नेपाल–भारत समझदारी कार्यान्वयन हुन थालेको छ : दाहाल «

नेपाल–भारत समझदारी कार्यान्वयन हुन थालेको छ : दाहाल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल– भारतबीचको समझदारी कार्यान्वयनमा दुई पक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् । मंगलबार काठमाडौंमा एशियन इन्स्टिच्यूट एण्ड डिप्लोमेसी एण्ड इण्टरनेशनल एफेयर्स तथा नेहरु मेमोरियल म्युजियम एण्ड लाइब्रेरीले आयोजना गरेको ‘नेपाल–भारत थिङ्क ट्याङ्क समिट २०१८’ को उद्घाटन गर्दै अध्यक्ष दाहालले तित्ततापूर्ण भनिएको दुई देशबीचको सम्बन्ध पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि सहज भएको बताए ।
उनले नेपाल र भारतबीचको सहकार्य्निम्ति गरिएको प्रतिबद्धताको कार्यान्वयनका लागि द्विपक्षीय संयन्त्र सक्रिय हुन थालेको पनि बताए । नेपालको समृद्धि भारतको पनि स्वार्थको विषय भएको स्पष्ट पार्दै उनले समान सार्वभौमसत्ता र समान स्वार्थमा आधारित रहेर आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । भारतसँगको सहमतिअनुसार रेल र जलमार्गमा जोड दिएर आर्थिक समृद्धिको यात्रालाई अघि बढाउने नेपालको योजना रहेको पनि उनले बताए । उनले भने, “नेपालको गरिबीको अवस्था लामो समयसम्म रहिरहन सक्दैन । छिमेकीले विकास गरिरहँदा हामी पछि पर्न सक्दैनौँ । भारतसँगको समझदारीअनुसार रेल र जलमार्ग हुँदै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्न आवश्यक छ ।”
यस्तै, कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले दुई मुलुकबीचको सम्बन्धलाई अझै उचाइमा पु¥याउन प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीको भ्रमणपछि राम्रो भएको पनि स्मरण गराए ।
उक्त समारोहमा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास व्यक्त गर्दै अरुण–३ जलविद्युत् आयोजनाको उद्घाटनपछि दुई मुलुकबीचको आर्थिक साझेदारी अभिवृद्धि हुँदै जाने बताए ।
यस्तै, भारतीय जनता पार्टीका महासचिव श्रीराम माधवले भारतीय प्रधानमन्त्री मोदीको छिमेकी नीतिले निरन्तरता पाउने बताउँदै उनले आपसी सम्बन्धलाई ज्ञानमा आधारित सम्बन्धका रुपमा पनि विकास गर्न सम्मेलनले योगदान दिने बताए । भाजपाका महासचिव राम माधवले नेपालले लुकिङ साउथ नीति ल्याएर भारत र हिन्द महासागरबाट फाइदा लिनुपर्ने सुझाव पनि दिए । भारतको सामरिक प्राथिमकता र चासोलाई छिमेकी देशहरुले बुझ्नुपर्ने पनि उनले बताए । कार्यक्रममा दुवै मुलुकका राजनीतिक, बुद्धिजीवि र व्यवसायीबीच दुई मुलुकको सम्बन्धलाई विविध आयामबाट केलाउने कार्य पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्