अब सहकारी भाग्यो भनेर सुन्नु पर्दैन कि ! «

अब सहकारी भाग्यो भनेर सुन्नु पर्दैन कि !

नयाँ सहकारी एनले संस्था दर्ता तथा सञ्चालन प्रक्रियामा कडाइ गरेकाले अब सहकारी भाग्यो भनेर सुन्नु नपर्ने सहकारीकर्मीहरुले अपेक्षा गरेका छन् । ऐनमा संस्था दर्ता, सञ्चालन प्रक्रिया, कारवाहीको व्यवस्थामा कडाइ गर्नुका साथै सहकारी जोखिममा पर्दा सहयोगका लागि विभिन्न कोषहरुको समेत व्यवस्था गरिएको छ ।
सितापाइलास्थित उपासना महिला बचत तथा ऋण सहकारी संस्थाको साधारणसभामा सहभागीहरुले सहकारी ऐन–२०७४ ले सहकारी क्षेत्रका विकृति हटाउँदै यसलाई सबल बनाउने बताए । संस्थाकी अध्यक्ष अमरावती वलामीले सहकारी संस्था अप्ठेरोमा पर्दा सहयोग गर्ने गरी ऐन आएकाले अब सहकारी भाग्ने अवस्था नआउने दाबी गरिन् । “सदस्यहरुमा गरेको लगानी असुल नहुँदा संस्था धरासायी भई सञ्चालकहरु भाग्नुपर्ने अवस्था थियो,” उनले भनिन्, “नयाँ ऐनमा सहकारी कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधीकरणको व्यवस्था राखिएकाले लगानी नउठेर संस्था भाग्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गर्न सकिन्छ ।”
सहकारी ऐनमा २०७४ मा सरोकारवालाहरुको सहभागितामा सहकारी कर्जा सूचना केन्द्र मन्त्रालय मातहतमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । ऐनमा सहकारीका सदस्यको सहकारी ऋण असुली न्यायाधीकरणको समेत परिकल्पना गरिएको छ भने समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि व्यवस्थापन समितिको समेत व्यवस्था गरिएको छ । यसैगरी सहकारी तरलताको अभाव हुँदा वा समस्याग्रस्त हुँदा सापटि दिन सकिने गरी स्थिरीकरण कोषका साथै कर्जाको बचत तथा कर्जा सुरक्षण कोषको व्यवस्था गरिएको छ । ऐनका यी प्रावधान कार्यान्वयनका लागि नियमावली बन्न भने बाँकी छ ।
साधारणसभामा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले सहकारी क्षेत्रको सहयोग लिएर यसलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरे । नयाँ ऐनले सहकारी क्षेत्रको अधिकार स्थानीय तहलाई दिएकाले सहकारी दर्ता र अनुगमनका लागि कार्यविधि निर्माणमा नगरपालिका लागेको उनले बताए । “नयाँ ऐनअनुसार अब सहकारीको दर्ता र अनुगमन स्थानीय सरकारले नै गर्ने हो,” उनले भने, “यो क्षेत्रलाई व्यवस्थित गर्न तपाईंहरुकै सहयोग आवश्यक छ ।” स्थानीय तह र सहकारी एकअर्काका परिपुरक रहेको भन्दै उनले नगरपालिकाका कार्यक्रममा सहकारीलाई सहभागी गराइने बताए ।
संस्थाले आर्थिक वर्ष २०७३-७४ सम्ममा ८४ लाख ११ हजार पुँजी, ४ करोड ३९ लाख निक्षेप संकलन तथा ५ करोड ४२ लाख लगानी गरेको छ । संस्थाले बचत, ऋणका साथै सदस्यहरुलाई शीपमूलक स्वरोजगार तालिमका साथै अप्ठ्यारोमा सहयोग गर्दै आएको छ । यसैगरी गरिब तथा विपन्न महिलामा लघुवित्त कार्यक्रमसमेत सञ्चालन गर्दै आएको सभामा जानकारी दिइयो ।

कारोबारकर्मी हुमागाईं सम्मानित
संस्थाले साधारणसभाको अवसर पारेर कारोबारकर्मी यादव हुमागाईंलाई सम्मान गरेको छ । पत्रकारितामार्फत् सहकारी क्षेत्रको विकासमा योगदान पुर्याएको भन्दै संस्थाले हुमागाईंलाई सम्मान गरेको हो । त्यसैगरी महिला शसक्तीकरणमा योगदान पुर्याएको भन्दै पत्रकार जानुका ढकालका साथै सहकारी बैंकका सूचना अधिकृत नविनकुमार कार्कीलाई पनि संस्थाले सम्मान गरेको छ । यसैगरी संस्थाले उत्कृट कर्मचारी रिता नगरकोटी, कर्जा वाहक अञ्जु सुवाल, बचतकर्ता रुक्मीणी श्रेष्ठ, असल जोडी भगवती तथा भरत न्यौपाने, उत्कृष्ट प्रतिभा प्रकृति रेग्मी र महिला उद्यमी अनिता बुढाथोकीलाई पनि सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्