रक्सोलवासीको अवरोधले उद्योगमा कच्चा पदार्थ अभाव «

रक्सोलवासीको अवरोधले उद्योगमा कच्चा पदार्थ अभाव

रक्सोलवासीले प्रदूषण नियन्त्रणको माग गर्दै सुरु गरेको आन्दोलनका कारण वीरगन्ज–पथलैया औद्योगिक करिडोरलगायतका सिमेन्ट उद्योगहरूमा कच्चा पदार्थ अभाव हुने देखिएको छ । वर्षौंदेखि प्रदूषण नियन्त्रणको माग गर्दै आएका स्थानीयको माग पूरा नभएपछि पुनः आन्दोलन सुरु भएको छ ।
वीरगन्ज नाकाबाट करिडोरका सिमेन्ट उद्योगसहित मुलुकका अन्य स्थानमा स्थापना भएका उद्योगका लागि पनि औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ । सिमेन्ट उद्योगका लागि आयात गरिने कच्चा पदार्थहरू खुला तथा धूलोयुक्त (डष्टी कार्गो) हुने भएकोले त्यसले वातावरणमा प्रतिकुल प्रभाव पार्दा मानवीय स्वास्थ्यमासमेत असर पारेको भन्दै रक्सोलवासीले नियन्त्रणका लागि पटकपटक आन्दोलन गर्दै आएका छन् । उनीहरूले प्रदूषण नियन्त्रणका लागि भारतको बिहार उच्च अदालतमा दायर गरेको मुद्दामा अदालतले सरकारलाई प्रदूषण नियन्त्रण गर्न आदेश दिएको थियो । स्थानीयको पक्षमा भएको फैसला कार्यान्वयन नभएकाले रक्सोलवासीहरूले प्रदूषण नियन्त्रणका लागि दबाब दिन चरणवद्ध आन्दोलनका घोषणा गरेका छन् ।
स्थानीयको आन्दोलनले नेपालका उद्योगहरूमा प्रयोग हुने कच्चा पदार्थ आयातमा अवरोध हुँदा उत्पादन नै ठप्प हुने भएपछि वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरू चिन्तित बनेका छन् । एक वर्षअघि पनि प्रदूषण नियन्त्रणको माग गर्दै रक्सोलवासीले आन्दोलन गरेका थिए । रक्सोलको रेलवेसँगै रहेका बस्तीमा सिमेन्ट उत्पादन गर्न प्रयोग हुने औद्योगिक कच्चा पदार्थहरू स्लेग, जिप्सन, कोइला, फ्लाएर्स, क्लिंकर, आइरनओर लगायतका बस्तुले प्रदूषण गर्ने र स्वास्थ्यमासमेत असर गर्ने भएपछि यसको नियन्त्रणको माग गर्दै स्थानीयहरू आन्दोलन गर्दै आएका छन् ।
भारतीय रेलबाट आउने क्लिंकरलगायतका कच्चा पदार्थ रक्सोलको साइडिङमा अनलोड हुने र त्यहाँबाट ट्रक, ट्रिपर, टे«लर लगायतका मालवाहक सवारीसाधनमा लोड गरी नेपालमा ल्याउने गरिएको छ । रेलवे साइडिङमा लोड–अनलोड गर्ने क्रममा धूलो धेरै उडेर वातावरण प्रदूषण गर्ने तथा त्यसले स्थानीयको स्वास्थ्यमा समेत प्रतिकुल असर पारेको स्थानीयको भनाइ छ । बिहार राज्यपालको प्रत्युसन बोर्डअन्तर्गत उच्च न्यायालयको आदेशमा जाँच गर्दा पनि रेलवे यार्डमा लोड अनलोड गर्ने क्लिंकरले प्रदूषण गरी मानवीय स्वास्थ्यमा असर पारेको र स्थानीयहरूमा विभिन्न रोगहरू देखापरेको प्रमाणित गरेकोले त्यसको नियन्त्रणका लागि स्थानीयले आन्दोलन सुरु गरेका हुन् । स्थानीयको आन्दोलनमा रक्सोलका विभिन्न संस्थाहरूले समेत समर्थन गरेकोले अबको आन्दोलनले निकै कडा रूप लिने देखिएको छ ।
स्थानीयले भारत बिहारको राष्ट्रिय राजमार्गमा पुस १० गतेदेखि अनिश्चितकालिन यातायात अवरोध गर्ने भएका छन् । यसबाट वीरगन्जका उद्योगी व्यवसायीहरू भने निकै चिन्तित भएका छन् । रक्सोलनमा अनिश्चितकालिन राजगमार्ग अवरुद्ध पारेमा नेपालका सिमेन्ट उद्योगहरू संकटमा पर्ने देखिएको छ । करिडोरमा रहेका एकदर्जन भन्दा बढी सिमेन्ट उद्योगहरूलाई मात्र नभइ देशका विभिन्न स्थानमा रहेको सिमेन्ट उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थसमेत यसै नाका भएर आउने भएकोले अन्य स्थानका सिमेन्ट उद्योगहरूलाई पनि असर पार्ने उद्योगीहरू बताउँछन् । कच्चा पदार्थ आयातमा अवरोध आए औद्योगिक उत्पादन ठप्प हुने र यसले अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने भएकोले समस्या समाधानका लागि भारत सरकारसँग पहल गर्नुपर्ने वीरगन्ज उद्योग वाणिज्य संघका सचिव एवं औद्योगिक कच्चा पदार्थ आयात तथा ढुवानीकर्ता माधव राजपालले बताए । “वीरगन्जलगायत देशका विभिन्न स्थानमा स्थापित सिमेन्ट उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थहरू रक्सोल भएर आउने गरेको छ । यदि आन्दोलनले अवरोध गर्यो भने नेपाली उद्योगी व्यवसायीहरूले ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । यसले अर्थतन्त्रमा नै नकरात्मक असर पार्छ,” उनी भन्छन्, “अहिले आन्दोलनको चरणमा मात्रै भएकोले यसलाई चाँडो समाधान गर्नुपर्छ, नत्र भने डष्टी कार्गो ढुवानीको अर्को विकल्प दिनुपर्छ ।” वीरगन्जको अलौमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आईसिपी)मा समेत डष्टी कार्गो ढुवानीको लागि कुनै व्यवस्था नभएकोले यो समस्या नेपाली उद्योगहरूका लागि चिन्ताको विषय बनेको छ । डष्टी कार्गो ढुवानीका लागि तत्काल अर्को विकल्प नभए सम्मका लागि दुवैतर्फका सरोकारवालाहरू बसेर समस्या समाधानका लागि पहल गर्नुपर्ने उद्योगी व्यवसायीहरूको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्