पुनर्निर्माण तीव्र, किस्ता वितरण सुस्त «

पुनर्निर्माण तीव्र, किस्ता वितरण सुस्त

ओखलढुंगा-माथिल्लो सगरमाथाका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा भूकम्पपछिको व्यक्तिगत आवास पुनर्निर्माणले तीव्रता पाएको छ । २०७२ सालको भूकम्पका कारण अतिप्रभावित बनेको ओखलढुंगा र सामान्य प्रभावित बनेको खोटाङ र सोलुखुम्बु जिल्लामा पुनर्निर्माण तीव्र भएको हो ।
ओखलढुंगा जिल्लामा २०७३ सालबाट र खोटाङ तथा सोलुखुम्बुमा २०७४ साल चैतदेखि पुनर्निर्माणको काम सुरू भएको थियो । पुनर्निमाणका लागि तत्कालीन समयमै कार्यालय स्थापना भएर काम थालिए पश्चात् पुनर्निर्माण अगाडि बढेको हो ।
पहिलो चरणमा पुनर्निर्माण सुरु भएको ओखलढुंगामा २१ हजार १२२ पूर्ण क्षति घरमध्ये १७ हजार ४२७ घर निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन घरकै संख्यामा दोस्रो किस्ताको रकमसमेत वितरण गरिसकिएको छ । यस जिल्लामा ९ हजार ७५६ घर निर्माण सम्पन्न भई बसोबास सुरु गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ओखलढुंगाका सूचना अधिकारी सुनिता अधिकारीले बताइन् ।
“केही समस्या भए पनि व्यक्तिगत आवास पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको छ,” अधिकारीले भनिन्, “हामीले विस्थापितलाई स्थानान्तरण गर्ने काम पनि सुरु गरेका छौं ।” भूकम्पका कारण झरेको पहिरोबाट ओखलढुंगाका विभिन्न १२ गाउँका १४८ परिवार जोखिममा छन् ।
खोटाङ र सोलुखुम्बु जिल्लामा पुनर्निर्माण दोस्रो चरणमा सुरु भएको हो । जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) स्थापना भएको तीन महिनामै अनुदान सम्झौता सम्पन्न भई दोस्रो किस्तासमेत वितरण सुरु भइसकेको छ ।
खोटाङमा अनुदान प्राप्त गर्न योग्य पुनर्निर्माण लाभग्राही ८ हजार ४४३ मध्ये ८ हजार २७१ सँग अनुदान सम्झौता भइसकेको छ । सम्झौता भएका ८ हजार २०८ परिवारले पहिलो किस्ता लिइसकेको छन् । २ हजार ४४९ ले तेस्रो किस्ता र ४ जनाले दोस्रो किस्ता अनुदान लिइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) खोटाङका प्रमुख सागर आचार्यले बताए ।
“धेरैले भूकम्प जानासाथ घर बनाए,” आचार्यले भने, “मापदण्ड र अनुदान वितरण पछि आएर भयो, यसले गर्दा समस्या छ ।” उनका अनुसार कार्यालय ढिला स्थापना हुनु, मापदण्डबारे लाभग्राही सचेत नहुनुलगायतका कारणले केही समस्या आए पनि आवास पुनर्निर्माणको गति तीव्र छ ।
सोलुखुम्बुमा पनि खोटाङसँगै अनुदान वितरण सुरु गरिएको छ । जिल्लामा पहिचान भएका ११ हजार ९८८ मध्ये ११ हजार २२८ जनाले अनुदान सम्झौता गरी पहिलो किस्तासमेत लिएका छन् । कार्यालयका प्रमुख भोजनारायण राजभण्डारीका अनुसार १ हजार ६१० जनाले पहिलो किस्ता र ७६ जनाले दोस्रो किस्ता लिएका छन् । प्रवलीकरणमा सूचीकृत भएका ४५६ मध्ये ३३९ जनाले सम्झौता गरेर अनुदानको पहिलो किस्ता लिइसकेको राजभण्डारीले जनाए ।

किस्ता वितरण सुस्त
पुनर्निर्माणमा तीनै जिल्लाको काम तीव्र भए पनि दोस्रो र तेस्रो किस्ताको अनुदान वितरणमा भने सुस्तता देखिएको छ । लाभग्राहीले घर बनाई सके पनि सबै किस्ता पाएका छैनन् । कहिले नाम फरक परेर आउने, कहिले समयमा प्राविधिकले घर नहेर्ने त कहिले उस्तै किसिमका घर पास हुने, कतै नहुने समस्या देखिएको छ । ओखलढुंगामा दोस्रो किस्ता सिफारिस गरेका दुई सयभन्दा बढीले रकम पाएका छैनन् । विवरण फरक पर्दा उनीहरूलाई अनुदान दिन ढिलाइ भइरहेको छ ।
“२०७४ चैतमा घर सकेर सरेको दोस्रो किस्ता बल्ल असार मसान्तमा पाएँ, तेस्रो कहिले पाउने हो पत्तो छैन,” अनुदानको किस्ता लिन बैंक आएका चिसंखुगढी गाउँपालिकाका कुमार ढुंगानाले भने । ओखलढुंगामा अधिकांश घरहरू निर्माण सकिए पनि गाउँमा खटिएका प्राविधिक र जिल्लाका विभिन्न निकाय हुँदै अनुदान लिन, अनुदान व्यवस्थापन र स्थानीय पूर्वाधारमा आइपुग्दा ढिला हुने गरेकाले लाभग्राहीलाई समस्या पर्ने गरेको छ ।
नवराज कार्की

प्रतिक्रिया दिनुहोस्