प्रधानन्यायाधीशको टुंगो लगाउन शुक्रबार बैठक «

प्रधानन्यायाधीशको टुंगो लगाउन शुक्रबार बैठक

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्न बोलाइएको बैठक शुक्रबारसम्मका लागि सरेको छ । बुधबार प्रधानन्यायाधीशमा सिफारिश भएका जोशीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने तयारी भएपनि कुनै निर्णय हुने सकेन ।
समितिका सदस्य योगेश भट्टराईले अर्को बैठक शुक्रबार बस्ने बैठकपछि जानकारी दिए । गत बिहीबार प्रधानन्यायाधीश प्रस्तावित जोशीको संसदीय सुनुवाइ भएको थियो । तर, समितिमा रहेका सत्तारुढ र प्रतिपक्षी सांसदबीच विवाद भएपछि उनको अनुमोदन गर्ने वा नगर्नेमा निर्णयमा पुग्न समितिलाई कठिन भइरहेको छ । यसअघि बिहीबारको सुनुवाइपछि शुक्रबार निर्णय गर्ने भनिए पनि आइतबारका लागि सरेको थियो । त्यसपछि सोमबार र बुधबार बसेको बैठक पनि कुनै निर्णयमा पुग्न सकेन । समिति सदस्य भट्टराईले शुक्रबारको बैठकबाट निर्णयमा पुग्ने विश्वास व्यक्त गरे ।
संसदीय सुनुवाइको क्रममा जोशीको शैक्षिक प्रमाणपत्र, उनले गरेका फैसलाको विषयमा प्रश्न उठाइएको थियो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी जोशीको नाम अनुमोदन नगर्ने अडानमा छ भने प्रमुख प्रतिपक्षी दल कांग्रेस जोशीको नाम अनुमोदनको पक्षमा देखिएको छ ।
संसदीय सुनुवाइ समितिका संयोजक लक्ष्मणलाल कर्णले सहमति जुटाउनका लागि थप छलफल गर्नुपर्ने भएकाले बैठक सारिएको बताए । शुक्रबार बिहान १० बजे समितिको अर्को बैठक बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्