बाँदरले बाली नष्ट गर्न थालेपछि किसान चिन्तित «

बाँदरले बाली नष्ट गर्न थालेपछि किसान चिन्तित

तेह्रथुम-तेह्रथुमको ग्रामीण क्षेत्रमा लगाइएको अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन् । भित्र्याउन तयार भएको मकैबाली बाँदरले नष्ट गर्न थालेसँगै किसान चिन्तित बनेका हुन् ।
छथर गाउँपालिकाको वडा नं १, २, ३ र ४ का किसानले लगाएको अन्नबालीमा विगतका वर्षमा जस्तै यस वर्ष पनि जंगली जनावरको ज्यादतीका कारण हैरानी हुँदै आएको स्थानीय चन्द्रबहादर कार्कीले बताए । जंगली जनावरको ज्यादतीले वर्षौंदेखि यहाँका किसाान त्रसित बन्दै आएका छन् । वन क्षेत्रसँगै जोडिएका बस्ती जंगली जनावरको त्रासमा छन् ।
विशेष गरी बाँदरले पछिल्लो समयमा घरभित्र छिरेर जोहो गरेर राखेको मकै, कोदो, आलुजस्ता अन्नपात नस्ट गर्ने गरेको स्थानीय भीमबहादुर थापाले बताए । “पहिले बारीमा लगाइएका अन्नबाली संकलन गर्नलाई बाँदर लखेट्न रुगालु बस्नुपर्दथ्यो,” फाक्चामाराको कार्कीगाउँका रोहीणीप्रसाद भट्टराईले भने, “तर अहिले घरभित्र छिरेर अन्नपात साथै खाना पकाएको भाडासमेत बाँदरले बोक्न थालेपछि गाउभरी नै बाँदरको आतंक बढेको छ ।” उनले प्रत्येक घरमा अनिवार्य रूपमा बाँदर लखेट्न घर रुगालु बस्नुपर्ने बाध्यता रहेको बताए ।
विगतका वर्षहरूको तुलनामा यसवर्ष बाँदरको ज्यादती बढेकाले स्थानीयवासीमा बसाई सर्ने मनस्थिति आउन थालेको टेकबहादुर कार्कीले बताए । गाउँका १० घरधुरी तत्काल बसाइ सर्ने अवस्थामा पुगेको उनले जानकारी दिए ।
छथर क्षेत्रका सुदाप, ओख्रे, फाक्चामारा, पञ्चकन्या, हमरजुङ्ग र आङदिमका सुख्खा क्षेत्रका गाउँबस्तीका बासिन्दा पनि जंगली जनावरको आक्रमणमा पर्ने गरेका छन् । तमोरले छोएका जंगल र वस्तीमा सुख्खा बढेसँगै जंगली जनावरको आहारा कम हुन थालेकाले अहिले जंगली जनावारहरू बस्ती नजिक हुँदै घरसम्म आउन थालेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्