पर्यटनको भुमरी «

पर्यटनको भुमरी

मुलुकको पर्यटन सघन र विस्तारित हुदै जाँदा त्यहाँ अन्य जटिलता पनि उत्पन्न हुन सक्ने सम्भावनाहरू बढ्दै जान्छन् ।

सहरमा ‘टुरिज्म किल्स द सिटी’ (पर्यटनले सहरलाई मार्छ) जस्ता पर्यटनविरोधी नारा गुन्जिन थालेपछि विश्व पर्यटन संगठनसँग हातेमाले गर्दै संसारका अन्य पर्यटकीय मुलुकहरूबाट त्यसको प्रतिवादमा ‘रेस्पोन्सिबल टुरिज्म’ (जिम्मेवारपूर्ण पर्यटन) को आवाज बुलन्द भयो र आज यत्र–तत्र–सर्वत्र जिम्मेवारपूर्ण पर्यटन व्याप्त छ । स्पेनको बार्सिलोनाबाट प्रारम्भ भएको ‘टुरिज्म किल्स द सिटी’ का अभियन्ताहरूले स्विकारेकै छन्, पर्यटनले मुलुकका लागि राजस्व र बेरोजगारहरूका लागि रोजगारी दुवैको सिर्जना गर्छ, तर उनीहरूले पर्यटनको विरोध गर्दा के पनि तर्क अघि सारे भने पर्यटनले स्थानीयवासीहरूको दैनिक जीवनशैलीलाई अस्त–व्यस्त पारिदिनुका साथै त्यस ठाउँको संस्कृति र सम्पदाहरूलाई बिस्तारै ह्रासोन्मुख बनाउँदै लैजान्छ । विज्ञहरूले गरेको अनुसन्धानले बताएअनुसार पर्यटनलाई कुनै एउटै ठाउँमा केन्द्रित भइरहन दिनु हुँदैन । हाम्रो सन्दर्भमा जोडेर हेर्दा पर्यटकहरूको भीड हुने ठाउँहरूमा काठमाडौँको ठमेल, पोखराको लेक साइड र चितवनको सौराहा पर्छन् । त्यस्ता ठाउँमा पर्यटकहरूलाई केन्द्रित भएर अनावश्यक भीड गर्न दिनुबाट बचाउन ती ठाउँदेखि केही पर नयाँ पर्यटकीय आकर्षणहरूको निर्माण गरी त्यहाँ पर्यटकीय गतिविधिहरूको विस्तार गरिनुपर्ने हुन्छ । पर्यटनको दिगो विकासका लागि जिम्मेवारपूर्ण पर्यटन आवश्यक छ । बेलायतको ऐतिहासिक हाइड पार्क र ट्राफलगर स्क्वायरमा पर्यटकहरूको झुन्ड देखिन्छ, तर त्यो झुन्ड समयको बचत गर्दै अन्य निकटका ठाउँहरूको अवलोकन गर्न केही समयभित्र एक ठाउँबाट अर्काे ठाउँ पुगिसकेका हुन्छन् । पर्यटन व्यवस्थापनको एउटा उदाहरणीय नमुना पनि हो यो । बाथ, स्टोन हिँज, स्ट्राटफोर्ड एट एभोन, अक्सफोर्डजस्ता ठाउँहरूको अवलोकन भ्रमणको समय तालिका बनाउँदा ती सबै ठाउँका लागि छुट्टाछुट्टै दिनहरू मिलाउनुपर्ने हुन्छ । साथै, त्यहाँको अवलोकन भ्रमणको मज्जा नै अर्कै छ । न फोहोर, न ट्राफिक न बाटाघाटामा तगारोको शुल्क तिर्नुपर्ने फिक्री । पर्यटन व्यवस्थापनको अर्काे सर्वाेतम उदाहरण अस्ट्रेलियाको पूर्वी तटीय ठाउँ ब्रिसबेनमा पर्ने गोल्डकोस्टमा अनुभव भएको यस पंक्तिकारलाई स्मरण छ । झन्डै साढे ६ लाख जनसंख्या भएको यस पर्यटकीय गन्तव्यमा वार्षिक ८ करोड ५० लाख पर्यटक आउने गर्छन् । समुद्रको तटीय आकर्षणबाहेक गोल्डकोष्टमा २५ हजारभन्दा बढी अन्य आकर्षणहरू रहेको त्यहाँका टुर अपरेटर्सको दाबा छ । सायद यसै कारणले होला, त्यहाँ पर्यटकहरूको वितरण पद्धति एकदमै वैज्ञानिक रहेको जोसुकैले पनि अनुभव गर्न सक्छ । कम्बोडियाको एन्कोरबाट त्यस मुलुकको अत्यन्तै प्राचीन विश्वप्रसिद्ध सम्पदा स्थल हो । जहाँ बर्सेनि लाखौँ पर्यटक अवलोकनार्थ आउँछन् । त्यति ठूलो संख्यामा त्यहाँ पर्यटकहरूको आगमन हुन्छ, तर भीड भने कतै देखिँदैन । त्यसलाई पनि पर्यटन व्यवस्थापनको अर्काे सफल नमुनाका रूपमा लिन सकिन्छ । यस सम्पदाको निर्माण १२ औँ शताब्दीमा खमेर सम्राट् सूर्य ब्रमनले यशोधरापुराको नाममा स्थापित गरेको इतिहास छ । पहिले हिन्दू मन्दिर र पछि बुद्ध मन्दिरका रूपमा विकसित हुँदै गएको यस क्षेत्रमा विष्णुको ठूलो मन्दिर र ब्रह्माको सबैभन्दा अग्लो मूर्ति राखिएको पाइन्छ । कम्बोडिया सरकारले सन् २०१७ मा यस सम्पदा स्थलबाट मात्रै ६ करोड २० लाख अमेरिकी डलर आर्जन गरेको बताइन्छ । मुलुकको पर्यटन सघन र विस्तारित हुदै जाँदा त्यहाँ अन्य जटिलता पनि उत्पन्न हुन सक्ने सम्भावनाहरू बढ्दै जान्छन् । तसर्थ पर्यटनलाई दिगो बनाइराख्न त्यस क्षेत्रमा अनुसन्धान र अध्ययनका आवश्यकता पर्छ । पर्यटनका बहुल आयामहरू कुनै विशेष पेसा वा व्यवस्थासँग मात्र गाँसिएका हुँदैनन् । ती मानव जीवनका हरेक पक्ष जस्तै : सामाजिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, भौगोलिक, आर्थिक, स्वास्थ्य, यातायात, मानव संसाधन, पर्यावरण, वनस्पति आदिसँग अपरिहार्य रूपमा जोडिएका हुन्छन् । त्यसै कारणले हामीले हाम्रा आचार–व्यवहार र भौतिक गतिविधिहरूलाई पर्यटनमैत्री बनाउनैपर्छ ।
अति भीडभाडको पर्यटन (ओभरक्राउडेड टुरिज्म) पनि हाम्रो जस्तो संवेदनशील सामाजिक संरचना र प्राकृतिक बनौट भएको मुलुकका लागि अनुपयुक्त हुन सक्छ । वैदेशिक मुद्राको मनग्य आर्जनमा र रोजगारीका असंख्य अवसरहरूको सिर्जनामा पर्यटनले सबभन्दा महत्वपूर्ण भूमिका खेल्न सक्छ, तर त्यस्तो आर्जन र रोजगारीका लागि हामी कुन हदसम्म तयार रहन सक्छौँ, त्यो मननयोग्य विषय हो । एक जना वरिष्ठ पर्यटन व्यवसायी र पर्यटनविद् मित्रले सरकारले होमस्टे व्यवसायलाई खुला गरेपछि बडो चिन्ता व्यक्त गर्दै भन्नुभएको सम्झन्छु । होमस्टेका दुष्परिणामबारे कोही पनि गम्भीर देख्दिनँ म । कस्तो दुष्परिणाम भनेर मैले प्रश्न गर्दा उहाँले भन्नुभएको थियो, “एड्सको संक्रमण अब विदेशबाट होइन, घरैबाट सुरु हुनेछ ।” उहाँको भनाइमा केही सत्यता छ वा छैन, त्यो त समयले बताउला तर भीडभाडको पर्यटनबाट हामी जोगिनुपर्नेचाहिँ अवश्य हुन्छ । अहिले हाम्रो अर्जुनदृष्टि नेपाल आउने पर्यटकको संख्यात्मक वृद्धिमा अडेका बेला हामीले आफ्नो ध्येय प्राप्तिका लागि चाल्ने प्रत्येक पाइला तथा प्रयासका दुवै सकारात्मक एवं नकारात्मक पक्षलाई राम्ररी बुझेर मात्र अघि बढ्नु वाञ्छनीय हुन्छ कि ? गण्डकी प्रदेशले आफ्नो प्रदेशको पर्यटन उद्योगलाई अझै उन्नत बनाउन पदयात्राका लागि आउने विदेशी पर्यटकहरूमाथि लगाइएको टिम्सबाहेकको अतिरिक्त शुल्कले त्यहाँको ढुकुटी त दह्रो बनाउला, तर यसबाट उत्पन्न हुन सक्ने नकारात्मक प्रभावलाई न्यून बनाइराख्न हामीले पर्यटकलाई प्रदान गर्ने सेवाहरूको पनि स्तरोन्नति हुनुपर्ने हुन्छ कि ? कतैै पनि शुल्क लिनुअघि सो शुल्क तिरेबापत पर्यटकले के सुविधा पाउने हो, त्यो स्पष्ट पारिनुपर्ने हो कि ? नाट्टाका एक जना पूर्वअध्यक्षले संघको स्वर्णजयन्तीका अवसरमा सार्वजनिक सभामा आफ्ना उद्गार यसरी व्यक्त गर्नुभएको थियो— “हामी २० लाख, ३० लाख र ५० लाख पर्यटक भिœयाउने विषयमा चर्चा गर्छौं । के त्यही नै हाम्रो उद्देश्य हो त ? होइन, पर्यटनका माध्यमबाट राज्यलार्ई बढी राजस्व दिलाउनु र विकासमा लगानी गराउनु नै हामी सबैको साझा ध्येय हो । सम्भवतः उहाँको भनाइ ठीक हो जस्तो उपस्थित पेसाकर्मी र व्यवसायीहरूले अनुभूत गरेको स्पष्ट थियो । विगतमा पर्यटकको संख्या बढेको समाचारले हामी पुलकित त भयौँ, तर नेपाल राष्ट्र बैंकको तथ्यांकबाट पर्यटनले आर्जन गर्ने राजस्वमा कुनै उलेख्य वृद्धि भने थिएन । तसर्थ, त्यसतर्फ पनि हामी सबैको ध्यान जान जरुरी छैन र ? औसत बसाइ पनि बढेको देखिँदैन । फलस्वरूप, पर्यटनबाट जेजति अपेक्षा गरिएको छ त्यो यथास्थितिकै अवस्थामा रहेको पाइन्छ, तर संख्या भने निरन्तर बढ्दो नै छ ।
साउन १ गते प्रकाशित समाचारअनुसार सन् २०१८ को पहिलो ६ महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्यामा गत वर्षको तुलनामा १३ प्रतिशत वृद्धि भएको छ । प्रथम तीन महिनाको आँकडा हेर्दा सबैभन्दा बढी पर्यटक ९६ हजार ३ सय ६८ जना मित्रराष्ट्र भारतबाट आएको देखिन्छ । मनसुनका बेला पर्यटकहरूका लागि नेपाल भ्रमण त्यति रोचक नहुने गरेको भए पनि पर्यटक आगमन उत्साहजनक नै रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । अलिकति सन्दर्भ फेरेर हाम्रो पर्यटनको हालको स्थितितिर नियालौँ । नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी ए३३०–२०० ‘मकालु’ यही साउनको ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरित हुँदै छ । निगमले थप न्यारोबडी २ र ट्विन अटर ८ वटा खरिद गर्ने प्रक्रियालाई युद्धस्तरमा अघि सारेको छ । आन्तरिक हवाई सेवा तारा एयरले नेपाल भ्रमण वर्ष (दुई) लाई मध्यनजर राख्दै गत साता एउटा नयाँ भाइकिङ डीएचसी ६–४०० ट्विन अटर विमान भिœयाएको छ । अब उप्रान्त नेपाली वायु सेवाले विदेश उडान गर्दा त्यसमा यात्रा गर्ने विदेशी होस् वा नेपाली दुवैको बिमा रकम डेढ करोड रुपैयाँ बनाइने खबर पनि सकारात्मक हो । सहज यातायात सञ्जालको विकास र विस्तार सम्बन्धमा देशका एक दर्जनभन्दा बढी स्थानमा केबलकार निर्माण हुनु अत्यन्तै सुखद विषय हो । दोलखाको कालिन्चोक, पोखराको फेवाताल, साराङकोट, पाथीभरा केबलकार, लुक्लादेखि नाम्चेसम्म केबलकार, पोखराको वीरेठाँटी हुँदै मुक्तिनाथसम्मको केबलकार र बन्दीपुर केबलकारले स्थानीय एवं बाह्य पर्यटकहरूलाई सेवा प्रदान गर्न तथा पर्यटन प्रर्वद्धनका लागि यस्ता पूर्वाधारहरूले ठूलो मद्दत पु¥याउने निश्चित छ । सरकारले हिमाली ट्रान्स ट्रायल सहरका नाममा २ नं. प्रदेशबाहेक अन्य सबै प्रदेशका कुल १६ ठाउँमा सहरी विकास गर्ने अवधारणा अघि सारेको छ । जुन स्वागत योग्य कुरा हो, तर काठमाडौँ उपत्यकाका सडकहरूलगायत मुलुकका धेरैजसो ठाउँका सडकको दुर्दशाप्रति सरकारको ध्यान नपुगेको हो कि ? ग्रेटर लुम्बिनी बुद्धिस्ट सर्किटको अध्ययन द्रुत रूपमा चलिरहेका बेला सुर्खेतको गौरव काँक्रेविहारको पुनर्निर्माणको काम किन ठप्पप्रायः छ ? त्यसमा प्रदेश सरकारको ध्यान किन जाँदैन ?
अब हालैका नकारात्मक खबरहरूतिर ध्यान दिऔँ, धुलिखेल, सिन्धुली, बर्दिबासको बीपी राजमार्गको संरक्षण कसले गर्ने ? मुग्लिन–नारायणगढ बाटोको दुरवस्थालाई कसरी दिगो रूपमा हटाउने ? दुःखी, गरिब नेपाली सर्वहारा जनताका लागि सर्वहाराको सरकारसँग के–कस्ता कार्यक्रम छन् ? देशको पर्यटन विकासका लागि सभा, गोष्ठी र अन्तक्रियाहरू हुन्छन्, तर कुनै पनि सभा, गोष्ठीबाट सिफारिस गरिएका प्रस्तावहरू कहाँ गएर थन्किन्छन् ? बुझिनसक्नु छ । हुँदाहुँदा ‘थिंक ट्यांक’ पनि बन्यो । त्यसको पहिलो बैठकले प्रतिवेदन तयार पार्ने निर्णय गरेको थियो, त्यो पनि अलपत्र परेजस्तो छ । एक्लो मन्त्रीले जे–जति गर्न सक्ने ज्ञान बोकेका छन्, त्यसैको भरमा हाम्रो पर्यटनले हालसम्म गति लिएको देखिन्छ । अन्यथा, सपनै–सपनाको दुनियाँमा दिशाहीनभैmँ भोलिका दिनमा नेपाली जनता भौँतारिँदै कुन भुमरीको गन्तव्यमा पुग्नेहुन्, विचारणीय छ ।

प्रतिक्रिया दिनुहोस्