रोल्पाको स्याउले मूल्य पाएन

किसानहरूले उत्पादन गरेको स्याउको बजार खोज्नतर्फ स्थानीय सरकारले समेत ध्यान दिन सकेको छैन ।
रोल्पा-रोल्पाको सुकिदह गाउँपालिका जिनावाङमा किसानको बारीभरी लटरम्म स्याउ फलेका छन् । बारीमा स्याउ भए पनि किसानको दुःखको मूल्य भने पाउन सकेका छैनन् । रोल्पाकै नाउली, बडाढुंगालगायतका स्थानका किसानले बारीभरी स्याउ फलाए पनि व्यापारीको ध्यान पुग्न सकेको छैन । त्यसले गर्दा किसानले स्याउबाट राम्रो आम्दानी गर्न नसकेका हुन् ।
किसानहरूले उत्पादन गरेको स्याउको बजार खोज्नतर्फ स्थानीय सरकारले समेत ध्यान दिन सकेको छैन । स्थानीय रामबहादुर केसीले गाउँपालिकाले स्याउ खेतीतर्फ किसानलाई आकर्षित गर्न त परै जाओस् उत्पादित स्याउको बजार खोज्नसमेत ध्यान दिन नसकेको आरोप लगाए ।
स्याउको सिजन सुरु भए पनि बिक्री नभएपछि किसान चिन्तित बन्दै आएका छन् । राप्तीको सबैभन्दा धेरै स्याउ उत्पादन हुने सुकिदहको जिनावाङ गाउँमा सडक अभावले यो वर्ष उत्पादन भएको करोडौंको स्याउ खेर जाने सम्भावना बढेको छ ।
साउनको पहिलो साताबाट यहाँका कृषक स्याउकै व्यापार गर्नमा व्यस्त देखिन्छन् । तर कच्ची बाटोले व्यापारमा प्रत्यक्ष असर पु¥याइरहेको उनीहरूको गुनासो छ । जिनावाङको नाउलीबाट झ्यामसम्म करिब २ किलोमिटर सडकमा पहिरो गएपछि हिलाम्मे हुँदा सधैजसो चल्ने ट्याक्टरसमेत चल्न छाडेका छन् । बाटोभरी पहिरो गएपछि गाउँपालिका र वडापालिकाले मर्मतमा कुनै पनि चासो नदिँदा आफूहरूलाई बजारसम्म स्याउ पु¥याउन समस्या भएको स्थानीय कुलबहादुर केसीले बताए ।
जिनाबाङको स्याउ बिक्री गर्न लैजाने प्रमुख बजार भनेकै दाङको तुलसीपुर र घोराही हो । तुलसीपुरसम्म स्थानीय चुडामणी वलीको पहलमा छोटो दुरिको लेकबाटोका लागि ट्रयाक खुलेको छ । यो सडक पूर्णरुपमा सुचारु नभएपछि यस क्षेत्रका कृषक मर्कामा परेका छन् ।
किसानलाई स्याउ भण्डारणका लागि व्यवस्थित ठाउँ नभएका कारण सस्तो भाउमा ठेकेदारलाई बुझाउनुपर्ने अर्को बाध्यता छ । वर्षभरी आफ्नो सन्तानलाई जस्तै स्याहार गरेर फलाएको स्याउ बिक्री गर्ने बेलामा ठेकेदार आएर आफैं मूल्य तोकेर लैजाने गरेका कारण किसानहरू मर्कामा परेका छन् । स्याउ टिपेर व्यवस्थित रुपमा भण्डारण गर्ने ठाउँ नहुँदा स्याउ खेतीबाट आफूहरूले भनेजस्तो फाइदा लिन नसकेको कृषक भीमबहादुर केसीले गुनासो गरे ।
विगतमा जिल्ला विकास समितिले स्याउ प्रचारका लागि ‘रोल्पाको स्याउ’ लेखेर स्याउ डिब्बा कृषकलाई बाँड्ने गरेको थियो । यो वर्ष भने गाउँपालिकाले बजेट नछुट्याउँदा अन्य डिब्बामा स्याउ राखेर बेच्नु परेको र आफूहरूको प्रचार प्रसार पनि ओझेलमा परेको उनीहरूको दुखेको छ । सुकिदमै स्याउको उत्पादन राम्रो हुँदा पनि गाउँपालिकाले केही वास्ता नगरेको जिनावाङवासीको आरोप छ । सानो डोकाबाट पटक पटक ओसार्दा कठिनाई हुने, स्याउमा दाग लाग्ने हुदा लामो बाटोका कारण बजारसम्म पु¥याउँदा आधा स्याउ बाटोमै बिग्रिने गरेको स्थानीय दानबहादुर वलीले बताए ।
पहलमान घर्ती