नेविसंघले क्याम्पस प्रमुखको कुर्सी–टेबुल जलायो «

नेविसंघले क्याम्पस प्रमुखको कुर्सी–टेबुल जलायो

इलाम-नेपाल विद्यार्थी संघ इलामले महेन्द्ररत्न बहुमुखी क्याम्पस प्रमुखको कुर्सी जलाएको छ । आफ्ना कार्यकर्तामाथि क्याम्पस हाताभित्रै कुटपिट हुँदा पनि प्रशासनले वास्ता नगरेको भन्दै नेविसंघले क्याम्पस प्रमुखको कुर्सी र टेबुल जलाएको हो ।
छात्रावासमा सुतरिहेको अवस्थामा नेविसंघका भोजराज जोशीमाथि सांघातिक आक्रमण भएको नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष प्रकाश भट्टराईले जानकारी दिए । विद्यार्थीलाई क्याम्पस हाताभित्रै आक्रमण गर्दा पनि क्याम्पस प्रशासन मौन रहेको र पटकपटक जानकारी गराउँदा पनि क्याम्पस प्रमुख क्याम्पसमा नआएपछि उनको कुर्सी जलाइएको अध्यक्ष भट्टराईले जानकारी दिए ।
जोशीलाई दर्शन राई र सुशिल बानियाँले क्याम्पसको होस्टलमा नै पसेर आक्रमण गरेको बताइएको छ । राई अनेरास्ववियु र बानियाँ अखिल क्रान्तिकारीमा आवद्ध रहेको बुझिएको छ । घाइते जोशीलाई इलाम अस्पतालमा उपचार सम्भव नभएकाले झापा लैजाने तयारी भइरहेको नेविसंघका बबिन बोखिमले जानकारी दिए ।
यता अनेरास्ववियुका जिल्ला अध्यक्ष ईश्वरी तामाङले भने आक्रमण नभएको भन्दै दोहोरो झडप भएको दावी गरे । यस अघिको रिसिबीका कारण घटना घटेको उनले बताए । झडपपछि आफ्ना कार्यकर्ता पनि घाइते भएको तामाङको भनाइ छ ।
यता क्याम्पस प्रमुख रामप्रसाद गुरगाइँले भने क्याम्पसको विषयमा झगडा नभएको बताए । उनले घटनाका विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए । एक साताअघि क्याम्पसमा भएको एक कार्यक्रममा उनीहरुबीच विवाद भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्