त्रिविको परीक्षा सञ्चालन खर्चमा संशोधन «

त्रिविको परीक्षा सञ्चालन खर्चमा संशोधन

त्रिभुवन विश्वविद्यालय (टियू) अन्तर्गत सञ्चालित वार्षिक परीक्षाहरुमा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीहरुले पारिश्रमिक सम्बन्धी व्यवस्थामा ९ वर्षपछि संशोधन गरिएको छ । केन्द्रीय परीक्षा सञ्चालक समितिको सिफारिस अनुसार ०७५ साउन २ गतेको कार्यकारी परिषद्को बैठकले पारिश्रमिकमा संशोधन गरेको हो ।
संशोधित पारिश्रमिक श्रावण ६ गतेदेखि सञ्चालन हुने चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षादेखि लागू भइसकेको छ । संशोधित पारिश्रमिकमा स्नातक तथा प्रविणता प्रमाण पत्र तहको परीक्षामा केन्द्राध्यक्षको लागि ४ सय ५० बाट बढाएर ८ सय, सहायक केन्द्राध्यक्षको ३ सयबाट बढाएर ६ सय, पर्यवेक्षकको ३ सयबाट वृद्धि गरी ६ सय, निरीक्षकको २ सय ५० बाट वृद्धि गरी ५ सय कायम गरिएको छ । कम्तिमा २१ जना विद्यार्थी बराबर १ जना निरीक्षकको व्यवस्था हुनेछ । त्यस्तै परीक्षा शाखाहरुमा कार्यरत कर्मचारीको पारिश्रमिक एक सयबाट वृृद्धि गरी २ सय कायम गरिएको छ भने सुरक्षाकर्मीहरुको लागि ६० रुपैयाँ रहेकोमा अब प्रतिसुरक्षाकर्मी एक सय तोकिएको छ । यसैगरी कार्यालय सहयोगीहरुको लागि ७५ रुपैयाँलाई वृद्धि गरी १ सय ५० रुपैयाँ प्रतिदिन पारिश्रमिक कायम भएको छ ।
यसैगरी स्नातकोत्तर तहको परीक्षा सञ्चालनमा हुने खर्चमा पनि हेरफेर भएको छ । जसमा केन्द्राध्यक्षको ६ सयबाट वृद्धि भई एक हजार, सहायक केन्द्राध्यक्ष र पर्यवेक्षकको ४ सयबाट वृद्धि भई ८ सय, निरीक्षकको ३ सयबाट वृद्धि गरी ६ सय कायम गरिएको छ । यसमा पनि २१ जना विद्यार्थी बराबर एक जना निरीक्षण रहने व्यवस्था छ । परीक्षा सञ्चालनमा संलग्न कर्मचारीको हकमा १ सय २५ रुपैयाँबाट वृद्धि गरी २ सय ५० रुपैया, सुरक्षाकर्मीहरुको लागि ६० रुपैयाँबाट वृद्धि गरी एक सय र कार्यालय सहयोगीहरुको लागि ८० रुपैयाँबाट वृद्धि गरी १ सय ६० रुपैयाँ पारिश्रमिक कायम गरिएको जनाइएको छ । यो पारिश्रमिक वार्षिक प्रणाली अनुसारको परीक्षामा मात्र लागू हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्