सत्तापक्षका सांसदले नै गरे सरकारको आलोचना «

सत्तापक्षका सांसदले नै गरे सरकारको आलोचना

जनकपुर-प्रदेश नम्बर २ को प्रदेशसभामा सत्ता पक्षकै सत्ताधारी सांसदले सरकारको कामलाई लिएर कडा आलोचना गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कडा आलोचना गरेका हुन् ।
सरकारमा सहभागी घटक दल राष्ट्रिय जनता पार्टी नेपालका सांसद मनिषकुमार सुमनले प्रदेश सरकारले भ्रष्टाचारको गरेको आरोप लगाए । उनले प्रदेश सरकार होस वा संघीय सरकार दुवै सरकारको कामबाट भ्रष्टाचारको गन्ध आइरहेको बताए । मधेशी जनताले यो दिनको लागि संघर्ष नगरेको भन्दै भ्रष्टाचारबाट सरकारलाई उन्मुक्ति दिलाउनु पर्नेमा जोड दिए ।
सुमनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको समयमा सरकारले गरेको खर्चको विवरण अहिलेसम्म सार्वजनिक गर्न नसकेकाले संसदबाटै यसको छानबिन गर्न माग गरे । प्रदेश २ को प्रतिपक्षी दल पनि यस विषयमा चुप रहेकोप्रति उनले आश्चर्य व्यक्त गरे ।
प्रदेश सांसद सुन्दर बहादुर विश्वकर्माले प्रदेश सरकारले पछिल्लो आर्थिक वर्षमा कुन कुन योजना कति खर्च भयो भन्ने विषयमा सदनलाई जानकारी गराउन सरकारसँग माग गरे । उनले प्रदेश सरकारलाई आफू राम्रो रहेको साबित गर्न काममा पारदर्शिता अपनाउनु पर्ने बताए ।
सांसद पारस प्रसाद साहले प्रदेश सरकारसँग रहेको अधिकार माथि पनि संघीय सरकारले हस्तक्षेप गरीरहे भने प्रदेश सरकारको औचित्य नै नरह्ने भन्दै चिन्ता व्यक्त गरे । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका कार्यालय संघीय सरकार मातहत नै रहनुले प्रदेश सरकारलाई कार्य सम्पादन गर्न कठिनाई हुने बताउँदै यस बिरुद्ध आवाज उठाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्