अटोबजारमा एसयूभीको दबदबा «

अटोबजारमा एसयूभीको दबदबा

यदि तपाईंको प्रश्न बजारमा यति धेरै नयाँ एसयूभी किन आए भन्ने हो भने गत वर्ष विश्व बजारमा दर्ता भएका कुल कारमध्ये ३४ प्रतिशत एसयूभी थिए भन्ने जानकारी तपार्इंले राख्नुपर्छ । सन् २०१४ मा यो २२.४ प्रतिशतमात्र थियो र त्यही वर्षबाट एसयूभीको बजारले गति लिन थालेको हो ।
गत वर्ष विश्वमा कुल दुई करोड ७८ लाख एसयूभी दर्ता भएका थिए, जसमध्ये सबैभन्दा बढी चीनमा एक करोड वटा एसयूभी बिक्री भएको थियो । यो आँकडा चीनमा बिक्री भएका कुल कारको ४१.६ प्रतिशत हो र यसले पछिल्लो समयमा सेडानले राज गरेको अटो बजार कतातिर अघि बढिरहेको छ भन्ने देखाउँछ ।

बढ्दो एसयूभी मोह
सन् २०१७ मा विश्व कार बिक्री र एसयूभीमा नयाँ रेकर्ड कायम भयो । प्रायः सबै क्षेत्रको अटो बजारमा सकारात्मक वृद्धि भयो । चीन गत वर्ष पनि सबैभन्दा ठूलो अटो बजार रह्यो तर अमेरिकामा भने कार बिक्रीमा कमी अयो । युरोपेली अटो बजारमा पनि वृद्धि देखियो भने भारत, ब्राजिल र रसिया जस्ता देशमा पनि सकारात्मक सञ्चार देखियो । सेडान र ह्याचब्याकजस्ता सेग्मेन्टले कठिन समयको सामना गर्नुप-यो । चीन, युरोप, एसिया प्रशान्त, जापान, दक्षिण कोरिया र ल्याटिन अमेरिकामा दोहोरो अंकको वृद्धि भयो ।
इतिहासमै पहिलो पटक चीनमा एक करोडभन्दा बढी एसयूभी बिक्री भए । जिएम, भक्सवागन ग्रुप, गिली, रेनल्ट–निसान, जीएसी, डोङफेङ र सायक जस्ता कम्पनी मुनाफामा गएका कारण बिक्री १३.२ प्रतिशतले बढेको हो । चिनियाँ एसयूभी बजार चिनियाँ (५२ प्रतिशत) र विदेशी ब्रान्ड (४८ प्रतिशत)मा विभाजित छ । तर एसयूभीको सम्भावना अझै पनि कायमै छ । विशेषगरी अर्जेन्टिना, मलेसिया, टर्की, ब्राजिल, मेक्सिको, भारत र दक्षिण अफ्रिकामा जहाँ एसयूभीको बजार ३० प्रतिशतभन्दा कम छ । तर ती देशमा वृद्धि भने तीव्र गतिमा भइरहेको छ । यी सात बजारमा कुल ९४ लाख ७० हजार कार बिक्री भएका थिए, जुन विश्व बजारको १० प्रतिशत मात्र हो ।
जब कुरा एसयूभीको हुन्छ, भक्सवागन ग्रुप, हुन्डाई–किया जस्ता ठूला अटो निर्माताहरू पछाडिको सिटमा बस्छन् । अन्ततः अमेरिका र चीनमा एट्लास्ट टेरोमन्ट र टिगुवानको लामो भर्सन लन्च गरेर भक्सवागन यो सेग्मेन्टमा आयो । स्कोडाले कोडियाक र कारोक ल्यायो भने सियाट्ले एटेका र एरोना सार्वजनिक गरे । भक्सवागनका अझै केही मोडेल पाइपलाइनमै छन् । जस्तो कि– भीडब्लु टि क्रस, सियाट टराको र सानो स्कोडा एसयूभी । यसबीच, हुन्डाईले कोना र कियाले स्टोनिक ल्याए ।

अछुतो छैन भारतीय बजार
सन् २०१८ को पहिलो अर्धवार्षिकमा भारतमा एसयूभीको बजार हिस्सा २१ प्रतिशत छ । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चररका अनुसार जनवरीदेखि जुनसम्मको अवधिमा भारतमा तीन लाख ७७ हजार तीन सय ५६ वटा एसयूभी बिक्री भएका थिए, जुन अघिल्लो वर्षको भन्दा ३२.८ प्रतिशतले बढी हो ।
यसबीच एफसीए अन्तर्गतको जिपले कम्पास ल्यायो । १.४ र २ लिटर अप्सनमा रहेको कम्पास एक वर्षमै २५ हजारभन्दा बढी बिक्री भयो । साथै, अरु पाँच हजार थान जापान, बेलायत र अस्ट्रेलिया जस्ता राइट ह्यान्ड ड्राइभ मुलुकमा निर्यात भयो । यति मात्र होइन, जिपले चाँडै नै सानो एसयूभी रेनेगेड र ब्रेजा भिटारा र इकोस्पोर्टलाई टक्कर दिने मिनी एसयूभी ल्याउँदैछ । त्यसो त जिपले सन् २०२२ सम्ममा करिब एक दर्जन मोडेलका एसयूभी ल्याउने महत्वकांक्षी घोषणा नै गरिसकेको छ, जसमा केही पारम्परिक इन्धनबाट चल्ने हुनेछन् भने केही इलेक्टिक र हाईब्रिड हुनेछन् ।
जिप कम्पासले अहिले भारतमा स्थापित भइसकेका ब्रान्ड महिन्द्रा, हुन्डाई, निसान र फोर्डलाई पनि चुनौती दिइरहेको छ । उसले कम्पासको हाईरेन्ज एसयूभी ट्रायल हक समेत ल्याइसकेको छ ।
। एसियाको तेस्रो ठूलो अर्थतन्त्रमा गत वर्ष एसयूभीको हिस्सा १९.७ प्रतिशत थियो । यो वर्ष यो ३० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको छ । भारतको फस्टाउँदो बजारले गर्दा कोरियाली ब्रान्डहरू पनि आकर्षित भएका छन् । हुन्डाईले सन् २०१५ मा भारतमा सीयूभी सेग्मेन्टमा क्रेटा ल्याएको थियो । छोटो समयमै क्रेटाले भारतीयको मन जित्न सफल भयो ।
दक्षिण कोरियाको दोस्रो ठूलो अटो निर्माता भए पनि किया मोटर्सको भारतमा प्रभाव कम नै छ । कियाले यसै वर्ष भारतमा पनि प्लान्ट सुरु गर्ने योजना बनाएको छ । भारतमा गत वर्ष ४० लाख कार बिक्री भएको थियो, जुन जर्मनीमा भन्दा पनि बढी थियो । अटो विज्ञहरूका अनुसार भारत सन् २०२०सम्ममा जापानलाई पछि पारेर संसारकै तेस्रा ठूलो अटो बजार बन्नेछ ।

वातावरणमैत्री छैन यो मोह
संसारभरि यसलाई रुचाइएको छ तर वातावरणविद्हरू भने यसप्रति चिन्तित छन् । विद्युतीय कारले अझै पनि मानिसहरूलाई पूर्ण रुपमा आकर्षित गर्न सकेको छैन । एक अध्ययनका अनुसार संसारमा हुने करिब १४ प्रतिशत उत्सर्जन यातायातबाट हुने गर्छ जसमा कार र ट्रकको योगदान अझ बढी छ ।
संयुक्त राष्ट्रसंघका अनुसार सन् २००५ देखि २००८ सम्ममा नयाँ कारको फ्युल इकोनोमी वार्षिक १.८ प्रतिशतले बढेको छ । तर सन् २०१५ मा यो घटेर १.१ प्रतिशत पुग्यो र यो सुधार हुने अवस्थामा छैन । अझ एसयूभीको विस्तारले सफा कार निर्माण गर्ने अभियानमा अवरोध पु¥याएको छ । कारप्रेमीहरू हाइब्रिड वा इलेक्ट्रिक कारभन्दा पनि इन्धनबाट चल्ने एसयूभी रुचाउँछन् । साना कारको तुलनामा एसयूभीले ३० प्रतिशतसम्म बढी इन्धन खपत गर्ने गर्छ ।
एसयूभीहरू पनि विद्युतीय प्ल्याटफर्ममा आउँदैछन् । तर ब्याट्रिबाट चल्ने ठूला कार निर्माण गर्नु कठिन छ । एसयूभी भनेकै पावर र पर्फर्मेन्सको सूचक हो, जुन ब्याट्रीबाट सम्भव नहुने अटो निर्माताहरूको विश्वास छ ।

सार्वजनिक हुँदै गरेका ६ नयाँ एसयूभी
हिजोआज विश्वभर नै स्पोर्टस् युटिलिटी भेइकल (एसयूभी)को माग बढ्दै गइरहेको छ ।
त्यही अनुरुप कम्पनीहरूले पनि उपभोक्ताको चाहनाअनुरुप एसयूभी मोडलहरू सार्वजनिक गर्ने गरेका
छन् । भारतीय बजारमा पनि एसयूभी सेगमेन्टका सवारीको माग बढ्दै गइरहेको तथ्यांक छ ।
भारतमा हुन्डाई, महिन्द्रा, टाटालगायत कम्पनीहरूले एसयूभी सेगमेन्टका सवारी सार्वजनिकको
तयारी गरिरहेका छन् । केही मोडल फेसलिफ्ट हुने छन् भने केही नयाँ मोडल हुनेछन् ।
यस्तैमा २०१८ मै भारतीय बजारमा सार्वजनिक हुनसक्ने एसयूभी कारबारे यहाँ चर्चा गरिएको छ ।

ड्याटसन एसयूभी
यो वर्ष ड्याटसनले भारतीय बजारमा एसयूभी गाडी सार्वजनिक गर्नेछ । ड्याटसनले सार्वजनिक गर्न लागेको क्रस एसयूभी २०१६ को अटो एक्सपोमा सार्वजनिक गरेको थियो । यो गाडी इन्डोनेसियामा यही वर्ष समेत प्रदर्शन भएको थियो । सार्वजनिक गर्ने मिति नबताइएको भएपनि ड्याटसन क्रस एसयूभी यही वर्षको फेस्टिभ सिजनमा भारतीय बजारमा आउने छ ।
ड्याटसन क्रसमा १.२ लिटर थ्री सिलिन्डर इन्जिन हुनेछ । यो क्रस रेनो सीएमएफ–ए प्लृटफर्ममा बनाइएको छ र गो र गो प्लसभन्दा आकारमा ठूलो हुने छ । यो कारको मूल्य ६ लाखदेखि ८ लाख भारुको बीचमा हुने अनुमान गरिएको छ ।

हुन्डाई कारलिनो
हुन्डाईले पनि कम्प्याक्ट एसयूभी कारलिनोको कन्सेप्ट २०१६ को अटो एक्सपोमा सार्वजनिक गरेको थियो । यसलाई २०१८ को अटो एक्सपोमा समेत राखिएको थियो । यो कार क्रेटा र सान्टाफेको बसमा बनाइएको कम्पनीले जनाएको छ ।
हुन्डाई कारलिनो नयाँ सव–कम्प्याक्ट एसयूभी हो । भारतीय बजारमा कारलिनोले मारुती सुजुकी भिटारा ब्रेजा, टाटा नेक्सन र फोर्ड इकोस्पोर्टसँग प्रतिस्पर्धा गर्नुपर्ने अनुमान गरिएको छ । कारलिनो सार्वजनिक भएसँगै हुन्डाईले आफ्नो समग्र एसयूभीको बजारमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ । २०१८ को अन्त्यमा सार्वजनिक हुने अनुमान गरिएको यो कारको मूल्य ८ लाख भारु हुनेछ ।

महिन्द्रा नयाँ सव–कम्प्याक्ट एसयूभी
भारतीय बवारी उत्पादक कम्पनी महिन्द्राले आफ्नो कोरियन सब्सिडारी स्याङयोङसँगको सहकार्यमा दुई वटा कम्प्याक्ट एसयूभीको विकास गरिरहेको छ । नयाँ कम्प्याक्ट एसयूभी स्याङयोङको टिभोलीमा आधारित हुनेछ । यो कार २०१८ मै भारतीय बजारमा सार्वजनिक हुनेछ । महिन्द्राको नयाँ कम्प्याक्ट एसयूभीको मूल्य ७ लाखदेखि १२ लाख भारुबीच हुने अनुमान छ ।

होन्डा सीआर–भी
होन्डाले २०१८ को अटो एक्सपोमा न्यू जेनेरेसन सीआर–भी सार्वजनिक गरेको थियो र यही वर्ष भारतीय बजारमा ल्याउने घोषणा समेत गरेको छ । होन्डाका अनुसार नयाँ सीआर–भी डिजेल इन्जिनमा समेत आउनेछ । जसले १२० बीएचपी पावर र ३ सय एनएम टर्क दिन्छ । होन्डा सीआर–भी नोभेम्बरमा सार्वजनिक हुनेछ ।

फोर्ड इन्डेभर फेसलिफ्ट
फोर्डको इन्डेभर फेसलिफ्ट भर्सन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा भारतीय बजारमा आउने छ । २०१६ मा इन्डेभरको अपडेटेड भर्सन आएको थियो । फेसलिफ्ट भर्सनमा नयाँ बम्पर, नयाँ हेडल्याम्प, २० इन्च एलोय ह्वील लगायत विशेषता हुनेछन् । इन्डेभर फेसलिफ्ट २.० लिटर डिजेल इन्जिनमा समेत आउने अनुमान छ ।

टाटा हारियर
टाटाले निक्कै चर्चा गरेको नयाँ एसयूभीको नाम हारियर राखेको छ । यो कार जगुअर ल्यान्डरोभरको वेसमा बन्ने छ । ५ सिटर एसयूभी नयाँ जेनेरेसन प्लेटफर्ममा निर्माण गरिएको छ, जुन २०१८ को अटो एक्सपोमा एचफाइभएक्स कम्सेप्टमा सार्वजनिक भएको छ । टाटाले यो कारको व्यावसायीक सार्वजनिकीकरण २०१९ को सुरुवातमा हुने जनाएको छ । हारियर स्पोर्टस् र डाइनामिक लिक्समा आउने छ ।

प्रतिक्रिया दिनुहोस्