देउवा सरकारले सत्ता लम्ब्याउन खोज्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनताले राजीनामा गराइसकेकोले तत्काल सरकार निर्माण प्रक्रियामा अगाडि बढ्न आग्रह गरेका छन् । ओलीले भने,“ अब तत्काल सरकार निर्माण प्रक्रियामा तत्तपरता देखाउनुपर्छ, त्यसको विकल्प छैन । उहाँले बाधा–अड्चन पैदा गरेर, खोंचे थापेर सरकारको आयु लम्ब्याउन खोज्नु भनेको सत्ता लिप्सा हो, यसबाट देउवा मुक्त हुनुपर्छ ।”
शनिबार रिपोर्टर्स क्लब नेपालले आफ्नै निवास बालकोटमा आयोजना गरेको विशेष साक्षात्कारमा उनले आफूहरु लोकतान्त्रिक अभ्यासबाट आएको उल्लेख गर्दै थपे, “लोकतन्त्र यदि नेपाली कांग्रेसले हुन नदिने हो भने उसले आफ्नो लिओस् । यसरी पहिले पनि ०६४ मा सरकार बन्ने कुरालाई अत्यन्तै घिनलाग्दो कुराले रोकिदियो । ३–४ महिनासम्म सत्ता हस्तान्तरण नगरेर रोकिदियो । अहिले फेरि त्यस्तै गर्न खोज्दैछ । हारेपछि पनि सरकारमा बसिरहन खोज्ने ?”
ओलीले पहिले भएको कुरालाई नेपाली कांग्रेसले हटाएको उल्लेख गर्दै भने, “पहिले हटाउने अनि अहिले परिणाम देखेपछि आफूअनुकूल नहुने भएपछि अनि फेरि परिणाम ल्याउने कुरा उचित हुँदैन । त्यसकारण म फेरि सबैलाई आग्रह गर्न चाहन्छु, क्षणिक र मौसमी तर्क नगरौं । नेपाली कांग्रेसले हारेपछि सरकार चलाउन खोजेको हो भने त्यो बाटो उसले स्पष्ट लिए हुन्छ ।”
समानुपातिकको मतपरिणाम आइसकेपछि ७ दिनभित्रमा संवैधानिक व्यवस्थाअनुरुप निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पठाउनुपर्ने र त्यो परिणाम आएपछि असान्दर्भिक कुराहरु झिकेर सरकार बनाउन रोक्न नहुने उनले बताइए ।
उनले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा एकल संक्रमणीय व्यवस्था राख्नु असंवैधानिक भएको टिप्पणी गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले यसलाई खोचे थापेर सत्ता लम्ब्याउने प्रयास गरेको आरोप उनले लगाए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको भन्दै सच्याउन आग्रह गरे । “जहाँ जे लेखे पनि मौजुदा सरकारले नै समानुपातिक सांसद छान्ने भनेर अध्यादेश लगे के हुन्छ ? उनले प्रश्न गरे, “गलत कामलाई मान्नुपर्छ भन्ने छैन ।”
सरकार गठनको लागि राष्ट्रिय सभा पर्खिनुपर्ने कुरै नभएको बताउँदै ओलीले भने, “यस्तो कुरा गर्नु भनेको सत्तालोलुपता, पद लोलुपता, लोकतान्त्रिक अभ्यसाको निकृष्ट प्रयास हुन्छ । कानुनको खोंचे थापेर, बखेडा झिकेर, जनताको अभिमतलाई अबमूल्यन र अस्वीकार गर्ने मनसाय प्रकट भएको छ । मर्यादित संस्थाको अनुचित व्याख्या र प्रयोग गर्ने कुरा शोभनीय हुँदैन ।”
सरकार गठनका लागि विगतका अभ्यास र नजिरहरु रहेको भन्दै अध्यक्ष ओलीले नयाँ सरकार बनाउन राष्ट्रिय सभा गठन आवश्यक नरहेको स्पष्ट पारे । निर्वाचन आयोगले पनि कानुनअनुसार काम गर्नुपर्नेमा जोड दिँदै उनले आयोग कसैको ट्विटका पछाडि होइन, संविधान र कानुनअनुसार चल्नुपर्ने बताए ।
प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट शपथ ग्रहण नगर्ने भन्दै सत्ता हस्तान्तरणको बाटो खोल्न आग्रहसमेत गरे ।