प्रविधिजन्य चुनौतीमा वित्तीय प्रणाली «

प्रविधिजन्य चुनौतीमा वित्तीय प्रणाली

नवीनतम प्रविधिले जसरी कार्य सञ्चालनमा सहजता ल्याउँछ, त्यसरी नै यसको व्यवस्थापन गर्न नसक्दा चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।

सूचना प्रविधिको तेजिलो युगमा अहिले कोही पनि यसको विकाससँग अछुतो छैन । व्यवसाय स्थापना, सञ्चालन र विस्तारका सिलसिलामा प्रविधिबिना कामै नहुने भएको छ । अझ वित्तीय कारोबार हुने बैंक तथा वित्तीय संस्थाहरूमा प्रविधिजन्य प्रयोगले सञ्चालनमा ठूलो सघाउ पुराएको छ । सुविधाका साथै प्रविधिले चुनौती र जोखिम पनि नल्याएको भने होइन । बैंकिङ प्रणालीमा स्विफ्ट कोडको प्रयोग सन् १९७० मा प्रयोग गरिएको थियो । अहिले यसका ११ हजारभन्दा बढी प्रयोगकर्ता रहेका छन् । अहिले वित्तीय कारोबारमा खासगरी भुक्तानीजन्य कारोबारमा प्रविधिको बढी प्रयोग भएको छ । रकम स्थानान्तरण र भुक्तानीमा प्रविधिका नवीनतम उपायहरू अवलम्बन गरिएकाले यसमा चुनौतीहरू पनि बग्रेल्ती देखिएको छ । बैंकिङ च्यानलको प्रयोग गरेर रकम पठाउनका लागि स्विफ्टको प्रयोग गरिन्छ । स्विफ्टको माध्यमबाट पैसा पठाउँदा यसको सदस्य बन्नुपर्छ । सदस्यले सदस्यका बीच पठाउने रकम सुरक्षित हुन्छ भने रकम पठाउने र पाउने देशको भुक्तानी, विप्रेषणसँग सम्बन्धित नीतिनियम तथा कानुनहरू छुट्टै हुने भएकाले यसमा समस्या आइहाले तुरुन्त निराकरण गर्न भने कठिन देखिएको छ, तसर्थ प्रविधिमा आधारित भित्रिने कुनै पनि नयाँ वस्तु वा सेवा सञ्चालनमा पर्याप्त कानुन, नीति तथा नियम छ/छैन भन्ने कुरा महŒवपूर्ण रहेको छ ।
नवीनतम प्रविधिले जसरी कार्य सञ्चालनमा सहजता ल्याउँछ, त्यसरी नै यसको व्यवस्थापन गर्न नसक्दा चुनौतीको सामना गर्नुपर्ने हुन्छ । पुरानै प्रविधि स्विफ्टकै कुरा गर्दा बेल्जियमको कर्पोरेट बैंकिङको सूचनाअनुसार हालसम्म विश्वभरि ३० वटाभन्दा बढी बैंकिङ प्रणालीमा ह्याकिङ भएका घटनाहरू सार्वजनिक भएका छन् । केन्द्रीय बैंकको हकमा बंगलादेश बैंकबाट सन् २०१६ मा १० करोड अमेरिकन डलर सिस्टम ह्याक गरी चोरी गरिएको थियो, जसमा अहिले पनि ६० प्रतिशत रकम सो बैंकले फिर्ता लिन सकेको छैन । त्यस्तै, राइजल कमर्सियल बैंकबाट ९ सय ५१ मिलियन र ताइवानको फार वेस्टर्न इन्टरनेसनल बैंकबाट ६० मिलियन अमेरिकी डलर ह्याक भएको थियो ।
विकसित घटनाक्रमहरूलाई मध्यनजर गर्दा कमजोर पूर्वाधार तथा फितलो नीति कार्यान्वयनका कारणले अतिकम विकसित देशहरूमा प्रविधिबाट बढी खतरा देखिन्छ । विकसित देशबाट हुने नयाँ प्रविधिको प्रयोगमा समायोजन र स्तरोन्नति गर्न नसक्दा प्रणालीमा समस्या आउन थाल्छ । सुरक्षाका दृष्टिकोणले पनि नेपालको बैंकिङ क्षेत्रमा प्रणालीगत समस्याहरू धेरै रहेका छन् । बैंकहरूले चलाउने कोर बैंकिङ सिस्टम (सीबीएस) मा पहिलो कुरा त एकरूपता छैन । सीबीएस धेरै बैंकहरूको फरक–फरक छ । फरक–फरक कम्पनीका सीबीएसले नयाँ प्रविधिजन्य अन्य सफ्टवेयरलाई अँगाल्न खोज्दा कहिलेकाहीं इन्ट्रिगेसन तथा इन्टरफेसमा समस्या आउँछ । जस्तो कि, अन्तरबैंक भुक्तानीको आईपीएस, आरटीजीएस र वालेट पेमेन्ट सिस्टममा पनि सहकार्यमा समस्या आउन सक्छ ।
कम्प्युटर तथा साइबर सुरक्षासम्बन्धी जनचेतना केवल आईटी क्षेत्रमा लागेका व्यक्तिहरूलाई मात्र दिइने परम्परागत सोचले यसतर्फ उल्लेख्य प्रगति गर्न सकिएको छैन । साइबर सेक्युरिटी केवल आइटी समस्या हो भन्ने सोच अझै पनि नीति निर्माता तथा नियामक निकायबीच द¥हो तबरले व्याप्त छ । अहिले संसारभरि नै इन्टरनेटको सञ्जालको व्यापक प्रयोगले विश्व नै ग्लोबल भिलेज भइरहेको सन्दर्भमा यो कसरी आईटीसँग मात्र सम्बन्धित हुन सक्छ ? यो मूलत: व्यावसायिक समस्या हो । साइबरको प्रयोग व्यवसायको श्रीवृद्धिमा हुने भएकाले यो सरोकारवालाहरूको साझा मुद्दा हो भन्ने बुझ्नुपर्छ । अमेरिका, बेलायत, जर्मनीलगायतका मुलुकहरूले पनि ‘साइबर सेक्युरिटी इज एभ्रिथिङ इस्युज’ भनेर उद्घोष गरिसकेका छन् ।
प्रणालीगत समस्या आउन नदिई इन्टरनेटका माध्यमबाट नवीनतम उपयोगहरू गरी बैंकिङ सेवालाई सरलीकृत गराउन प्रविधिको ठूलो हात छ । यसमा अहिले सबैतिर इन्टरनेट भन्ने सोचका साथ संसार एकातिर हिँडिरहेको छ भने परम्परागत ढर्रामै चल्ने अर्काथरी सोच पनि समाज र देशमा त्यत्तिकै व्याप्त छ । काम र सोचलाई सहज बनाउन इन्टरनेट अफ थिङ्स (आईओटी) को अवधारणा आएर त्यसतर्फ निकै प्रगति भइरहेको भए पनि अब इन्टरनेट अफ एभ्रिथिङ (आईओई) को नयाँ अवधारणा आइसकेको छ । यसले नेटवर्क कनेक्सनका माध्यमबाट नयाँ क्षमताको खोज, उपयोग, अनुभव, नयाँ व्यावसायिक अवसरको खोजलाई बढी यथार्थपरक र सहज ढङ्गबाट सम्पन्न गर्न सक्छ । सुरक्षासम्बन्धी जोखिमलाई समायोजन गर्न नसकिने भएकाले यसतर्फ बैंक तथा वित्तीय संस्था तथा राज्यले लगानी पर्याप्त गर्नुपर्ने आवश्यकता देखिन्छ । यसका लागि प्रविधिमा हुन सक्ने नयाँ खोजलाई आत्मसात् गर्ने बजेटको व्यवस्था र साथै नीति तथा नियमको परिमार्जन गर्ने तदारूकता पनि जरुरी हुन्छ । साइबर सुरक्षा र प्रविधिजन्य जोखिमबाट बच्ने अर्को उपाय भनेको भने सूचना प्रविधिको लेखापरीक्षण गर्नु हो । अहिले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अनिवार्य रूपमा ‘आईटी सेक्युरिटी अडिट’ गर्नुपर्ने निर्देशन दिइसकेको छ । यस्तो हुने नियमित अडिटले प्रविधिजन्य उपकरण तथा एप्लिकेसनहरूको सुरक्षा, उचित रेखदेख र प्रभावकारी सञ्चालनलाई सुनिश्चितता प्रदान गर्छ । यसका साथै, साइबर सुरक्षासम्बन्धी तालिम तथा जागरणका कार्यक्रमहरू पनि अनिवार्य गरिएमा सूचना र प्रविधिको प्रयोगलाई सशक्त बनाउन सकिन्छ ।
बैंकिङ प्रणालीमा नवीनतम प्रविधिहरू भित्रिरहेका हुन्छन् । खासगरी प्रविधिहरू बैंकिङ क्षेत्रका लागि मात्रै भनेर आउने होइनन्, तर बैंकिङमैत्री बनाएर यसको उच्चतम सदुपयोग गर्ने गरिन्छ । अहिले संसारभरि बिग डाटा एनालिटिक्स, आर्टिफिसियल इन्टिलिजेन्स, मेसिन लर्निङ र ब्लकचेनको कन्सेप्ट आएको छ । यसले वित्तीय कारोबारलाई सहजीकरण गर्न टेक कम्पनीहरू ३ सय ६० डिग्री बजारीकरणको अवधारणा लिएर अगाडि बढिरहेका छन् । सुन्दा अचम्म लाग्छ, तर अब आउने दिनमा यसैलाई आत्मसात् नगरी धरै हुँदैन ।
(क) बिग डाटा एनालिटिक्स : ठूलो र छरिएर रहेका तथ्याङ्क तथा सूचना (डाटा) हरूलाई निरुपण गरी त्यस्ता डाटाहरूमा लुकेका रहेका तथ्यहरूको उच्चतम उपयोग गरेर बजारको अवस्था, ग्राहकको रुचि, नियामक र सरकारी आदि उपयोगी जानकारी पत्ता लगाई सो डाटालाई उपयोगी ढङ्गले प्रयोग गरिने प्रक्रियालाई बिग डाटा एनालिटिक्स भनिन्छ । बैंक तथा वित्तीय संस्थामा हरेक दिन ठूलो संख्यामा डाटाको सिर्जना हुन्छ । तीव्र प्रतिस्पर्धाबाट आफूलाई अद्वितीय भएर चिनाउन र व्यावसायिक सफलता हासिल गर्नका लागि अहिले विकसित देशका बैंकहरूले बिग डाटाको अत्यधिक उपयोग गरिरहेका छन् । बिग डाटा बैंक मात्र होइन, ठूलो संख्यामा ग्राहक रहेका सबै व्यावसायिक प्रतिष्ठानहरूले उपयोगमा ल्याइरहेका छन् । यसले ग्राहकमुखी हुन्, जोखिमको सूक्ष्म पहिचान गर्न र सुशासनलाई बलियो बनाउन मद्दत पुराउँछ ।
(ख) आर्टिफिसियल इन्टिलिजेन्स (एआई) : यो प्रविधिले मानिसले जस्तै बुद्धि प्रयोग गरेर कम्प्युटर सिस्टमको नियन्त्रणका माध्यमबाट विभिन्न कार्य सहजताका साथ गर्न सक्छ । एआई एउटा कम्प्युटर प्रोग्रामिङ हो, जसले मानिसको जस्तै बुद्धिमता र चरित्रको प्रयोगका माध्यमबाट नयाँ खोज पत्ता लगाउने, विश्लेषण गर्ने र पछिल्लो अनुभवका आधारमा कार्य गर्ने लगायतका कार्यहरू गर्न सक्छ । आर्टिफिसियल इन्टिलिजेन्सको माध्यमबाट रियल टाइममा वित्तीय चोरी र धोका पत्ता लगाउने, ग्राहक सेवाका लागि अटोमेटेड च्याटबोट सञ्चालन गर्न सक्ने, उन्नत तरिकाको सूचना र तथ्याङ्क व्यवस्थापनमा सहयोग, ग्राहकमुखी वैयक्तिकीकरण गरेर कारोबारमा नवीनता ल्याई स्तरीय बैंकिङ सेवा दिइने जस्ता फाइदाहरू रहेका छन् ।
(ग) मेसिन लर्निङ : यो आर्टिफिसियल इन्टिलिजेन्सकै एउटा अनुप्रयोग हो । यसले प्रोग्रामिङ नगरीकन पनि तथ्याङ्क तथा सूचनाहरू (डाटा) संकलन गर्न, पढ्न, सुझाव दिन, लक्ष्य अनुकूल डाटाको प्रयोग गर्न सक्छ । यसले परिणामहरूको मापन र अनुमानमा बढी सत्य र शुद्ध जानकारी दिन सक्छ । योे एल्गोरिदम नामक फर्मुलाको माध्यमबाट डाटा लिने र तथ्यांकीय माध्यमबाट परिणामलाई सही अनुमान दिने पद्धति हो । अमेरिकाको जेपी मोर्गन चेज, वेल्स फार्गो, बैंक अफ अमेरिका, सिटी बैंक र यूएस बैंकले यसको व्यापक प्रयोग गरेर प्रगति गरेका छन् । यसको प्रयोगबाट ग्राहकमुखी सेवा दिन, व्यवसाय विस्तार गर्नका लागि विभिन्न रणनीति तय गर्न र बजारीकरण गर्न प्रयोग गरिएको देखिएको छ ।
(घ) ब्लकचेन : ब्लकचेन प्रविधि एउटा विस्तारित, वितरित र विकेन्द्रीकृत सावर्जनिक खाता प्रणाली हो, जसले विभिन्न कम्प्युटरमा रहेका हिसाबहरूलाई विभिन्न नेटवर्कका माध्यमबाट कारोबारको रेकर्ड गर्छ । ब्लकचेनले डिजिटिल कारोबारको हिसाब किताब राख्ने हुनाले यसले डाटाको वितरित स्वरूपलाई प्रयोगमा ल्याउँछ । ब्लकचेनका माध्यमबाट वित्तीय प्रणालीमा विद्युतीय चोरी रोकथाम गर्न सकिने र ग्राहक पहिचानसम्बन्धी व्यवस्थालाई सरलीकरण गर्न सकिन्छ । बैंकिङ क्षेत्रमा विकेन्द्रीकरणको वकालत गर्ने ब्लक चेनले यसको उपयोगबाट वित्तीय प्रणालीमा स्थायित्व र विश्वसनीयता ल्याउने अनुमान यसको प्रयोगकर्ताहरूको छ ।
सूचना प्रविधिको नयाँ–नयाँ प्रयोग वास्तवमै सर्वत्र विकासको सहायक सिद्ध हुन्छ । प्रविधिको क्षेत्रमा विश्वमा अरू अगाडि हिँडे हामी पछि रहन सक्दैनौं । यसका लागि हमेसा प्रविधिको समयसँगै स्तरोन्नति हुनु जरुरी छ । तर, चुनौती र जोखिमलाई न्यूनीकरण गर्दै प्रविधिजन्य नयाँ प्रयोगमा लगानी र शिक्षा र जनचेतना दिइयो भने वित्तीय प्रणालीलगायत सबै क्षेत्र प्रविधिमैत्री र उन्मुख हुन्छन्, जसले देशलाई समृद्धिको बाटोतिर लैजान्छ ।

प्रतिक्रिया दिनुहोस्