सरकार छोड्न आतुर छु :देउवा «

सरकार छोड्न आतुर छु :देउवा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ सरकार गठनमा देखिएका संवैधानिक अड्चनको गाँठो फुकाउन सक्रिय भएका छन् । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर नयाँ सरकार गठनका विषयमा छलफल गरेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले आफूलाई सरकारमा बसिरहन रहर नभएको भन्दै संवैधानिक अड्चन फुकाएर सत्ता हस्तान्तरणका लागि आफू आतुर रहेको जवाफ दिएका थिए । दाहाल र देउवाबीच अहिलेको संवेधानिक अड्चन फुकाउनेबारे विभिन्न विकल्पमा समेत छलफल भएको थियो । धानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रधानमन्त्री देउवाले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । सरकारले अध्यादेशमार्फत पठाएको विधेयक रोकिएको असन्तुष्टि जनाउँदै उनले राष्ट्रपतिलाई विधेयक रोक्ने कुनै अधिकार नभएको भन्दै विधेयक तत्काल प्रमाणीकरण गर्नुपर्ने बताए । नयाँ जनादेशअनुसार पदमा बस्न आफूलाई कुनै इच्छा नभएको बताउँदै प्रधानमन्त्री देउवाले त्यसका लागि अध्यादेश प्रमाणीकरण भएर राष्ट्रिय सभाको निर्वाचन हुनुपर्ने धारणा राखेको परियारले बताए । दाहालले भने राजनीतिक सहमतिबाटै अहिले देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै उनले तीन प्रमुख दलको सहमतिमा मात्र राजनीतिक र संवैधानिक नियुक्ति गर्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको निर्वाचनमा बाम गठबन्धनको पक्षमा बहमुत देखिएको छ । एमाले पहिलो र माओवादी प्रत्यक्षतर्फ दोस्रो दलका रुपमा देखिएका छन् । समानुपातिकतर्फको भने मतपरिणाम निर्वाचन आयोगले घोषणा गरिसकेको छैन । तर, पहिलो दल बन्ने निश्चित भएको एमालेका अध्यक्ष केपी ओलीले भने नयाँ सरकार गठनका लागि देउवाले मार्गप्रशस्त गर्नुपर्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्