उत्तर कोरियालीमाथि निगरानी गर्न सादा पोशाकका प्रहरी «

उत्तर कोरियालीमाथि निगरानी गर्न सादा पोशाकका प्रहरी

नेपालमा सञ्चालित उत्तर कोरियाली नागरिकका व्यापार-व्यवसाय बन्द गर्न संयुक्त राष्ट्रसंघले पत्राचार गरेपछि गृह मन्त्रालयले त्यसको यकिन विवरण उपलव्ध गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
न्युयोर्कस्थित राष्ट्रसंघको स्थायी नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै आएको पत्रबमोजिम गृह मन्त्रालयले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका होटल-रेस्टुरेन्ट लगायतका व्यापार–व्यवसाय तथा संलग्न कर्मचारीको विवरण पेश गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
“उत्तर कोरियाली नागरिकले नेपालमा व्यापार–व्यवसाय सञ्चालन गर्दै आएको र राष्ट्रसंघमा नेपाल आफैले हस्ताक्षर गरेको प्रावधान विपरित भन्दै राष्ट्रसंघ मुख्यालयबाट परराष्ट्र मनत्रलय हुँदै गृहमा पत्र आएको छ,” स्रोतले भन्यो, “राष्ट्रसंघको निर्देशन पालना गर्न बाध्यकारी भएकोले उत्तर कोरियाबाट नेपाल आएर व्यापार-व्यवसाय गर्नेको विवरण उपलव्ध गराउन प्रहरीलाई भनिसकेका छौं ।”
राष्ट्रसंघ मातहत गठित निकाय ‘कोअर्डिनेटर अफ युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक्स्पर्ट’ले साउन पहिलो साता नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र लेखी साउन २७ गतेभित्र त्यस्तो व्यापार–व्यवसाय बन्द गरी संलग्न व्यक्तिलाई देश निकाला गर्न निर्देशन दिएको छ । राष्ट्रसंघको निर्देशन गृह मन्त्रालयबाट प्राप्त भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । राष्ट्रसंघको पत्रअनुसार प्रहरीले सादा पोशाकका सुरक्षाकर्मीलाई विवरण संकलनमा खटाइसकेको छ । काठमाडौंमा वर्क परमिट लिएर उत्तरकोरियाली नागरिकले होटल-रेस्टुरेन्ट लगायत व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
उत्तर कोरिया विरुद्ध राष्ट्रसंघ सुरक्षा परिषद्का विभिन्न रिजोलुसनहरुबाट लगाइएका प्रतिवन्धहरु कार्यान्वयन भए-नभएको विषयमा सुरक्षा परिषदको रिजोलुसन १८७४ (२००९) अन्तर्गत स्थापित प्यानल अफ एक्स्पर्टले नेपालका सुराकी पठाएर अनुसन्धान गर्दै आएको छ । प्रतिवन्धमा परेको उत्तर कोरियामाथि निगरानी राख्नकै लागि सुरक्षा परिषद्ले सन् २०१६ देखि २०१८ सम्म रहने गरी प्यानल एक्स्पर्ट गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्