राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको टिकट ई–सेवामार्फत «

राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको टिकट ई–सेवामार्फत

काठमाडौं-नेपालको पहिलो पेमेन्ट गेट वे ‘ई–सेवा फोन पे प्रालि’ र ‘नेपाल वायुसेवा निगम’बीच अनलाइन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा ई–सेवाका तर्फबाट सीओओ रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरे । सम्झौतासँगै ई–सेवाबाट सोमबारदेखि नै वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिनेछ ।
यसअघि ई–सेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स्, यति एयरलाइन्स्, सिम्रिक एयर, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो । नेपाल एयरलाइन्स्ले हालैमात्र २ सय ७४ सिटका वाइडबडि जहाज सञ्चालनमा ल्याएको छ । निगमको बजार विस्तारलाई अनलाइन टिकटिङले पनि सहयोग पुराउने विश्वास लिइएको छ । ई–सेवामा वायु सेवा निगमको अनलाइन टिकटिङको सेवा थपिएपछि ई–सेवाका सीओओ लामिछानेले भने, “अनलाइन टिकटिङका लागि नेपाल एयरलाइन्स्सँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । अब यात्रुहरूले आन्तरिक सँगै बाह्य उडानमा पनि सहजै ई–सेवामार्फत टिकट खरिद गर्न सक्नुहुनेछ ।”
ई–सेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे हो । ई–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । ई–सेवामा हाल ४६ वटा बैंक सदस्य छन् । यी बैंकबाट ई–सेवामा रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
हालसम्म ई–सेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल ई–सेवाका देशभर करिब ३६ हजारभन्दा बढी एजेन्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् । यी जोन पोइन्टबाट यात्रुहरूले सहजै एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्