ जना अट्ने २० मिटर भित्रसम्म रहेको उक्त सुरुङ संरक्षणको पर्खाइमा छ । गढीडाँडामा रहेका युद्धका लागि तयार गरिएका अन्य संरचनासमेत पुरिएका छन् । तत्कालीन समयमा निर्माण भएका भवनको भग्नावशेष अझै देख्न पाइन्छ ।
यस्तै विलन्दुकै खानीगाउँमा रहेका तामाखानीका ३ वटा ठूला र अनगिन्ती साना सुरुङसमेत पुरिन थालेका छन् । साढे २ सय वर्ष अगाडि तामा निकाल्न प्रयोग गरिएका उक्त सुरुङलाई संरक्षणमा कसैले चासो दिएका छैनन् ।
खानीगाउँमा रहेका ठूला सुरुङ ३ किमिभन्दा बढी लामो रहेको स्थानीय बताउँछन् । सो गाउँको खानीखोला छेवैकै सुरुङमा भने एक सय मिटरभित्रसम्म पस्न सकिन्छ । पहरो खोपेर निहुरेर ओहोरदोहोर गर्न मिल्ने गरी बनाइएको उक्त सुरुङको भित्री भाग पुरिइसकेको छ । सुरुङको एक सय मिटरभित्र छिरेपछि ठूलो पहिरो भेटिने स्थानीय शिक्षक बलराम फुयाँलले बताए । “७ वर्ष अगाडिसम्म सुरुङमा शैक्षिक भ्रमण गराउँदा धेरै भित्रसम्म जान सकिन्थ्यो,” फुयाँलले भने, “अहिले सुरुङ ब्लक भएको देखियो ।”

तामाखानीको सम्भाव्यता अध्ययन भएन
अहिलेभन्दा ७ पुस्ता अगाडि अक्कलसिंह कार्कीले तत्कालीन शासकबाट धर्माधिकार लिएर यहाँको तामाखानी उत्खनन् गरेका थिए । अक्कलसिंहका वंश स्थानीय मीनकुमार कार्कीले बताएअनुसार सुनकोसी र लिखुकोसीको भागले छेकिएको ओखलढुंगातर्फको भू–भागमा तत्कालीन समयमा तामा उत्खनन् गरिन्थ्यो । त्यसमध्येकै सबैभन्दा राम्रो तामा खानीगाउँमा पाइने गरेको स्थानीयको दाबी छ । तर पनि तामाखानीको उत्खनन्का लागि सम्भाव्यता अध्ययन भएको छैन । स्थानीयले राज्यले सम्भाव्यता अध्ययन गरेर तामाखानी निकाल्नुपर्ने माग गर्दै आएका छन् ।

पर्यटकीय सम्भावना
विलन्दुका सुरुङहरूले पर्यटकीय सम्भावना बोकेका छन् । तर यहाँका सुरुङलाई त्यसअनुरूपको पूर्वाधार विकास गरिएको छैन । ३ किमिभन्दा लामा तामाखानीका सुरुङ खानीगाउँबाट तीनतले डाँडासम्म फैलिएको स्थानीयको भनाइ छ ।
पुरिएका सुरुङलाई खुलाएर पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने हो भने जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य हुनसक्छ । “सुरुङको थप अध्ययन गर्ने हो भने खानीगाउँको सुरुङको मुख तीनतले डाँडामा भेट्न सकिन्छ,” मीनकुमारले भने, “तामा ननिकालिए पनि अब सुरुङको अध्ययन र त्यहीअनुसारको पूर्वाधार विकास गरेर सुरुङभित्र पर्यटकीय पदमार्ग बनाउनु आवश्यक छ ।”

 

प्रतिक्रिया दिनुहोस्